निम्न जाेखिमका कारण शिशुलाई आगाेमा सेक्न र गाजल लगाउन हुँदैन- डा. पाठक

नवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्।

सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा हुन्छ। यस्तो बच्चालाई न्यानो बनाएर राख्ने, सकेसम्म आमाको छातीमा टाँसेर राख्ने, कम्तीमा एक घण्टाभित्र (सकेसम्म आधा घण्टामा) आमाको दूध चुसाउनुपर्छ।

नाभीमा मल्हम लगाउने अनि भिटामिन के दिनुपर्छ। ६ महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ।

महिना नपुगी जन्मेका बच्चालाई समेत धेरै बचाउन सकिएको छ। २५\२६ हप्तामा जन्मेका बच्चा समेत बचाउन सफल भएका छौं।

नवजात शिशुलाई संक्रमणले गम्भीर असर पुर्याउँछ। रोगसँग लड्ने क्षमता बच्चाको कम हुन्छ। यस्ता बच्चाको हेरचाह विशेष किसिमले गरिन्छ। रोग अनुसार बच्चाहरूको हेरचाहको विधि अपनाउनुपर्छ। बच्चाको अवस्था अनुसार उसलाई अस्पतालमा कति राख्नुपर्छ र कसरी राख्नुपर्छ भनेर निर्धारण गर्नुपर्छ।

सामान्य शिशुले सुरूमा राम्रोसँग सास फेरेको छ कि छैन भनेर हेर्नुपर्छ। धेरै बच्चाले सुरूमा छिटो छिटो सास फेर्छ त्यसपछि सामान्य हुन्छन्। अस्पतालबाट डिस्चार्ज हुनेबेला बच्चाको स्वास्थ्य अवस्था हेर्नुपर्छ भने आमालाई पनि सामान्य जानकारी दिनुपर्छ। कस्तो अवस्थामा अस्पताल आउने भनेर समेत भन्नुपर्छ।

नवजात शिशुलाई ज्वरो आयो भने, हातखुट्टा चिसो भयो भने, बच्चा लत्रक्क पर्यो भने, जे खाए पनि उल्टी भयो भने, हातखुट्टा पहेंलो भयो भने, शरीरमा पाकेको फोका धेरै देखियो भने, हात खुट्टा नीलो वा दह्रो भयो भने अथवा नाभीको संक्रमण छालासम्म गयो भने नवजात शिशुलाई अस्पताल ल्याउनुपर्छ।

नवजात शिशुलाई आगो र धुँवाले सेक्नु हुँदैन। त्यसले फोक्सोसम्म असर गर्छ। आगो बालेर बच्चालाई सेक्नै हुँदैन। बच्चालाई तातो बनाउने धेरै उपाय छन्। टाउकोमा टोपी लगाइदिने, पञ्जा लगाइदिने र पातलो कपडाले र्याप गरिदिन सकिन्छ। सेक्नै पर्यो भने हिटर बालेर सेक्नु पर्छ। तर धेरै समयसम्म हिटर बाल्नु हुँदैन। बच्चालाई कानमा तेल पनि हाल्न हुँदैन। त्यसले गर्दा बच्चालाई कानमा संक्रमण हुने, ढुसी पर्ने हुन्छ। आँखामा गाजल समेत लगाउन हुँदैन। त्यस्तो गर्दा आँसु बग्ने नली बन्द हुनसक्छ। बच्चालाई मह चटाउने, पानी खान दिने गर्नु हुँदैन। ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ।

प्राय: बच्चाले जन्मेको २४ घण्टामा दिसा र ४८ घण्टामा पिसाब गर्नुपर्छ। एकपटक दिसा र पिसाब गरिसकेपछि बच्चाले हरेक दिन पिसाब गर्नुपर्छ। पाँच दिनपछि बच्चाले दिनमा पाँचपटक पिसाब गर्छ। कहिलेकाहीँ बच्चाले ७\८ दिनसम्म दिसा नगर्न सक्छ र दिनमै ७\८ पटक दिसा गर्नसक्छ।

बच्चा सबै ठीक छ, ३४ हप्ताभन्दा माथि जन्मेको र १८ सय ग्रामभन्दा बढी तौल भएका बच्चालाई हामीले घर पठाउँछौं।

आमाको गर्भमा रहँदा आमालाई पौष्टिक आहार पुगेको छैन र अरू कुनै समस्या भएमा बच्चाको तौल कम हुने सम्भावना रहन्छ।

नेपाल सरकारको विभिन्न प्रयासले ८० प्रतिशत बच्चा स्वास्थ्य संस्थामा जन्मेका छन्। नवजात शिशुलाई कम्तीमा २४ घण्टा अस्पतालमा राख्नुपर्छ। उसमा कुनै खतरा छ कि छैन भनेर मात्रै घर पठाउनुपर्छ। सेताेपाटीबाट……

महिना नपुगी जन्मेका बच्चाहरू बाँच्ने क्रम बढेको छ। यसलाई अझै बढाउनको लागि मिल्क बैंकलाई विस्तार गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation