सामाजिक अगुवाहरुको पहलमा मावि स्कुल खुल्दै

बिक्रम केसी, प्यूठान

सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय अगुवाहरुको पहलमा आगामी शैक्षिक शत्र २०७९ बाट खुङमा मावि तहको पढाइ हुने भएको छ । जिल्लाको उत्तरी भागमा अवस्थित गौमुखी ५ खुङमा हालसम्म मावि स्कुल खुल्न सकेको थिएन । यद्यपि गौमुखी गाउँपालिकाको शैक्षिक हवको रुपमा साबिक खुङको ठुलाबेशीमा भने विगत लामो समयदेखि १२ कक्षासम्मको माद्यामीक विद्यालय रहेको छ । खुङमा जनसहयोगी आधारभुत विद्यालयलाई कक्षा ९ र १० सम्म संचालन गरिने भएपछि गाउँको माथिल्लो भेगका विद्यार्थी कक्षा ८ सम्मको पढाई सकेर थप पढाइको लागि ठुलाबेसी वा अन्य शहर झर्नुपर्ने बाध्यता हट्ने छ । सरकारले माध्यामिक तह (१–१२) सम्मको जिम्मा स्थानीय सरकारलाई दिएको छ, त्यसैले केन्द्र सरकारको मुख ताक्ने स्थिति छैन । नयाँ दरबन्दी नखुलेको झन्डै २५ बर्ष भयो, स्थानीय तहपनि शिक्षाप्रति खासै बफादार भएर शैक्षिक कार्यक्रम लिएको पाइदैन । यस्तो बिषम परिस्थितिमा बिद्यालय कसरी धान्न सकिन्छ भन्ने हाम्रो प्रश्नमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सामाजिक अगुवा बरुणध्वज मल्लले भने, “गाउँमा १० सम्म पढाइ गर्नुपर्ने सबै स्थानीयको आवाज भयो, एकआपसमा सहयोगी हातहरु फैलाउन गाउँका मनकारी मनहरु तयार भएपछि गाउँका अगुवा निराजन मल्लको संयोजकत्वमा मावि स्थापनार्थ आर्थीक सहयोग अभियान संचालन गरेका छौँ । हालसम्म करिब रु.५५ लाख दाताहरूले सहयोगकम घोषणा गरेको र ५ लाख नगद विद्यालयको खातामा जम्मा भइसकेको छ । राज्यले नहेरेपछि चन्दाले नै चलाउने हो, मनका धनी अमर कुंवर यो अभियानमा सबैभन्दा बढी रु २ लाख पच्पन्न हजार पाँच सय पचपन्न नगद सहयोग गरेका छन्, वयोवृद्ध खुङ निवासी रिमबहादुर मल्लले आफु बाँचुन्जेल मासिक रु दुई हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन्, त्यसैगरी एक लाख पचास हजार सहयोग गर्ने दाताहरु धेरै छन्, रु १५ हजार सहयोग गर्नेहरुलाई संस्थापक सदस्य रहने छन् ।” प्राणमञ्चसँगको कुराकानीमा ढुक्क हुँदै मल्लले थपे “मनले चाहाने र बचनमा प्रतिबद्ध रहेर इमानदारीपूर्वक लाग्ने हो भने असम्भव केही छैन, तत्कालै मावि संचालनको लागि बिज्ञान र अंग्रेजी बिषयको शिक्षक नयाँ राख्नुपर्ने छ । अरु व्यवस्थापनका काम पनि थुप्रै छन् । विद्यालयलाई चाहिने केही जग्गा समाजसेवीहरुबाट दान भइसकेको भएपनि कतिपय साथीहरूले राजनीतिक पूर्वाग्रह राख्दा समस्या उत्पन्न भएकोले चैत ५ गते अभिभावक÷ गाउँ भेला राखिएको छ र गाउँ भेलाले गर्ने निर्णय अन्तिम हुनेछ ।” शिक्षा जस्तो पवित्र सामाजिक काममा सहयोग गर्नुको साटो असहयोग गर्न खोज्नु राम्रो नहुने पनि उनले बताए ।

विद्यालय संचालन सहयोग अभियान पूर्व अध्यक्ष निराजन मल्लको संयोजकत्वमा थालिएको र सो अभियानको उपसंयोजकमा बसन्त थापा क्षेत्री, पुष्पा मल्ल, पुष्पा सुनार, बिष्णु कुंवर, तथा वडा अध्यक्ष हुमबहादुर केसी, ज्ञामुराम न्यौपाने लगायतका सरोकारवाला व्यक्तिहरुको उल्लेख्य भुमिका रहेको विद्यालयका प्रधानाध्यापक अमृत केसीले बताए । उनले ४ सय घरधुरीका सबै अभिभावक यो वा त्यो रुपमा अभियानमा प्रतिबद्ध भएर लागिपरेको पनि बताए । स्मरण रहोस् हाल जनसहयोगी आधारभुत बिद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन् । १५ हजार भन्दा बढी आर्थीक सहयोग गर्ने दाताहरुले चैत मसान्तसम्म पहिलो किस्ता र असोज मसान्तसम्ममा दोस्रो किस्ता आफुले बोलेवापतको रकम चुक्ता गर्ने नीति रहेको पनि प्रधानाध्यापकले बताए । हाल कक्षा आठसम्म पठनपाठन भइरहेको उक्त विद्यालयलाई मावि बनाउने गरी पालिकाबाट अनुमति प्रदान भइसकेको गौमुखी गाउँपालिकाको शिक्षा शाखा प्रमुख ओमहरी पोखे्रलले जानकारी दिए । जिल्लाभर १ खुल्लासहित ८० माविमध्य स्विकृत प्राप्त भएका १९ वटा माविमा मात्र पूरा दरबन्दी भएको तर जिल्लाभरका ६१ वटा मावि विद्यालयहरु बिना स्विकृत दरबन्दिविहिन अवस्थाबाट गुज्रिरहेको गौमुखी माविका शिक्षक जायस्वर जैसीले बताए । प्राणमञ्चसंगको कुराकानीमा उनले भने, “हामी सममुदायीक विद्यालयमा गुणस्तरता खोजेर के गर्ने ? जबकी ती स्कुलहरुमा न दरबन्दी छ, न कोटा छ, न त सरकारी मेसीनरी संयन्त्र नै ठिक छ । त्यसैले राज्यले शैक्षिक दरबन्दीको मिलान गर्ने नयाँ शैक्षिक दरबन्दी सिर्जनाको काम तुरुन्त गर्नुपर्ने हुन्छ । शैक्षिक गुणस्तरका काम सरकारी तवरबाट नहुने तर विद्यालय खोल्न अनुमति मात्र दिने हो भने विद्यालय मौजुदा विद्यार्थी र शिक्षककहरुको समय व्यतित गर्ने थलो मात्र हुन्छ ।” विगत २५ बर्षदेखि नयाँ दरबन्दी सिर्जना नगर्नृ राज्यको शिक्षा प्रतिको हदैसम्मको गैरजिम्मेवार काम भएको लेखक एवं अध्यता शशिधर भण्डारीले बताए । “समुदायले चन्दा उठाएर चलेका विद्यालयले कसरी शैक्षिक गुणस्तरता प्रदान गर्न सक्छन्, कहिलेसम्म राज्यको काम जनताले गरिदिने हो ? त्यसैले शिक्षा जस्तो प्रमुख संवेदनशील कार्यमा राज्य जिम्मेवा भएर देशको शिक्षा नीति बदल्न अनिवार्य छ र सोहि अनुरुप आर्थीक लगानीको दायरा फराकिलो बनाए मात्र शिक्षा क्षेत्रमा केहि परिवर्तन हुन सक्छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation