हिंसाबाट दलित महिला बढी प्रताडित

नेपाली सामाजमा हिंसाबाट दलित महिला बढी प्रताडित भएको पाइएको छ। समग्रमा सबै महिलाले भोग्ने हिंसा दलित महिलाले पनि भोग्नु परेको छ। त्यसका अतिरिक्त दलित महिलाले जातीय, पितृसत्ता, वर्गीय, आर्थिक, सामाजिक कारणले थप हिंसाको सामना गर्नु परिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

दलित महिला संघ (फेडो) ले २०८१ मा गरेको अध्ययनअनुसार नेपाल प्रहरीको विवरणमा हिंसापीडित दलित महिलाको कुल सङ्ख्या ११.५४ प्रतिशत छ। हिंसापीडित दलित बालिकाको सङ्ख्या १९.४४ प्रतिशत छ। राष्ट्रिय महिला आयोगमा अभिलेख भएका घटनामध्ये ११.३४ प्रतिशत दलित महिलासँग सम्बन्धित छन्। ओरेक नेपालको अभिलेखअनुसार हिंसापीडित महिलामा दलित महिलाको सङ्ख्या २७ प्रतिशत छ। इन्सेकको अभिलेखमा पनि दोस्रो बढी हिंसामा पर्ने महिलामा दलित छन्।

जसमा दलित महिला २२.५८ प्रतिशत छन्। उल्लिखित तथ्यांक पीडकका तर्फबाट उजुरी आएका मात्र हुन्। थप हिंसाको डर र न्यायिक प्रक्रियामा कमजेोर उपस्थितिका कारण पनि दलित महिलासँग जोडिएका धेरैजसो हिंसा घटना गुपचुप नै रहने गरेको अधिकारकर्मीको दाबी छ।

दलित र दलित महिलाहरूप्रति हुने विभेद र दमनको विकराल रूप अन्तरजातीय विवाहमा देखिएको फेडोले जनाएको छ। अन्तरजातीय विवाह गरेका ७१.७ प्रतिशत महिलाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डर, धाक र धम्कीको सामना गर्नु परेको छ। साथै सार्वजनिक स्थानमा दुव्र्यवहार र अपमान भोग्नेहरूमा ७० दशमलव आठ प्रतिशत छन्। चरित्र हत्या गर्ने वा चरित्रलाई हल्का रूपमा लिने सामाजिक मनोवृत्तिका कारण धेरै दलित महिलाको जीवन प्रभावित भएको फेडोकी महासचिव रेणु सिजापतिले बताइन्।

अन्तरजातीय विवाह गरेका दम्पतीबाट जन्मिएका २५.७ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छैन। जसले गर्दा उनीहरूले स्कुल भर्नामा समस्या भोग्न परेको र  सरकारले प्रदान गरेको सेवासुविधाबाट पनि वञ्चित हुन पुगेका महासचिव सिजापतिको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation