
१८ माघ, प्युठान
सुनिलस्मृति-३, मिझिङ, रोल्पा निवासी शिक्षक तथा समाजसेवी शशिराम बिष्टले आफ्नो ५३ औं जन्मदिनको अवसरमा विद्यालयको जन्मदिन कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
पिता जितमान बिष्ट र माता नैना बिष्टको कोखबाट २०२८ साल माघ महिनाको १८ गते जन्मनुभएका शशिराम बिष्टलाई कहिल्यै जन्मदिन मनाएको अनुभव छैन । उहाँको बाल्यकाल या युवावस्थामा हुँदा समाजमा यस्तो प्रवृत्ति पनि थिएन । तर यसपटक आफू कार्यरत रहेको विद्यालयमा विद्यालय र विद्यार्थीसंग जन्मदिन अभियान चलिरहेको हुँदा उहाँले पनि पाँच हजार तीन सय (५३००) सहयोग गर्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक साथीहरु र विद्यार्थीहरुसंग जन्मदिन मनाउनुभएको हो ।
शशिराम बिष्ट सरले २०५४ सालबाट शिक्षण जीवनको सुरुवात गर्नुभएको हो । हालको सुनछहरी गाउँपालिकाको भित्रि गाम स्थित श्री जनता प्राथमिक विद्यालय, बाँसडाडाबाट शिक्षण सेवा प्रारम्भ गरेका उहाँले शिक्षणको २७ बर्ष बिताइसक्नुभएको छ । यही बिचमा उहाँले २०६३ पुस १ गते स्थाइ रुपमा उक्त विद्यालयमा सेवा सुरु गर्नुभयो । गाममा १४ बर्ष बिताइसकेपछि २०६९ साल भाद्र १ गते उहाँ हाम्रो विद्यालय चन्द्र प्रभा माविमा सरुवा भइ आउनुभयो र त्यसपश्चात निरन्तर रुपमा यही विद्यालयमा शिक्षण सेवा गरिरहनु भएको छ ।
“जीवनमा कहिल्यै जन्मदिन मनाइएको थिएन तर विद्यालयमा निकै सुन्दर र सत्कर्मको प्रयास सुरु भएकाले म आफू पनि यसमा जोडिन मन लाग्यो । गाउँमा रक्सी पार्टी, केक काटेर जन्मदिन मनाउने परम्परा सुरु भएको छ तर हाम्रो संस्कृति अनुरुप यो राम्रो होइन । हाम्रो संस्कृति त कसैलाई सहयोग गर्ने, भोकालाई खान दिने, अफ्ठेरोमा परेकालाई सहयोग गर्ने, मन्दिर र विद्यालयको सुधारकालागि सकेको सहयोग गर्ने हो ।” बोल्ने क्रममा जन्मदिन मनाइरहनुभएका शशिराम विष्टले यस्तो बताउँदै सबैलाई यो अभियानमा जोडिन अनुरोध गर्नुभयो ।
आर्थिक अभावका कारण विद्यालयमा अपेक्षित परिवर्तन गर्न नसकिएको तर यस अभियानले केही न केही सहयोग पुग्नेमा कार्यक्रमका प्रमुख अतिथि, वडा सदस्य तथा वडा शिक्षा समितिका संयोजक धिरज घर्तीमगरले बताउनुभयो । त्यसैगरी कार्यक्रमका अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश घर्तीले जन्मदिनको अवसरमा अत्यन्तै सकारात्मक तथा सिर्जनात्मक काममा जोडिएकोमा शिक्षक शशिराम बिष्टलाई शुभकामना एवम् धन्यवाद प्रकट गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टले पनि यस्तो सत्कर्ममा जोडिनुभएकोमा शिक्षक शशिराम बिष्टलाई जन्मदिनको शुभकामना प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम विद्यालयका शिक्षक घनश्याम आचार्यको सहजिकरणमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।