क्रिकेट मैदानसम्म जाने बाटो बनाइदिने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

२८ फागुन, रुपन्देही

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिवद्धता गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले तिलोत्तमा नगरपालिकासँग मिलेर मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न आफूले भूमिका खेल्ने बताए ।

मैदानका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा आफूसहित यहाँका जनप्रतिनिधिहरुले सहकार्यमा काम गर्ने उनले विश्वाससमेत दिलाए । निजि तवरबाट निर्मित यस मैदानमा के-के चाहिएको छ भनेर आफूले बुझिसकेको र त्यसअनुसार प्रतिवद्धता गरेको पौडेलले बताए ।

‘जनप्रतिनिधिले धेरै भाषण गर्ने, चिप्ला कुरा गर्ने राम्रो होइन । सकिन्छ भने काम गर्नु राम्रो र नसके गफ गर्नु राम्रो हुँदैन । मैले विनोद कुवँरजीलाई सोधेँ । के-के चाहिएको छ, अघि बढ्नका निम्ति । उहाँले एउटा क्वालिटीको ट्रान्सफर्मर चाहियो भन्नुभयो । मैले त्यसको जिम्मा लिन चाहन्छु । सरकारका तर्फबाट लगानी गर्न मैले अग्रसरता लिनेछु र त्यो ट्रान्सफर्मरको प्रवन्ध गर्न ध्यान दिनेछौँ । रोड एक्सिस राम्रो हुनुपर्छ भन्ने उहाँको माग छ । यहाँबाट सहजै हाइवेमा दर्शक र खेलाडी जानुपर्छ भन्ने छ । फराकिलो बाटोको सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्युहरुसँग छलफल गरेर र सहकार्य गरी खेलमैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौँ’, उनले भने ।

गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला आठ महिनापछि खेल्नयोग्य मैदानका रुपमा विकास भएको छ । गुल्मीका विनोद कुँवरले ४० करोड लगानीमा रंगाशाला निर्माण गरेका हुन् । आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले रंगशाला उद्दघाटन गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation