गुन्द्री बुन्नेदेखि दुनाटपरी बनाउनेसम्मका सीप विद्यालयमै

जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले शुक्रवार विद्यालयमा धेरै सीपहरू सिक्ने मौका पाए।

मूला र सागबाट गुन्द्रुक बनाउने, कर्कलोबाट मस्यौरा बनाउने, मम बनाउने, सालको पातबाट टपरी बनाउने, बाबियोको डोरी बाटेर दाम्लो र नाम्लो बनाउने, बिग्रिएका विद्युतीय उपकरणहरूको मर्मत गर्ने लगायतका सीप सिके।

विगतमा विद्यालयले शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता, गायन तथा नृत्य प्रतियोगिता, कविता लेखन प्रतियोगिता, विभिन्न खेल प्रतियोगिताहरूको आयोजना हुने गरेका भए पनि आजभोलि भने तरीका फेरिएको छ। नेपालको पाठ्यक्रमले व्यवहारिक सीपमा जोड दिन नसक्दा शैक्षिक बेरोजगारी र पलायन बढेका आरोपहरू लाग्ने गरेका छन्। यही परिवेशमा पर्वतका विद्यालहरुले भने पछिल्लो समयमा विभिन्न रचनात्मक अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेका छन्।

शुक्रबारे क्रियाकलाप अन्तर्गत नै कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको आइबल एकेडेमीले पनि ‘नमुना हाट बजार’ सञ्चालन गर्‍यो । छ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले खाना पकाउने अभ्यास गरे।

पकाउनको लागि आवश्यक पर्ने चामल, दाल, तरकारी लगायतका वस्तुहरू घरबाटै लगे। त्यति मात्रै होइन उनीहरूले आफ्नो घरमा उत्पादित कृषिजन्य उत्पादनहरू पनि विद्यालयमा लगे अनि बिक्रीका लागि हाट बजार पनि लगाए। एक जना साथीले हाटमा राखेको बस्तु अर्को साथीलाई आवश्यक भएमा किनेर लगे। उनीहरूले यसरी बस्तु विनिमय र पाक शिक्षाको बारेमा सिक्न पाउँदा व्यवहारिक सीपको विकास भएको विद्यालयका प्रधानाध्यापक विमल पौडेलले बताए।

‘विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने पाक शिक्षाको ज्ञान दिने र स्थानीय कृषिजन्य उत्पादनको बिक्री वितरण  गर्न लगाई कृषिबाट पनि आय आर्जन गर्न सकिन्छ भन्ने भावनाको विकास गर्न, व्यापारको आधारभूत ज्ञान दिन यो कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने, ‘हाटमा स्थानीय तरकारी, फलफूल, बयर, भकिम्लो, अमला बिक्रीका लागि राख्यौँ। पाक शिक्षामा रोटी, परौठा, आलु चप, चटपट, पानी पूरी, पकौडा, मःम, चाउमिन, मासुका विभिन्न परिकारहरू पकाएर बिक्री गरे।’

प्रधानाध्यापक पौडेलका अनुसार एउटा समूहले एक हजार रुपैयाँदेखि करिब चार हजार रुपैयाँसम्मका उत्पादन र खाने कुरा बिक्री गरेका थिए।

भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन रेग्मीले सानै उमेरदेखि विद्यार्थीहरूलाई कृषि  कर्ममा प्रेरित गर्न सके उनीहरूलाई मिहिनेतको पाठ सिकाउनुका साथै घरमा लामो समयसम्म मोबाइल तथा ल्यापटपमा अनावश्यक रूपमा बिताउने समयको सदुपयोग गर्न सकिने बताए।

‘पढ्दै कमाउँदै’ को अवधारणालाई साकार पार्न सकिने भएकोले स्थानीय  सरकारले पहल गरी यस्ता खालका क्रियाकलापहरूलाई प्राथमिकता दिनुपर्ने प्रअ रेग्मीको भनाइ छ।

कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले पछिल्लो समयमा कुश्मा नगरपालिका मात्रै नभएर जिल्लाका विभिन्न विद्यालयहरूले अपनाएको विधि व्यवहारिक भएको बताउँछन्। विद्यार्थीलाई किताबी रटान गर्नुपर्ने खालका क्रियाकलापमा मात्रै अभ्यस्त नबनाई हरेक घरमा हुने गरेका दैनिक अभ्यासहरूलाई पनि विद्यालयमा सिकाइनुपर्ने बताए।

विद्यार्थीहरू अध्ययनमा अब्बल भए पनि आफूले आगो बालेर आफ्ना लागि खाना तयार गर्न नसक्ने हो भने त्यसले आत्मनिर्भरता नहुने शाखा प्रमुख तिवारीको भनाइ छ।सबै खालका हाट बजार सन्चालन गर्न सकेमा उत्पादक र उपभोक्त  सिधै जोडिन सक्ने साथै कृषकहरुले आफ्नो उत्पादनको उपयुक्त  मूल्य  पाउने र  उपभोक्तले पनि सस्तो मूल्यमा विभिन्न तरकारी फलफूल लगायतका दैनिक  उपभोग्य  बस्तुहरु प्राप्त गर्न सकिने अभिभावकको भनाइ।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation