विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माविमा सम्पन्न, अनुजा र विकास भए प्रथम

२४ फागुन, प्युठान

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा जुनियर रेडक्रस सर्कल तर्फ प्रथम स्थान अनुजा पौडेल (भानुभक्त मावि, बर्बोट, प्यूठान), द्वितीय स्थान कृष्मा मोक्तान (सिद्धिमङ्गल मावि, ललितपुर), तृतीय स्थान भाष्कर लुइँटेल (राष्ट्रिय मावि, इलाम) तथा सान्त्वना स्थान शान्ति तामाङ (एडभान्स एकेडेमी, धादिङ) ले प्राप्त गरे।

युवा रेडक्रस सर्कल तर्फ प्रथम स्थान विकास खड्का (गुँरास चाइल्डहुड एकेडेमी, बाँके), द्वितीय स्थान सुनिता तामाङ (वागेश्वरी मावि, नुवाकोट), तृतीय स्थान सजना थापा (सत्य मावि, प्यूठान) तथा सान्त्वना स्थान संस्कृति सुवेदी (छोरेपाटन मावि, कास्की) ले प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप ५०००, ३०००, २००० र १५०० रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

प्रतियोगिताका निर्णायकहरू डा. मधुसूदन ढुंगाना, कवि घनश्याम अस्तित्व, र शिक्षक शरदराज भण्डारी थिए। रेडक्रस युवा सर्कल अमर माविका केही विद्यार्थीहरूले कार्यक्रममा नृत्य, गायन र कविता प्रस्तुत गरेका थिए । पुरस्कृत कविहरूका केही कविताहरू कवि घनश्याम अस्तित्व, शिक्षक शरदराज भण्डारी, तथा हिमा भण्डारीले वाचन गरेका थिए।

कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाका सभापति तथा केन्द्रीय सदस्य गुमानराज पुलामी, स्वर्गद्वारी नगर उपप्रमुख मिनराज राना, अतिथिहरू स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण रोकाय, नेपाल रेडक्रस सोसाइटी स्वर्गद्वारी उपशाखाका सभापति लालबहादुर रावल, अमर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर रोकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सभापति गुमानराज पुलामीले रेडक्रसको ऐतिहासिक पृष्ठभूमि र यसका संस्थापक जा हेन्ड्री ड्युनाँको जीवनीबारे प्रकाश पारेका थिए। उनले आफ्नो मन्तव्यमा रेडक्रसको स्थापना सन् १८६३ मा स्विजरल्यान्डको जिनेभा शहरमा भएको जानकारी दिए। रेडक्रस स्थापनाको प्रेरणा सन् १८५९ को सोल्फेरिनो युद्धमा घाइते सैनिकहरूको दुःखद अवस्था रहेकाले हेनरी ड्युनाँले मानवीय सहायता संगठन स्थापनाको अवधारणा अघि सारेको उल्लेख गरे। साथै, सन् १८६४ मा आयोजित जेनेभा सम्मेलनपछि रेडक्रसलाई औपचारिक मान्यता दिइएको र हाल रेडक्रस १९० भन्दा बढी देशहरूमा सक्रिय रहेको जानकारी दिए।

त्यस्तै, उनले जा हेन्ड्री ड्युनाँको जीवनीबारे चर्चा गर्दै सन् १८२८ मे ८ मा स्विजरल्यान्डको जिनेभा शहरमा जन्मिएका ड्युनाँ बाल्यकालदेखि नै समाजसेवा र मानवीय कार्यमा रुचि राख्ने व्यक्ति भएको बताए। उनले सोल्फेरिनो युद्धमा देखेको भयावह दृश्यपछि “A Memory of Solferino” (सोल्फेरिनोको सम्झना) पुस्तक लेखेका थिए, जसले अन्तर्राष्ट्रिय मानवीय संगठनको आवश्यकता संसारभर फैलाउन मद्दत गर्‍यो।

ड्युनाँको योगदानलाई सम्मान गर्दै सन् १९०१ मा उनलाई पहिलो नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो भन्ने तथ्य प्रस्तुत गर्दै सभापति पुलामीले रेडक्रसका सात आधारभूत सिद्धान्त— मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता, र विश्वव्यापकता को महत्वबारे पनि प्रकाश पारेका थिए। उनले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै रक्तदान, विपद् व्यवस्थापन, तथा मानवीय सेवाका गतिविधिहरूमा सक्रिय सहभागिताका लागि हरेक व्यक्तिलाई प्रेरित गर्न उपस्थित सबैलाई आह्वान गरे।

विद्यालय स्तरीय राष्ट्रिय स्तरको यस प्रतियोगिताले नवप्रतिभाहरूलाई प्रोत्साहित गर्नुका साथै रेडक्रस अभियान, रक्तदानको महत्त्व तथा मानवीय सेवाप्रति जनचेतना फैलाउने उद्देश्य बोकेको थियो। प्रतियोगिताका पुरस्कारहरू स्थानीय व्यवसायी एवं समाजसेवीहरूको सहयोगमा प्रदान गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी तथा सम्पूर्ण आयोजक, सहभागी, निर्णायक, शिक्षक, विद्यार्थी, तथा स्थानीय सहयोगदाताहरूको योगदानले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै कार्यक्रमका अध्यक्ष बलबहादुर रोकायले सबैलाई धन्यवाद व्यक्त गरे ।

अमर माविका प्रधानध्यापक बासुदेब खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहजिकरण विद्यालयकि शिक्षक रूक्मिणी रावलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation