
७ फागुन, काठमाडौँ
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब ९६ करोडले वृद्धि भई २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । यो कुल गार्हस्थ्य उत्पादनको ४५.७७ प्रतिशतबराबर हो ।
चालू आवको सात महिनामा सरकारले आन्तरिकतर्फ दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ ६१ अर्ब ४२ करोड ऋण प्राप्त गरेको छ । त्यस्तै, आन्तरिकतर्फ एक खर्ब २७ अर्ब २४ करोड र बाह्यतर्फ २२ अर्ब ९६ करोड ऋण भुक्तानी गरेको छ । विनिमय दरमा भएको परिवर्तनले ३६ अर्ब ५९ करोड ऋण दायित्व बढाएको छ । माघ मसान्तसम्ममा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड पुगको छ । कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८७ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत रहेको छ । सरकारले चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमा माघ मसान्तसम्म दुई खर्ब ९० अर्ब ५७ करोड प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ५३.१२ प्रतिशत हो ।
यस वर्ष तीन खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य लिइएकोमा माघ मसान्तसम्ममा ६९.४४ प्रतिशत अर्थात् दुई खर्ब २९ अर्ब पाँच करोड उठाइएको छ । त्यस्तै, दुई खर्ब १७ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य लिइएकोमा २८.३१ प्रतिशत अर्थात् ६१ अर्ब ४२ करोड उठाएको छ । वार्षिक लक्ष्यअनुसार सरकारले बाँकी पाँच महिनामा एक खर्ब ८४ करोड आन्तरिक र एक खर्ब ५५ अर्ब ९७ करोड बाह्य गरी कुल दुई खर्ब ५६ अर्ब ४२ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न सक्नेछ ।
ऋण सेवामा पौने दुई खर्ब खर्च
ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा माघ मसान्तसम्ममा एक खर्ब ८८ अर्ब ७५ करोड भुक्तानी भएको कार्यालयले उल्लेख गरेको छ । जुन ऋण सेवा खर्चतर्फको कुल वार्षिक विनियोजनको ४६.८५ प्रतिशत हो । ऋण सेवामा भएको खर्च कुल गार्हस्थ्य उतपादनको ३.३१ प्रतिशतबराबर हुन पुगेको कार्यालयले उल्लेख गरेको छ ।