टी- २० विश्वकप : बंगलादेश र इङ्ग्ल्याण्ड विजयी

आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेश र इंग्ल्याण्ड विजयी भएका छन्।

बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो। बङ्गलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए। बङ्ग्लादेशका होसेनले ३ विकेट लिए।  त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।

उसका शाकिब अल हसनले सर्वाधिक ६४ रन बनाए। नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए।

जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ। नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ।  नेपालको २ खेलमा १ अङ्क रहेको छ। बङ्ग्लादेशको जित पछि श्रीलङ्का एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै  इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको छ। ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो। उसका जोस बट्लरले नटआउट २४ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभरमा ४७ रन मात्र बनाएको थियो। समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो। इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। ओमानको भने यो चौथो खेल हो। यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ।

प्रतियोगिता अन्तरगत अहिले पपुवा न्युगिनी र अफगानिस्तानबीचको खेल जारी छ। आजै अमेरिका र आयरल्याण्ड भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation