बुढो श्री ३ भीमशमशेर

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफू भन्दा    मात्र दुइ वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भए पछि ६५ वर्षको बुढो उमेरमा बि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरुमा सम्भवत सबैभन्दा बढि उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङ्गबहादुर राणा नै थिए । नेपालको इतिहासमा नै हेर्ने हो भने गिरिजा प्रसाद कोइराला सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री हुनेमा पर्दछ ।

मुश्किलले ३ वर्ष पनि श्री ३ बन्न नपाएका भीमशम्शेरको कालगतीले नै १९८९ भदौ १७ मा देहान्त भएको थियो । राणा शासकहरुमा सोझो र बुढो प्रधानमन्त्री भीमशम्शेरको ब्याइते रानी कान्छा बडामहारानी थिइन भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन । सीता महारानीको कथा निकै रोचक छ । जेठी बडामहारानी विमार हुँदा हेरविचार गर्न ल्याइएकी तामाङ केटी थिइन डीला । भोजपुर सिमपानीकी ब्लोन तामाङ थरकी सीता भने त्यसबेलाको मुर्मी परिवारबाट पनि भाग्यमानीमा परेकी थिइन् । बुढो उमेरमा २४ वर्षकी डीला तामाङसंग विवाह गर्दा भीमशम्शेरले बडामहारानी बनाउने बचन दिएकी थिइन । खासमा ल्याइतेलाई बडामहारानी बनाउन असम्भव थियो । तर आफै श्री ३ भए पछि कसको के लाग्थ्यो । जेठी रानीको देहान्त हुनासाथ बडामहारानी बनाइदिए । साथै मुर्मि भोट्या भनिदै आएकाहरुलाई सम्मान साथ तामाङ लेख्न पाउने बनाइदिए । यसरी ल्याइते रानीलाई बडामहारानी बनाउन मिल्दैन भनेर सल्लाह दिने बडा गुरुज्यू सिंहराज पाण्डेलाई देश निकाला नै गरिदिए । यति मात्रै होइन सीता बडामहारानीका तीन भाइलाई तामाङबाट पाण्डे बनाइदिए ।

सीता महारानीका नाममा दरवार बनाइदिए । जसलाई सीता दरवार भनिन्छ । जहाँ बालमन्दिर रहेको छ । २०७२ को भूकम्पले जर्जर बनेको दरवार पूननिर्माणको प्रतिक्षामा छ । साथै विवाह अगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसंग विवाह गराइ भविष्यको रानी बनाउने समेत बचन दिएका थिए । राजा त्रिभुवन तैयार पनि भइसकेका थिए तर अचानक बि.सं. १९८९ भदौ १७ गते भीमशम्शेरको नै देहान्त भयो । जुद्ध शम्शेर श्री ३ बने । जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसंग गराइदिए ।

राणाशासकहरुमा दुइ राणा प्रधानमन्त्री भने बाबुछोरा नै श्री ३ बन्ने सौभाग्य पाएका थिए । श्री ३ चन्द्रशम्शेर र उनका छोरा मोहनशम्शेर तथा श्री ३ भीमशम्शेर र उनका छोरा पद्मशम्शेरले श्री ३ बन्ने सौभाग्य पाएका थिए ।

भीमशम्शेरको मृत्यु पछि श्री ३ बनेका जुद्धशम्शेरले भने रोलक्रममा फेरबदल गराए । ल्याइते सबैलाई रोलक्रमबाट हटाइदिए । जसले गर्दा भीमशम्शेरको ल्याइते दुइ रानी नै अधिकार बिहिन बने साथै उनका छोराहरु पनि सर्वस्वमा परे । भीमकी कान्छी रानी भने दरवारकी नर्तकी गुन्जन थिइन् । गुन्जन तर्फका छोराहरु पनि रोलक्रमबाट हटाइएका थिए ।

जुद्धशम्शेरले रोलक्रमबाट श्री ३ हुन लागेका रुद्रशम्शेरको साथै भीमशम्शेरको सीतामहारानी तिरका छोरा हिरण्यशम्शेर तथा प्रकाशशम्शेरलाई पनि सर्वस्व सहित निकालेर पठाए । कान्छी गुन्जन रानीका तर्फका छोरा रामशम्शेरको साथै अन्य दासीपुत्रहरु पनि निष्काशित भए । साथै युवराज महेन्द्रसंग विवाह हुन लागेका दिव्येश्वरी राज्यलक्ष्मीको पछि भारत धरमपुरका महाराजा राजेन्द्रसिंहसंग तथा पिताम्वरी राज्यलक्ष्मीको पनि नेपाल बाहिर नै विवाह भएको थियो ।

देशमा राणाशासनको अन्त्यको लागि यहि सर्वस्वहरण सहित भारतमा निर्वासनमा रहेका हिरण्यशम्शेर र प्रकाशशम्शेरका छोराहरु लागे । नेपाली कांग्रेसलाई आर्थिक सहयोग गरेर देश भित्र बिद्रोहको आवाज उठाए । हिरण्यशम्शेरका छोरा सुवर्णशम्शेर तथा प्रकाशशम्शेरका छोरा महावीर शम्शेरले आन्दोलनमा आर्थिक सहयोग गरेर देशमा राणाशासनको अन्त्य गर्न ठूलो भूमिका खेले । प्रकाशशम्शेरका छोरा महावीरशम्शेरले नेपालमा पहिलो हवाइजहाज सेवाको शुरुवात गरेका थिए । हिमालयन एभिएशनको नाममा नेपालमा पहिलो हवाइजहाज डिसी ३ उडेको थियो । पोखरा विमानस्थलमा पहिलो पटक विपी र गणेशमानसिंहलाई लिएर हिमालयन एभिएशनको विमान नै पोखरा पुगेको थियो ।

धनकुटामा बडाहाकिम बनाएर सर्वस्वहरण सहित निष्काशित भएका हिरण्यशम्शेरको कान्छी रानी ललिता राज्य लक्ष्मीको दरवार ललिता निवास पनि सर्वस्वमा परेको थियो । देशमा प्रजातन्त्र आए पछि राजा त्रिभुवनको समयमा श्री ३ मोहनशम्शेरले फिर्ता गराएका थिए । पछि २०१७ सालमा राजा महेन्द्रबाट फेरी ललिता निवास रहेको जमिन सरकारीकरण भयो । देशले गणतन्त्र पायो तर देशमा प्रजातन्त्र ल्याउन आफ्नो सर्वस्व गुमाएका सुवर्णशम्शेरका सन्ततीले ललिता निवास विवादबाट निकास पाएन । भूमाफियाको चंगुलमा फसेको यो बहुमुल्य जमिन आज अदालतको मुद्दामा अल्झेको छ ।

यता प्रकाशशम्शेरका छोरा महावीरशम्शेर प्रजातन्त्र पछि बिभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री बनेका थिए । तर पछि कलकत्तामा नै रमे । टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुमायूँ प्रोपर्टिज, हिमालयन एभिएशन, कलकत्ता क्लव तथा क्लव 300 का मालिक रहेका महावीरको सन्ततीको अहिले पनि कलकत्तामा ठूलो धनराशी लगानी रहेको छ ।

राजा त्रिभुवनको समय बिताउने गरेको क्लव 300 मा रेष्टुरेन्ट सञ्चालन गरेका बोरिस लुसानोविच राजा त्रिभुवनको आग्रहमा काठमाडौ आए । रोयल होटलबाट पर्यटन ब्यबसायको शुरुवात गरेका बोरिस नेपालमा पर्यटन ब्यबसायका जनक हुन् ।

खैर अब तस्विरमा जाउँ । यहाँ राखिएको तस्विर श्री ३ भीमशम्शेर तथा भारतका लागि चीनिया कन्सुलर जनरलको हो । चीनिया सरकारले श्री ३ भीमशम्शेरलाई आफ्नो देशको सर्वोच्च पदक “टुङ लिङ पिङ मा कुओ काङ वाङ” तथा चीनिया सेनामा मानार्थ जनरलको पद दिए पछि सो हस्तान्तरण गर्न चीनिया प्रतिनिधी नेपाल आएका थिए । सो भ्रमणमा चीनिया कन्सुलर जनरल आफ्नो श्रीमती तथा छोराको साथ नेपाल भ्रमणमा आएका थिए ।

– सुनिल उलक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation