वैज्ञानिक दृष्टिकोणको निर्माण कसरी गर्ने ?

वैज्ञानिक दृष्टिकोण कुनैपनि घटनाको पृष्ठभुमिमा उपस्थित कार्य र कारणलाई बुझ्ने प्रवृत्ति हो । वैज्ञानिक दृष्टिकोणले हाम्रो मस्तिष्कमा तर्कशक्तिलाई विकसित गराउँछ साथै विवेकपुर्ण निर्णय लिने कुरामा सहयोग गर्दछ । वैज्ञानिक दृष्टिकोणले मानिसलाई प्रश्न गर्न सिकाउँछ, जिज्ञासु बनाउँछ र यथार्थतासँग जोडछ । वैज्ञानिक दृष्टिकोणका अनुसार त्यो कुरा ग्रहण गर्न योग्य छ, जो प्रयोग र परिक्षणद्वारा सिद्ध गर्न सकिन्छ । अर्थात जो व्यवहारद्वारा पुष्टि भईसकेको छ । जसमा वस्तुनिष्ठतको सम्बन्ध स्थापित गर्न सकिन्छ ।

जनमानसमा वैज्ञानिक दृष्टिकोणको विकास गर्न वैज्ञानिक चेतनाले प्रशिक्षित र दिक्षित भएकाहरुको कर्तव्य हुन आउँछ । विज्ञानलाई आम जनताको बीचमा नपु¥याइकन समाजलाई शिक्षित बनाउन सकिदैन । नागरिकहरुलाई शिक्षित बनाउनको लागि वैज्ञानिक शिक्षाको आवश्यकता पर्दछ । प्रत्येक सचेत र चेतनशील नागरिकको यो कर्तव्य हुन्छ कि वैज्ञानिक दृष्टिकोणको विकासको लागि प्रयास गर्नुपर्दछ । अहिलेको शिक्षा प्रणालीले चेतनशील नागरिकको उत्पादन गर्न सक्दैन । शिक्षाले मानिसलाई सचेत र तर्कशील बनाउनुपर्ने हो तर हामीकहाँ त्यस्तो देखिंदैन । विज्ञान र प्रविधिमा आधारित शिक्षाले तार्किक र चेतनशील नागरिक पैदा गर्दछ । विज्ञानलाई अप्ठ्यारो विषयमा दर्ज गरिएको छ । सामान्य मानिसले विज्ञान बुझ्न सक्तैनन् भनिन्छ ।

उनीहरूलाई विज्ञानबाट टाढा राख्ने प्रयास गरिंदै आएको देखिन्छ । तर विज्ञानको आविष्कार मानव जातिले उत्पादनमा भाग लिंदै जाँदा भएको देखिन्छ । श्रमिक वर्ग नै वैज्ञानिक आविष्कारहरुको असली हकदार हो । तर अहिले विज्ञानलाई पूँजीपति वर्गले आफ्नो स्वार्थ पुर्तिको लागि प्रयोग गरिरहेको छ । हाम्रो देशको शैक्षिक संस्थाहरुमा पढाइने विज्ञानले तर्क र प्रश्न गर्न सिकाउँदैन । शासक वर्गको स्वार्थ अनुकूल हुनेगरी पाठ्यक्रम र पाठ्यसामग्री तयार गरिएको हुन्छ । विदेशी दातृ संस्थाहरुको रोहवरमा निर्माण गरिएको शिक्षाले कस्तो जनशक्ति निर्माण गर्ला ?

समाज विकासको नियम विपरीत अन्य देशमा जस्तै नेपालमा पनि अन्धविश्वासी, रुढीवादी र पाखण्डीहरुद्वारा समाजको विकासको मार्गमा सिर्जना गरिरहेको अवरोधहरुलाई हटाएर एक विवेकशील, न्यायपुर्ण र समतामूलक समाज बनाउनको लागि क्रान्तिकारी, आलोचनात्मक चेत र वैज्ञानिक दृष्टिकोण भएका सचेत तप्का लागिपरेको छ । तर यो संख्या अत्यन्तै न्यून छ । हाम्रो देशको संविधानमा मौलिक हकमा कार्यान्वयन गर्न नपर्ने आकर्षक र मनमोहक शब्दहरु उल्लेख्य गरिएको छ । तर ती व्यवहारमा लागू छैनन् र हुदैनन् पनि । नेपालको संविधान २०७२ को धारा ४ मा नेपाललाई समाजवादउन्मुख राज्यको रुपमा स्वीकार गरिएको छ । समाजवादउन्मुख भन्नाले समाजवाद तिर फर्केको वा समाजवादी दिशातिर लागेको भन्ने बुझ्नुपर्छ ।

समाजवादलाई टेवा पु¥याउने नीति तथा कार्यक्रम लागू गर्नुपर्छ । राज्यबाट बनाइने नीति तथा कार्यक्रमले हुनेखाने वर्गकै पक्षपोषण गर्दै आइरहेको छ । आधारभुत वर्गको पक्षमा राज्य कहिल्यै पनि देखिएन । संविधानमा समाजवाद भन्ने शब्द जनतालाई झुक्याउनको लागि लेखिएको जस्तो छ । नेपालमा मात्र होइन भारतको संविधानमा पनि समाजवाद शब्दको उल्लेख गरिएको छ । समाजवाद संविधानमा लेख्दैमा खुरुखुरु हिडेर आउने होईन । यो त कष्टसाध्य बाटो भएर आउने कुरा हो । सजिलै प्राप्त हुनेभए श्रमिक वर्गले यसरी अमानवीय सास्ती किन भोग्नुपथ्र्याे र ? संविधानको उदेश्य भविष्यमा वैज्ञानिक सूचना एवं ज्ञानमा वृद्धि गराएर वैज्ञानिक दृष्टिकोणयुक्त चेतना सम्पन्न समाजको निर्माण गर्नु, समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्नु हो भनिएको छ । परन्तु वर्तमान सत्य यो भन्दा धेरै टाढा छ ।

जब आफ्नो कार्यक्षेत्रमा विज्ञानको आराधना गर्ने, हवाईजहाज, अन्तरिक्षयान एव अन्य यातायातका साधनहरु यात्राको लागि प्रयोग गर्नुभन्दा पहिले शुभमुहुर्त देख्ने (कथित साईत जुराउने), नरिवल फोड्ने र यात्रा प्रारम्भ गर्ने बेलामा भगवानले यात्रा सफल पारुन जस्ता अवैज्ञानिक हर्कत गर्ने वैज्ञानिकहरुको सामाजिक व्यवहार नै वैज्ञानिक दृष्टिकोणको विपरीत छ । अरु बाँकी बुर्जुवा बुद्धिजीवीहरु तथा आम शिक्षित– अशिक्षित मान्छेहरुसँग के अपेक्षा गर्न सकिन्छ ? विमान चालकले विमानलाई उडान गर्ने बेलामा भगवानले हाम्रो यात्रा सफल पारुन भन्छन् । चिकित्सकले शरीरको कुनै भाग वा अङ्गको चिरफार गर्ने बेलामा भगवानले सफल पारुन भन्छन् । त्यस्तै इन्जिनियरले पनि भौतिक संरचना निर्माण गर्ने बेलामा भगवानको पुजा गर्छन् र पशुपन्छीको बलि समेत दिन्छन् । शिक्षकले बिहान घरमा भगवानको पुजा गर्छन् र दिउँसो स्कुल पढाउने गर्छन् । यी चारैथरीलाई आफ्नो योग्यता, ज्ञान क्षमता र सीपमाथि विश्वास नै छैन । यीनले कस्तो नागरिक जन्माउलान् र कस्तो समाजको निर्माण गर्लान् ? अहिलेसम्म समाज भगवान भरोसेमा चलिरहेको छ । समाजको ठुलो हिस्सासँग अध्यात्मवादी र अवैज्ञानिक दृष्टिकोण छ । पढे–लेखेका र आफुलाई शिक्षित र विद्वान ठान्नेहरुनै अन्धविश्वासको आहालमा डुबिरहेका छन् । राज्यसत्ता धर्मको संरक्षक बनेर ठिङ्ग उभिएको छ ।

अहिलेको विश्व धार्मिक उन्मादतिर ढल्केको छ । नेपालमा राजावादीहरुले हिन्दु धर्मलाई बोकेर हिडिरहेका छन् । त्यस्तै भारतमा भारतीय जनता पार्टीले हिन्दु धर्मकै आडमा सन २०१४ देखि यता लगातार दश वर्षसम्म दुई कार्यकाल पुरा ग¥यो । अहिले भारतमा लोकसभाको निर्वाचन चलिरहेको छ । भाजपाले हिन्दुवादलाई जोडतोडका साथ उठाइरहेको छ । उता मध्यपुर्वका इस्लाम धर्मको बाहुल्य भएको देशहरुमा पनि धर्मकै नाममा राजनीति गर्ने परम्परा चलिआएको छ । युरोपियन र अमेरिकनहरु संसारभर धर्मको प्रचारप्रसार मा लागिरहेका छन् । गरिब देशका जनताहरुलाई सहयोगको धर्मरुपी विषको प्रसाद खुवाइरहेका छन् । धर्म श्रमिक वर्गका लागि हातमा लगाइएको हतकडी हो । त्यो हत्कडीलाई चुडालेर मात्र मानवजाती मुक्त हुन सक्छ । धर्मको भ्रमजालबाट मुक्त भएपछि मात्र मानवजाती सुखी र सम्पन्न हुनसक्छ । राज्य संचालकहरु नै धर्मको पोखरी पौडी खेलिरहेका छन्
बिहानै रेडियो र टेलिभिजनमा धार्मिक कार्यक्रमहरु बजाइएका हुन्छन् । विज्ञानको प्रचार गर्ने एउटा पनि रेडियो र टेलिभिजन छैन । आजको समयमा यो सबैभन्दा दुखद पक्ष हो ।

हाम्रो देशको शिक्षाप्रणाली अवैज्ञानिक र अव्यावहारिक छ । विश्वविद्यालयबाट उत्पादन हुने शिक्षितहरुसँग पर्याप्त मौलिक व्यावहारिक र सिर्जनात्मक ज्ञानको अभाव देखिन्छ । घोकेर÷रटेर परिक्षा दिने र धेरै नम्बर ल्याएर पास हुने र जागीर खाने । बस, यत्तिनै देखिन्छ लक्ष्य र उदेश्य । विद्यार्थीहरुमा मौलिक, सिर्जनात्मक ज्ञान र तर्कशील क्षमताको अभाव देखिन्छ । पाठ्यक्रमद्वारा निर्धारित गरिएको पाठ्यपुस्तकीय ज्ञानबाहेक अन्य सामाजिक ज्ञानको बारेमा न्युनतम ज्ञान पनि नभएको देखिन्छ । समाजविज्ञान र प्रकृतिविज्ञानको बारेमा ज्ञान हासिल गर्ने कुरा दूर बन्दै गइरहेको छ । प्रत्येक वर्षको माघ फागुनतिर हाम्रो देशको शैक्षिक संस्थाहरुमा वर्षको एकपटक विद्याकि देवी भनिने सरस्वतीको पुजा आराधना गर्ने चलन छ । त्यस दिनलाई श्रीपन्चमी वा सरस्वती पुजा भनिन्छ । विभिन्न धार्मिक संस्थाहरुले खोलेको शैक्षिक संस्थाहरुमा आ–आफ्नो धर्मको धार्मिक ज्ञानद्वारा कलिला मस्तिष्कहरुलाई प्रशिक्षित गर्ने गर्दछन् । विद्यालयहरु विज्ञानको अखडा बन्नुपर्नेमा त्यसो नभएर धार्मिक अखडा बनिरहेका छन् र अन्धविश्वास नामको प्रसाद वितरण गरिरहेका छन् ।

आजपनि हाम्रो समाज कैयौं प्रकारका अन्धविश्वासहरु र ढोंगहरुको बन्धनमा नराम्रोसँग बाँधिएको छ । जातीय भेदभाव, धार्मिक भेदभाव, ढोंगी बाबाहरुको प्रभाव, डायन, चुडेल र बोक्सीको नाममा महिलाहरूको हत्या, हरेक कार्य गर्नुभन्दा पहिले मुहुर्त देख्नु, कर्मको बदला राशि एवं पुर्वनिर्धारित भाग्यमाथी अधिक भरोसा गर्नु, आधुनिक विज्ञानका नियमहरुलाई आधार बनाएर वैज्ञानिक चेतना फैलाउनुको बदला धार्मिक ग्रन्थहरुमा विज्ञान खोज्नु, आधुनिक चिकित्सा पद्धतिको बदला तान्त्रिक, झारफुकेहरु, धर्मगुरु र महात्माहरुसँग उपचारको आशा गर्नु, खडेरी परेको बेला वर्षा गराउनलाई यज्ञ गर्नु, कहीँकतै जानूपरेमा साइत (दिनबार) हेराउनु, बलि दिएर मनोकामना पूरा गर्ने इच्छा राख्नु, सुर्यचन्द्र ग्रहणको राहुकेतुको कोप मान्नु, बिबाहको लागि युवायुवतीको सोचविचार, व्यवहार, मेडिकल फिटनेश जाँच्नुको बदला कुण्डली मिलान गर्नु आदि यसका केही उदाहरणहरु हुन् ।

यसरी समाजको नसा–नसामा अन्धविश्वास र रुढीवाद भरिएको छ । बाँकी रहेल–पहेलको धार्मिक कट्टरपन्थ फैलाउनका लागि राजनीतिक दलहरूले काम गरिरहेका छन् । आफ्ना खराबीहरुलाई लुकाउन, जनतालाई विवेकशील हुनबाट रोक्नको लागि राजनीतिक नेताले अन्धविश्वासलाई प्रोत्साहन दिइरहेका छन् । कोरोना माहामारीमा ताउलो र थाल बजाएर भगाउने, महामारीलाई देवीदेवताको प्रकोप मान्ने, ढोंगी बाबाहरुको पछाडि लाग्ने, उनीहरूलाई ढोग्ने, उनीहरुको महिमामण्डन गर्ने, समाजलाई उन्नतिको बाटोमा लैजानुको बदला धार्मिक कर्मकाण्ड, मन्दिर, मस्जिद, चर्च र गुम्बामा अल्झाई राख्ने, कुनै सरकारी भवनको शिलान्यास गर्नुपर्दा रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरुद्वारा भवनको जगमा पुजापाठ गर्नु र उस्तै परे पशुपन्छीलाई बलि दिनु, राजनीतिक दलको उच्च नेतृत्वद्वारा धार्मिक संस्थाहरुमा धार्मिक क्रियाकलाप गर्नु, जसबाट बुझिन्छ कि राजनीतिक नेताहरूले अन्धविश्वासलाई मलजल गरेर हुर्काइरहेका छन्, फैलाइरहेका छन् ।

ईश्वर, परमेश्वर, अल्लाह र प्रभुको इच्छाबाट सृष्टि–प्रकृतिको सञ्चालन भएको मान्ने समाजमा प्रकृतिको नियमहरुमाथि पकड जमाएर नयाँ–नयाँ खोज, अनुसन्धान र आविष्कार गर्ने वैज्ञानिकहरु पैदा हुने आशा कसरी गर्न सकिन्छ ? बच्चाहरुको परिक्षामा राम्रो परिणाम ल्याउनको लागि भगवान, अल्लाह र प्रभुको प्रार्थना गर्न सल्लाह दिइन्छ भने ती बच्चाहरुले कसरी मेहनत÷परिश्रमको महत्वलाई बुझ्न सक्छन् ? पुर्वनिर्धारित भाग्यमाथी भरोसा गर्ने समाजले कसरी आफ्नो भविष्य निर्माण स्वयं आफै गर्नुपर्दछ भन्ने विश्वास कसरी गर्न सक्तछ ?

आफ्नो गरिबी र दुरावस्थालाई पुर्वजन्मको कर्मको फल मान्ने समाजले कसरी ती शोषकहरु र भ्रष्टाचारीहरुको विरुद्ध आवाज उठाउन सक्छ ? जो उनीहरूको दुर्दशाको लागि जिम्मेवार छन् । समाजमा व्याप्त जातिगत उचनीच ईश्वरद्वारा पैदा गरिएको हो भनेर विभाजनलाई स्वीकार गर्ने समाजमा सामाजिक भेदभाव खतम गर्न कसरी सम्भव हुनसक्छ ? धर्म–परम्पराहरुको आड लिएर महिलाहरुमाथि कैयौं बन्देज लगाउने समाजमा नारी स्वतन्त्रता, महिला सशक्तीकरण कसरी व्यवहारमा प्रयोग गरेर जान सकिन्छ ?
आजको समयको माग छ कि, हामी तर्कवादी, विवेकशील, वैज्ञानिक दृष्टिकोणयुक्त समाज निर्माण गर्ने काममा दृढतापूर्वक अगाडि बढ्नुपर्छ । कुनै पनि देश वा समाजको विकास विज्ञान तथा प्रविधिको विकास वा मानवताको हितमा उपयोग गर्न, समाजलाई तर्कशील, अन्धविश्वासबाट मुक्त, सडेगलेको परम्पराहरुबाट मुक्त बनाएर नै हुनसक्छ । अन्धविश्वास र रुढीवादी परम्पराहरुमा बाँधिएको÷जकडिएको समाज उन्नति र आमूल परिवर्तनका सिढीहरु चढ्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation