मुगुमा आगलागीबाट ८ घर जले

मुगु — मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् ।

 

गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।उक्त आगलागीबाट मानवीय क्षति नभएको तर धनमाल सखाप भएको उनको भनाइ छ ।

आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मी स्थानीयबासी खटिएर आगलागी नियन्त्रणमा लिएका हुन् । गमगढी बजारको खानेपानीको पाइप लाइनको पानीले धौधौ गरी चार घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

गत असोजमा गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर ध्वस्त भएका थिए । गमगढीमा अहिले सम्म ७ पटक आगलागी भइसकेको छ । Resource-KANTIPUR

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation