वर्षाले रोकियो बुटवल-नारायणगढ सडक खण्ड विस्तार

निरन्तरको वर्षाको कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।

नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहजरूपमा सञ्चालन गराउन पहल भइरहेको छ।

‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ’, उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाएको उनले बताए

‘यो वर्षको मनसुन शुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोत घटाउँदै लगेको थियो’, उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो।’

२०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए। नारायणगढ बुटवल सडकको एकसय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्छ।

सडक विस्तारको काम समयमै  नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation