जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिँदै जनआन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ।

बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए। उनले निर्णायक चरणको आन्दोलन जनआन्दोलनभन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसद्को समिति, सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरे।

अध्यक्ष सुवेदीले भने, ‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयमा धर्नामा छौँ। यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ। अब नेपाली शिक्षक, कर्मचारीहरूले यो अन्तिम चरणको आन्दोलनको रूपमा अघि बढाइरहेका छौँ। यसपछि रिले अनशनमा जान्छौँ। चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलनभन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दै छौँ।’

उनले कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरू अघि बढिरहेको बताए। उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह गरे। देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation