ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

भारी हिमपातका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।

शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन्।

निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो। हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका- ९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।

शुक्रबार दिउँसो २ वर्षदेखिनै हिमपात हुन शुरु भएको उनले बताए। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले जानकारी दिए। बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनन्दिन नै प्रभावित बनेको उनी बताउँछन्।

उनले भने, ‘एक/दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरूले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।’

लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन्। बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ। अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ।

उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको छ। दिउँसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका- ६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation