दशकौँदेखि असमान गण्डक सम्झौताको चपेटामा नेपाल, आफ्नै नदीको पानी छुनसमेत पाउँदैनन् कृषक

  सन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो यथार्थ छ । भौगोलिक, अर्थराजनीतिक र साँस्कृतिक दृष्टिले जसरी पनि नेपाल घेर्ने र नेपाललाई हरेक ढंगले पराधीन बनाउने उसको रणनीतिले हाम्रो मुलुकको नदी, प्राकृतिक सम्पदा, खनिज लगायत सबै स्रोतसाधनमा एकतर्फि कब्जा जमाएको छ । नेपालबाट बग्ने सबैखाले ठुला नदीहरु नेपाली शासकहरुले किस्ता–किस्तामा भारतीय सरकार तथा उसका बदनामित ठेकेदारहरुको झोलामा सुम्पेका छन् र उसले आफ्नो हित अनुकुल नेपालका नदीनालाको प्रयोग गर्न पाउने अख्तियारी छ । यसैको एउटा ज्वलन्त उदाहरण हो नारायणी नदी अर्थात “गण्डक ब्यारेज ।”
२०१६ जेठ १३ गते बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । लगत्तै तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाल भ्रमण गरे । भारतको प्राथमिकता गण्डकमा बाँध बाँध्न नेपाललाई जसरी पनि मनाउनु थियो । नेहरूले नेपाल भ्रमण गरेको करिब छ महिनापछि २०१६ मंसिर १९ गते नेपाल–भारतबीच असमान र अन्यायपूर्ण गण्डक सम्झौतामा काठमाडौंमा हस्ताक्षर भयो । त्यसको पाँच वर्षअघि २०११ सालमा भएको असमान कोसी सम्झौताको नेपालभित्र व्यापक विरोध भएपछि गण्डक सम्झौता गर्न नेपाल हच्किएको थियो ।
त्यतिबेला भारतले गण्डक परियोजनालाई आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा राखिसकेको थियो । गण्डक बाँध जसरी पनि बनाउने उसको धेय थियो । सम्झौताको पाँच वर्षमै २०२१ सालमा गण्डक बाँधको निर्माण सम्पन्न भयो । सम्झौतामा हस्ताक्षर गर्ने दुवै देशका प्रतिनिधिको वरीयतासमेत असमान छ । सम्झौतामा नेपालका तर्फबाट तत्कालीन उपप्रधानमन्त्री सुवर्णशमशेरले हस्ताक्षर गरेका छन् । तर, भारतका तर्फबाट नेपालका लागि तत्कालीन राजदूत भगवान सहायको हस्ताक्षर छ ।
गण्डक सम्झौताः नेपालमाथिको घोर अन्याय
गण्डक सम्झौताका प्रावधान असमान र अन्यायपूर्ण छन् । त्यसको कार्यान्वयन पनि त्रुटिपूर्ण छ, जुन अहिलेसम्म सुधारिएको छैन वा सुधार्नुपर्ने आशय कुनैपनि शासकहरुले राख्न सक्दैनन् । नेपाल–भारत सीमामा उक्त बाँध बाँधेर भारतको बिहार र उत्तर प्रदेशमा १८ लाख ५० हजार हेक्टर जमिन सिँचाइ गर्न दुईवटा ठूला नहर लगिएको छ । उत्तर प्रदेशमा पानी लैजाने नहर त १९ किलोमिटरसम्म नेपालको भू–भाग हुँदै जान्छ । यसको सट्टा नेपालमा जम्मा ४० हजार हेक्टर जमिन मात्र सिँचाइ हुने गरी दुइटा साना नहर निर्माण गरिएको छ । यो आँकडा हेर्दा पनि नेपाललाई आफ्नै पानी र नदीको सप्रभुतामा भारतीय दादागिरीले कति अपमान गरेको छ भन्ने प्रष्ट हुन्छ ।
 नेपालको सिंचाई क्षेत्र २५ हजार हेक्टरमात्र !
गण्डक बाँधमा नहर बनाउँदा झनै ठूलो बदमासी गरिएको छ । नेपालतर्फ जाने नहरको मुख नारायणी नदीको सतहभन्दा केही माथि राखिएको कारण नेपालतर्फ जाने नहरमा सुख्खा याममा पानी नै चढ्दैन । गण्डक सम्झौता भएको झन्डै ६४ वर्षसम्म थप १५ हजार हेक्टरमा पुग्नेगरी नहर निर्माण भएको छैन ।
गण्डक बाँध भएको भूमि नेपालको भू–भागमा पर्छ । त्यो जमिन दुई सय वर्षसम्म भारतले भोगचलन गर्ने उल्लेख छ ।
गण्डक सम्झौतामा नारायणी र यसका सहायक नदीमा बग्ने पानीमा नेपालको हक कुन्ठित हुने गरी अन्यायपूर्ण प्रावधान राखिएको छ । यो सम्झौतामा गण्डक आयोजनालाई चाहिने पानीको मात्रामा कमी आउने गरी नारायणीका सातै सहायक नदी बूढीगण्डकी, कालीगण्डकी, सेती, त्रिशूली, मर्स्याङ्दी, दरौंदी, मादीका मुहानसम्मै भविष्यमा कुनै पनि आयोजना निर्माण गर्न नपाइने उल्लेख छ । त्यसैले गण्डक सम्झौता दुई सार्वभौम राष्ट्रबीचको अपमान एवं असमान सम्झौताको पराकाष्ठा नै हो । 
द्विदेशीय सम्झौताअनुसार पाउनुपर्ने पानी नपाउँदा नेपाली भूमि हिउँदमा सधैंजसो आकाशे पानीमा निर्भर हुने गरेको छ भने वर्षामा बाढीको चपेटामा पर्ने गरेको छ ।
‘हाम्रो वर्षे बालीका बेलामा पानीको निकासमा तह निर्धारण गर्न नसक्दा सिँचाइभन्दा बढी बाढी खनिएको छ भने हिउँदमा हामीलाई चाहिएका बेला पानी नै दिइँदैन,’ स्थानीय पीडित वीनय चौधरी भन्छन्, ‘सम्झौतामा हामीले हाम्रो ८ हजार ७ सय हेक्टर जमिन सिँचाइ गर्न ३ सय क्युसेक पानी पाउनुपर्नेमा यो सर्त र अनुपात कहिल्यै मिल्न सकेको छैन ।’ चौधरीका अनुसार यो नहरबाट नवलपरासी पश्चिमका ४ सय हेक्टर भूभागमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
सम्झौता भित्रकै पिपरपाटी पर्सौनी जल उपभोक्ता समितिमार्फत पानी सुस्ता र प्रतापपुर गाउँपालिकाभित्र नहरमा बग्ने गर्छ । यो नहरबाट १ हजार ६ सय ५० हेक्टर जमिनलाई पुग्ने ६६ क्युसेक पानी दिनुपर्नेमा झण्डै ५ वर्षयता नेपाली भूभागमा पानी दिनै छाडिएको छ । गण्डक सम्झौता अनुसार नहरअन्तर्गत महलबारी मुहानबाट ४४ क्युसेक र सुरजपुरा मुहानबाट २२ क्युसेक पानी नेपालतर्फ छाडिनुपर्ने हो ।
तोकिएका यी मुहानबाट पानी नछाडिएकाले सुस्ता गाउँपालिकाका गुडरिया, कुडिया, हरकपुरा, महलबारी, सखुवाना, श्रीनगर मर्चावा गाउँ सुक्खा रहने स्थिति छ । आफ्नै नदीको पानी भारतले २५ किमि नेपाली भूमि हँुदै भारत लगेर मनग्य सिंचाई गर्दा यहाँका कृषकले आकाशे खेती गर्नुपरेको छ । यो असमान प्रबन्ध र भारतको हेपाहा प्रवृत्तिविरुद्ध पीडित कृषकले ३६ दिनसम्म गण्डकमा आन्दोलन गरेका थिए तर पनि कहींकतैबाट सुनुवाइ भएन ।
नेपालतर्फको बाँध
गण्डक योजनाका लागि नेपाल सरकारका तर्फबाट तोकिएका भू–आर्जन तथा सम्पर्क अधिकृत अमित खड्काका अनुसार गण्डक सम्झौताअन्तर्गत साविकको १३ वटा गाविसमा सिँचाइ, बाढी, कटान, डुबान आदिको सबै प्रबन्ध भारत सरकारले गर्नुपर्ने हुन्छ तर साविकका त्रिवेणी, रूपौलिया, प्रतापपुर, गोठीपर्सौनी, गुठीसूर्यपुरा, ब्यागौली, भुजाहा, ठूलो खैराकवा, रामपुर खडौना, सोमनी, जमुनिया, कुडिया, पकलिहवा, नरसैं गाउँहरूमा बर्खे डुबान र हिउँदे सुक्खा (सिंचाइ अभाव) को स्थिति छ । नहरको नियमित सफाइ नहुँदा र पानीको ‘तह मिलान’ नगर्दा रामपुर खडौना गाविसको ६० प्रतिशत भूभाग वर्षातमा सधै डुबानमा पर्छन् ।
असमान सन्धिले निम्त्याएको क्षेति विवरण 
क्षतिपूर्ति अध्ययन समितिका अनुसार २०५० देखि २०६० सालभित्रको नारायणी नदीको बाढीको कटान र डुबानका कारण पनि झन्डै ३ अर्ब रुपैयाँको क्षतिपूर्ति रकम निर्धारण भएको छ । गण्डक नहरको डुबानबाट पीडित भएका पीडित कृषक ललिता साहनीे आफ्नोे घर–जमिन बगरमा परिणत भएको देखाउँदै बिलौना गर्छिन् । ‘आफ्नो जमिन बगरमा परिणत भएपछि ६ छोरीसहितको घरपरिवार धान्न उनलाई निकै मुस्किल परिरहेको छ । सिँचाइ विभागका अनुसार गण्डक योजनाका कारण अहिलेसम्म ३ हजार ९ सय ६३ बिघा जमिन डुबान र ५ सय ६३ बिघा जमिन कटानमा परेको पछिल्लो तथ्यांक छ ।
यसका लागि २ अर्ब ९३ करोड रुपैयाँको क्षतिपूर्ति भारतसँग माग गरिएको छ । नेपाल गण्डक पश्चिम नहर रेखदेख समितिका अनुसार गण्डक सम्झौतामा यो परियोजना लागू भएपछि नवलपुर, त्रिवेणी, सुस्ता, प्रतापपुर, पालिनन्दन, सरावलसहितका ४० हजार एकड जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने प्रावधान छ । हाल २५ हजार एकड जमिनमा मात्रै सिँचाइ प्रबन्ध हुन सकेको छ ।
पीडितहरु निरिह बस्न बाध्य
नेपाल–भारतबीच २०१६ मंसिर १९ मा भएको गण्डक सम्झौता अनुसार साविकको १३ वटा गाविसमा यहाँको सिँचाइ, बाढी, कटान, डुबान आदिको सबै प्रबन्ध भारत सरकारले गर्नुपर्ने हुन्छ । ०१६ मा नेपाल र भारतबीच २१ बुँदे गण्डक सम्झौता भएसँगै दुई देशमा सिँचाइका लागि गण्डक ब्यारेज बनेको हो । तर, भारतले हिउँदमा सबै पानी सोहोरेर आफ्नो जमिन सिञ्चित गर्छ, नेपाली भूमि सुक्खा बनाइदिन्छ । बर्खामा ढोका बन्द गरेर भेल नेपालतिर फर्काइदिन्छ र बस्ती नै डुबाइदिन्छ । यसरी दुवै देशमा सिँचाइ गर्ने प्रमुख उद्देश्यले भएको सम्झौताअनुसार बनेको ब्यारेज भारतका लागि फलिफाप बन्दा नेपालका लागि अभिशाप भइरहेको छ ।
नारायणी नदीले दक्षिणमा नेपाल र भारतबीच २४ किलोमिटर क्षेत्रमा सिमाना छुट्याउँछ ।
नेपालको नवलपरासी र भारतको चम्पारन जिल्ला जोड्ने बिन्दुमा बनेको गण्डक ब्यारेजमा ३६ ढोका छन् । आठवटा ढोकाबाट निस्कने पानी भारतले एउटा नहरबाट बिहारतिर लगेको छ भने अर्को आठवटा ढोकाबाट निस्कने पानी उत्तरप्रदेशतिर जान्छ । यी दुवै नहरमा १६÷१६ हजार गरी ३२ हजार क्युसेक पानी बग्छ । तर, नेपालका लागि बनाइएको नहरबाट तीन सय क्युसेक पानी मात्र बग्न सक्छ । त्यसबाहेक भारतले बिहारतिर लगेको नहरबाट आठ सय ५० तथा उत्तरप्रदेशतिर लगेको नहरबाट ४४ र पर्सौनी माइनरबाट २२ क्युसेक पानी नेपाल पठाउँछ ।
यसरी गण्डक ब्यारेजबाट भारतले ३१ हजार ८४ क्युसेक पानी लैजाँदा नेपालले एक हजार दुई सय १६ क्युसेक मात्रै पाउँदै आएको छ । ‘उता ३२ हजार क्युसेक लैजाँदा हामीलाई तीन सय क्युसेक क्षमताको नहर बनाइदिएको छ । त्यो पनि मर्मत नहुँदा डेढ सय क्युसेक मात्रै आउँछ,’ गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले प्राणमञ्चसँग भने, ‘दुवै देशको हितका लागि भनेर बनाइएको गण्डक बाँधले खै त समान व्यवहार गरेको ?’ उनले नेपालका शासकहरुको उदासिनता र बेप्रवाहका कारण भारतले निरन्तर हेपिरहेको बताए । गुप्ताले आफुहरु सुस्तापीडितका मागहरुको भारतीय पक्षलाई पुरा गर्न दवाद दिंदा भारत र नेपाल सरकारको काम हो भन्दै पन्छाउने गरेका गुनासो गर्दै यसको दिर्घकालीन समाधानमा नेपाल सरकार नै दत्तचित्त भएर लाग्नुपर्ने बताए।
लालबाबु यादवको व्यथा पनि उस्तै छ । यही नदी किनारमा उनको पनि दुई बिघा जमिन थियो । गण्डकको भेलले बालुवा थुपारिदियो । अहिले काँसले ढाकेको छ । कुनै बेला आफ्नै जग्गामा भ्याइनभ्याई खेती गर्ने उनी अहिले अरूको जग्गा बटैया (अधियाँ)लगाएर परिवार पालिरहेका छन् ।
हरेक वर्षजसो नवलपरासीका चार गाउँपालिका डुबानमा पर्छन् । प्रतापपुरका नौ, सुस्ताका पाँच, विनयी त्रिवेणीका दुई र सरावल गाउँपालिकाका दुई गरी १८ वडाका आठ हजार चार सय ६४ घरधुरीले यस्तो पीडा भोगिरहेका छन् । ०५० मा बाढीले त्रिवेणी सुस्ता, रुपौलिया, नर्सही, जमुनिया, पक्लिहवा, गुठीपर्सौनी, सोमनी, कुडिया प्रतापुरलगायतका तत्कालीन १४ गाविस डुबाएको थियो । सर्वसाधारण घरबारविहीन बनेका थिए ।
डुबान र कटानबाट पीडित नेपालीले गण्डक नदी नियन्त्रण संघर्ष समिति बनाएर ११ जेठ ०६५ देखि आन्दोलन गरे । आन्दोलनकै क्रममा उनीहरूले ब्यारेजबाट भारतीय नहरमा जाने पानीसमेत थुनिदिएका थिए । ‘भारतमा त्यतिवेला खेती लगाउने समय थियो । हाम्रो आन्दोलनले पानीको हाहाकार भयो । अन्ततः १२ असारमा भारतसँग सम्झौता भयो र नहरमा पानी छाडियो,’ गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ता ति दिन सम्झदै भन्छन् । ३४ दिनसम्म चलेको आन्दोलनपछि भएको सम्झौतामा भारतीय अधिकारीले नेपालतर्पmको नहर समयमै मर्मत गर्ने, त्यो बेलासम्म बाढीले गरेको क्षतिको पूर्ति गर्नेलगायत २१ बुँदे सहमति पनि गरे ।
सिँचाइ डिभिजन कार्यालयल लिएको क्षतिको मूल्यांक विवरणअनुसार ०५० देखि ०६५ सम्म २ अर्ब ९३ करोड रुपैयाँ बराबरको बालीनाली, जमिन तथा भौतिक संरचना क्षति भएको मूल्यांकन गरियो । तत्कालीन मन्त्रिपरिषद्को २८ पुस ०६६ को बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सिँचाइ मन्त्रालयले २९ पुसमा पत्र लेखे पनि परराष्ट्रले १० महिनापछि मात्रै भारतीय दूतावासलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र पठायो । तर, अहिलेसम्म क्षतिपूर्ति वितरण भएको छैन ।
०६५ को आन्दोलनपछि पनि क्षतिपूर्ति नदिएको भारतले सुस्ताका पीडितलाई भुलाउन पाँचवटा पक्की पुल बनाइदियो । केही बाटोघाटो पनि बनाइदिएको छ । त्यसो त भारतले गण्डक प्रभावित क्षेत्रमा यातायात, खानेपानी, स्वास्थ्य, शिक्षालगायतमा पनि विकास गर्नुपर्ने सम्झौतामै उल्लेख थियो । यी सानातिना काम गरेजस्तो गरे पनि भारतले गण्डक डुबान र कटानका पीडितलाई क्षतिपूर्ति भने दिएको छैन । र, मुख्य विषय पानी न्यायिक रुपमा वितरण गर्ने र बाढी आउँदा पानी समान रुपमा छोड्ने विषयमा भारतले कुनै पहल गरेको छैन । गुप्ताका अनुसार, नेपाल सरकारले साथ नदिएपछि सुस्तावासी काठमाडौं मात्रै होइन, दिल्ली, लखनउ, पटनासम्म आपैmँ डेलिगेसन जान बाध्य भएका छन् ।
गण्डक सम्झौताको धारा २ को उपधारा (२) मा गण्डक सिँचाइ आयोजनाको सञ्चालन, मर्मत तथा आवश्यक सबै काम भारतले गर्ने उल्लेख छ । ब्यारेज तथा नहरको संरचना सञ्चालन र मर्मत पनि भारतले नै गर्ने उल्लेख छ । नहरको ड्यामले वर्षाको पानी नछेकोस् भनेर ठाउँठाउँमा पानी निकासको व्यवस्था गरिएको छ । तर, निकास पुरिँदासमेत भारतले सफाइ गर्दैन ।
कार्यान्वयनमै छैन क्षति न्यूनीकरण गर्न बनाइएका संयन्त्र 
हामीलाई सुन्दा अचम्म लाग्ला, तर आफ्नै नदीबाट आफ्नै भूमिमा बनेको गण्डक ब्यारेजबाट पूर्व पश्चिम भएर बहने दुई ठुला नहरबाट बहने पानी नेपाली कृषकहरुले  छुनसमेत पाउँदैनन् । नेपाली भूमिबाट २५ किलोमिटर बगेर भारतको भूमि सिंचित गर्न पुग्ने यस सिँचाइ आयोजनाले पार्ने क्षति, आपत्कालीन प्रकोपबारे अध्ययन निरीक्षण गरी स्थानीयसँग समन्वय गर्ने संयन्त्रमा भारतले नेपालको प्रतिनिधित्व गराएको छैन ।
यी दुवै नहरमा १६/१६ हजार गरी ३२ हजार क्युसेक पानी बग्छ । तर, नेपालका लागि बनाइएको नहरबाट तीन सय क्युसेक पानी मात्र बग्न सक्छ उक्त संयन्त्रमा समेत नेपाललाई समावेश गरी संयुक्त समितिका रूपमा अघि बढाउनुपर्ने माग नेपालको छ । भारतले सो समितिमा नेपालको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले बताए । नेपाल–भारत सीमा क्षेत्रमा आउने बाढी, डुबान र कटानको समस्या समग्रमा अध्ययन गर्न, समाधान गर्न र न्यूनीकरण गर्न संयुक्त कमिटी गठन भई लागू भएको पनि १५ वर्षभन्दा बढी भइसकेको छ ।
विद्युत आयोजना पनि बन्द हालतमा
 १५ मेगावाटको गण्डक जलविद्युत् आयोजना नवलपरासीमा सञ्चालनमा छ । यो आयोजना गण्डक सम्झौताअन्तर्गत नै भारतले बनाइदिएको हो । तर, पाँच–पाँच मेगावाटका तीन युनिटमध्ये हाल यो आयोजनाको एउटा युनिट मात्र सञ्चालनमा रहेको नेपाल विद्युत् प्राधिकरणका आयोजना सञ्चालन तथा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार एउटा युनिट बिग्रिएको र अर्को युनिट पानीको अभावका कारण सञ्चालनमा आउन नसकेको हो । आयोजनाका लागि पानी छोड्ने कामसमेत भारतले नै गर्दै आएको छ । आयोजनामा पानी लैजाने नहरको मर्मत सञ्चालनसमेत भारतकै जिम्मामा छ । गण्डक सम्झौताअन्तर्गत नै १५ मेगावाटको विद्युत् आयोजना भने भारततर्फ सञ्चालन गरिरहेको छ ।
सम्झौता पुनरावलोकन गर्न किन मान्दैन भारत  
०१६ मा भएको सम्झौता कहिलेसम्म वैध हुने भन्ने किटान सम्झौताले गरेको छैन । नेपालतर्फ आयोजनाले अधिग्रहण गरेको जग्गाको मालपोत तिरुन्जेल भारतले प्रयोग गर्न पाउने भन्ने उल्लेख गरिएको छ । पुनरावलोकन नभए यही आधारमा अनन्तकालसम्म पनि भारतले उक्त भूभाग प्रयोग गरिरहन पाउने देखिएको छ । ब्यारेज निर्माण गरिएको आधा भूभाग र उत्तर प्रदेशतर्फ नहर लगिएको १९ किलोमिटर भूभाग नेपालको पर्छ ।
स्वतन्त्र र स्वाधीन मुलुकले यस्ताखाले जघन्य राष्ट्रघाती एवं अन्यायपूर्ण सम्झौताले सधैंभरी पिल्सिएर नेपाली जनता चुपचाप बस्न नहुने स्थानीय पीडित विनय चौधरीले बताए । उनले गण्डक बाँधले नवलपरासीका दक्षिण भेगका सबै नागरिकहरु चरम मर्कामा परेको बताए । देशका सचेत नागरिकहरु बेलैमा  सचेत हुनैपर्छ । हर समयमा सक्ने जनघाती सन्धिहरुरीको विषयमा सचेतापूर्वक रेखदेख गर्दे विद्रोहको मसाल बालिरहन जरुरी छ । सरकार साँचो अर्थमा जवाफदेही बनेर भारत सरकारस्ाँग असमान एवं अपमानपूर्ण सन्धिले थोपरेको नोक्सानी र क्षतिपूर्तिको विषयमा अनिवार्य सन्धिको पुनरावलोकन गर्न पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation