आज मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ।  नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ। मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए।

खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए।

‘‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ । बराबरीले पनि नेपालका लागि सन्तुष्ट हुने ठाउँछ। तर हामी राम्रो योजनासहित जितका लागि प्रस्तुत हुनेछौँ,’’ रोसले भने।
यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताए। सिङ्गापुरमा धेरै नेपाली समर्थकको साथ पाएको नेपालले मलेसियामा पनि सोही अपेक्षा गरेको किरणको भनाइ थियो।

फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ। नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन। नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ।

जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो। नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २–० गोलले पराजित भएको थियो।

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation