सरकारको आम्दानीभन्दा खर्च बढी

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपैयाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको हो। लक्ष्य अनुरूप राजस्व संकलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो। आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ। जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपैयाँ आम्दानी भएको छ।

यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपैयाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

झन् खस्कियो पुँजीगत खर्च 

समीक्षा अवधिसम्म सरकारको पुँजीगत खर्च झन् खस्किएको देखिएको छ। गत आवको तुलनामा पुँजीगत खर्च नै घटाएको सरकारले समीक्षा अवधिसम्म लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ।

गत आवको चैतसम्म भने सरकारले एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थियो जुन लक्ष्यको ३३.०४ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation