शान्ती उद्यानमा पर्यटकको रौनकता, दोहोरो रकम असुल्दा आगन्तुक मर्कामा

लोकमणी भण्डारी दाङ, तुलसीपुर उपमहानगरपालिकामा गणेश सामुदायिक बन उपभोक्ता समितिद्वारा संचालित राप्ती शान्ति उद्यान दाङ जिल्लाको आन्तरिक पर्यटनको केन्द्र बनिरहेको छ । २०५९ माघ १० गतेदेखि संचालित शान्ति उद्यानमा खासगरी दाङ, सल्यान, रुकुमका विभिन्न भेगबाट स्थानीयहरु पिकनिक खान र अन्य महत्त्वपूर्ण सम्पदाको अवलोकनका लागि घुइँचो लाग्ने गरेकोे पार्कका व्यवस्थापक खेतुप्रसाद भण्डारीले बताए । उनका अनुसार तत्कालीन जनयुद्धले मुलुक थिलोथिलो परेको र जनतामा ठुलो आतंक सिर्जना भएको बेला मुलुकमा शान्ति स्थापना गर्नुपर्छ भन्ने उदेश्यले उक्त उद्यान गणेशपुरका स्थानीय अगुवाहरुको पहलमा संचालन गरिएको हो । 
आम्दानीको मुख्य स्रोतको रुपमा टिकट स्वरुप प्रतिव्यक्ति रु ३० दरले प्रवेश शुल्क लगाइएको छ भने पिकनिकको पनि समय र टिम हेरिकन प्रति समुह रु ३ सय देखि पाँच ५ सम्म निर्धारण गरिएको व्यवस्थापक भण्डारीले प्राणमञ्चसँगको कुराकानीमा बताए । उद्यानमा मुख्य आकर्षकको रुपमा रहेको ठुलो बुद्ध प्रतिमा, मिनि चिडियाखाना, गणेश मुर्ति, बहुमुल्य वनस्पतिको संरक्षण, फुलवारी, फनपार्क आदिले त्यहाँ पुग्ने जोकोहिलाई मन्त्रमुग्ध बनाएको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने र मानवीय अतिक्रमणको शिकारबाट जोगाउने उदेश्यले सुरुमा वृक्षारोपण गरिएको र पछि वौद्धिक सर्कलका सरोकारवाहरुको सकृयतामा राप्ती शान्ति उद्यान संचालन गर्न सफल भएको उनले बताए । ईन्जिनियर बासुदेव भण्डारीको डिजाइन र नक्साङकन तथा सामुदायिक वनको मास्टर प्लानमा सो पार्कको संचालन र व्यवस्थापन गरिएको छ । 

चिल्ड्रेन पार्कको नाममा पर्यटक ठगी

 ऐतिहासिक विरासत बोकेको राप्ती शान्ति उद्यानमा प्रवेश शुल्कबापत मुलगेटबाटै टिकट काटेर भित्र पसेपछि पार्कभित्र संचालित चिल्ड्रेन पार्कको प्रवेश शुल्क अलग्गै लगाउनु त्यहाँ पुग्ने पर्यटकलाई ठगी भएको  पाइएको छ । कुनैपनि मेलामहोत्सव वा ऐतिहासिक पुरातात्त्विक महत्वका सम्पदा अवलोकन गर्दा एकै ठाउँमा दोहोरो शुल्क लगाइएको हुदैन यदि त्यसो गरिएको खण्डमा त्यो गैरकानुनी हुने सरोकारवालाहरु बताउँछन् । “हामी बाहिरै टिकट शूल्क तिरेर आयौँ तर चिल्ड्रेन पार्कमा जान खोज्दा फेरि अलग शूल्क मागियो हामी दिन मानेनौँ । कुनै महत्वपूर्ण सम्पदा नभएको चिलडे«न पार्कमा छिर्न किन पैसा तिर्नु जवकी भित्र गएपछि मनोरञ्जनको लागि सबैको अलग–अलग शूल्क त छदै छ, यो त सरासर अन्याय भयो ।” पार्क अवलोकनका निम्ति पुगेका शोभाराम पोख्रेलले हामीसँग गुनासो गरे ।  शान्ती उद्यानमा रहेको चिल्ड्रेन पार्क संचालनको लागि व्यवसायीलाई जिम्मा दिईएकोले दोहोरो रकमको समस्या भएको अध्यक्षले स्विकारे । उद्यानका अध्यक्षसँग यसरी आगान्तुकलाई किन सताइएको ? भन्ने हाम्रो प्रश्नमा उनले भने “हामी पार्कलाई विवादरहित ढंगले संचालन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध नै छौँ तर आँखै अगाडि देखिएको समस्या समाधान गर्न सकिएको छैन, चिल्ड्रेन पार्कभित्र पस्नको लागि अलग शूल्क नलिन संचालकलाई पटकपटक अनुरोध गरेका छौँ, यसको चौतर्फि बिरोध पनि भएको छ र हामीलाई पनि अप्ठेरो परिरहेको छ ।” उनले सुरुमा कायम भएको रु ३० रुपैयाँको टिकट शू्रल्कलाई घटाएर रु. २० मा झार्ने संचालक समितिको निर्णय भएपनि व्यवसायीले नमानेको जिकिर गरे । उता संचालकले आफुलाई समस्यामा पार्नेगरी व्यवस्थापन समितिका जिम्मेवार व्यक्तिहरुले अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए । संचालक समितिले गरेका जोकोहि निर्णय पनि आफले मान्न बाध्य हुने बताए । उनले भने ‘यहाँ आउने हरेक पर्यटकहरुसँग मै किचकिच गर्नुपर्छ, सबैले मलाई नै आलोचना र गाली गर्छन् । त्यो सबै मैले नै पचाउनुपर्छ, यसो भन्दा त संचालक समितिले निर्णय गरेर शूल्क खारेज गरे त भइहाल्छ नि, मैले उहाँहस्को निर्णय किन नमान्नु ?’ स्मरण रहोस् राप्ती शान्ती उद्यानको संचित कोष ५ लाख नगद रहेको छ भने तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारबाट लगभग ५ करोडको लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation