रास्वपा केन्द्रीय सदस्य चयनका लागि आज मतदान

१० असार, काठमाडौं 

रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ ।

मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले बतायो ।

रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation