कविता :बालेनलाई चिठी

प्रिय बालेन,
तिमी देउता नबन्नु
राक्षस नबन्नु
राजा नहुनु
रैती नहुनु
तिमी मालिक नबन्नु
नोकर नबन्नु
तिमी केवल मान्छे बन्नु
र, मान्छे भएरै रहनु

बालेन,
तिमी सक्तैनौ सूर्य हुन
तर उज्यालो दिन सक्छौ
सम्भव छैन तिमी रुख हुन
तर छहारी दिन सक्छौ
सक्तैनौ तिमी नदी भएर बग्न
तर प्यास मेटाइदिन सक्छौ

याद गर्नु,
तिमी सडक होइनौ
यात्रा हौ
तिमी भ्यू टावर होइनौ
दृष्य हौ
तिमी उद्योग होइनौ
श्रम हौ

भर्खरै यात्रामा निस्केका छौ
नदौडिनु सय मिटर रेसको धावकझैं 
अनियन्त्रित भएर लड्न सकिन्छ
नबस्नु चौतारीमा गफ चुट्दै गफाडी नेताझैं
गन्तव्य बिर्सिन सकिन्छ
बरु ‘मर्निङ वाक’ जसरी अघि बढ्नु
यो स्वस्थकर हुन सक्छ

अनेक रुपक अलङ्कार आउन सक्छन्
मख्ख नपर्नु, उदास नहुनु
कसैले तिमीलाई फूल भन्ला
तिमी फूल होइनौ
माली हौ
कसैले तिमीलाई मन्दिर भन्ला
तिमी मन्दिर होइनौ
सिकर्मी हौ
कतिले तिमीलाई बोझ पनि भन्ला
तिमी बोझ होइनौ
भरिया हौ

प्रिय बालेन,
अब तिमी स्वयम्भुको 
एकजोर आँखा अगाडि मात्र छैनौ 
तिमी झण्डै तीन करोड 
जोर आँखाको निगरानीमा छौ

मेरो अनुरोध छ,
यो कुरालाई अर्तीको रुपमा नलिनु
आदर्श र उपदेश नसम्झिनु
सल्लाह सुझाव त झनै नसम्झिनु
यसलाई एउटा भावना सम्झिदिनु
उही तिमीलाई भोट दिन नपाएको मतदाता ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation