पाकिस्तान चुनाव : एआईमार्फत सन्देश जारी गर्दै इमरान खानले किन भने यस्तो ?

 इस्लामाबाद

 

पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठुलो जितबारे एक बयान जारी गरेका छन् । तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो ।

पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो । यस सन्देशमा अदियाला जेलमा बन्दी इमरान खानले भनेका छन्, ‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नु भयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु।’

उनले थप भने, ‘तपाईंको भोटका कारण लन्डन योजना असफल भयो।‘ इमरान खानको सन्देशमा पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि टिप्पणी गर्दै ३० सिट पछाडि भए पनि विजयी भाषण दिएको बताइएको छ ।

इमरान खानले दाबी गरेका छन्, ‘धाँधली सुरु हुनुअघि हामीले नेसनल एसेम्बलीमा १५० सिट जितेका थियौँ।’ निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन।

धेरै ठाउँमा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारको अग्रता छ । पीटीआईले धाँधलीको आरोप लगाएको छ तर उनीहरूले कुनै प्रमाण पेस गरेका छैनन्। इमरान खानले आफ्नो पार्टी र कार्यकर्तालाई आफ्नो भोट जोगाउन सल्लाह दिएका छन् ।

पाकिस्तानको नेसनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउँदैछ । हालसम्म घोषित नतिजामा पीटीआईले समर्थन गरेका ८४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन) का ७० उम्मेदवार विजयी भएका छन् । पीपीपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३१ सिटमा जित हासिल गरेका छन् ।

-रा.पा.

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation