
चीनिया लेखिका याङ मोको “युवाहरूको गीत” केवल एक प्रेमकथा होइन, यो युवाको आत्मपरिचय र चेतनाको यात्राको कथा हो। प्रारम्भिक पृष्ठहरूमा मुख्य पात्र लिन ताओ-चिङ र यू युंगलेबीचको प्रेम आत्मीय र जीवन्त लाग्छ। उनीहरूको प्रेम निष्कलंक देखिन्छ – तर समयसँगै त्यो प्रेमले सामाजिक द्वन्द्वको सामना गर्नुपर्छ।
लिन ताओ-चिङ प्रेममा निराश भएपछि आफैँभित्र डुब्छिन्। एकछिनका लागि पाठकलाई लाग्छ, उनी पतनको दिशामा गइरहेकी छिन्। तर त्यसै क्षणमा उनको आत्मसंघर्षले एउटा गहिरो मोड लिन्छ। उनी भन्छिन् –
“म रोएँ, तर कमजोरीमा होइन। म आँसुहरूलाई आफ्नो शक्तिको स्रोत बनाउन चाहन्थेँ।”
यस भनाइबाट स्पष्ट हुन्छ कि उपन्यासको मूल भाव व्यक्तिगत पीडाबाट सामूहिक चेतनातर्फको संक्रमण हो।
लिन ताओ-चिङको प्रेम-विछोडको पीडा केवल निजी घाउ थिएन, त्यो उद्धारको ढोका बन्न पुग्छ। प्रेम गुमाउनुको पीडाभित्र उनले समाजप्रतिको उत्तरदायित्व देख्न थाल्छिन्। “जब म प्रेममा डुबिरहेको थिएँ, मैले संसारको अन्याय देखेकि थिइन। जब प्रेम गुमाएँ, तब मात्र देखेँ कि संसार रगतले रङ्गिएको रहेछ।” भन्ने उनको भनाइ यही परिवर्तनको प्रतीक हो।
याङ मोको “युवाहरूको गीत” एक यस्तो उपन्यास हो जसले युवाहरूको आत्मसंघर्षलाई व्यक्तिगत सीमाभन्दा पर लैजाने विचार प्रस्तुत गरेको छ। यसको मूल दर्शन हो – व्यक्तिगत पीडा सामाजिक परिवर्तनको प्रेरणा बन्न सक्छ।
लिन ताओ-चिङको जीवनको प्रारम्भिक अवस्था र प्रेममा परेको अवस्थासम्मको यात्रा व्यक्तिगत अनुभूति र चाहनाले भरिएको छ। तर उनी क्रमशः आफू वरपरको अन्याय, गरिबी, राजनीतिक जटिलता बुझ्न थाल्छिन्। उनी भन्छिन् –
“म केवल आफूलाई बचाउन चाहन्न, म त अरूलाई पनि उठाउन चाहन्छु।”
यो भनाइबाट स्पष्ट हुन्छ कि उपन्यासको विचार केवल प्रेम वा पीडाको कथा मात्र होइन, यो सामाजिक चेतनाको उद्घोष पनि हो।
जब लिन ताओ-चिङले विश्वविद्यालयमा नयाँ क्रान्तिकारी साथीहरू भेटिन् र राजनीतिक प्रशिक्षणमा सहभागी भइन्, त्यस क्रममा उनले आफ्नो व्यक्तिगत पीडा र सामाजिक जिम्मेवारीलाई सम्बोधन गरिन,-
“जनताले आफ्नो भाग्य आफैं कोर्न सकून् भन्ने चाहनाको निम्ति हामीले हाम्रा सपना, हाम्रा प्रेम र हाम्रा जीवनलाई पनि क्रान्तिमा अर्पण गर्नुपर्छ। क्रान्ति भनेको केवल बन्दुक चलाउने कुरा होइन, चेतनाको उज्यालो फैलाउने काम पनि हो।”
उपन्यासमा यौवनको ऊर्जा, विद्रोह र नयाँ बाटो खोज्ने जाँगर छ। लेखिकाले यिनै पक्षहरूलाई विचारको रूपमा संयोजन गरेकी छन्। जब लिन ताओ-चिङ पुरानो सम्बन्धको भूतबाट मुक्त हुँदै समाजप्रति उत्तरदायी बन्न पुग्छिन्, तब उपन्यासले एउटा गम्भीर राजनीतिक चेतना बोकेको सन्देश दिन्छ। उनी भन्छिन् –
“सिर्फ म मात्र होइन, हाम्रा पूरै पुस्तालाई यो झूटको संसारबाट निकाल्न जरुरी छ।”
युवाको चेतनाले सामूहिक परिवर्तनको दियो बाल्न सक्छ भन्ने विचारलाई लेखकले बारम्बार सशक्त बनाएकी छन्। उपन्यासको मूल दृष्टिकोण यही हो –
एक सचेत युवा केवल आफ्नो मुक्तिको खोजीमा सीमित रहँदैन; उसले समाजलाई पनि साथसाथै हिँडाउन खोज्छ।
यस्तो विचार आजको सन्दर्भमा अझ सान्दर्भिक हुन्छ। प्रेममा निराश भएका थुप्रै युवा वर्तमान समाजमा आत्मविलुप्त हुँदै गइरहेका छन्। तर लिन ताओ-चिङ जस्ता पात्र हामीलाई सम्झाउँछन् –
“वास्तविक शक्ति त भित्रै लुकेको हुन्छ, त्यो पीडाबाट जन्मन्छ, आँसुले सिँचिन्छ।”
यस उपन्यासले एउटा महिला पात्र, लिन ताओ-चिङको आँखाबाट यथार्थलाई हेर्छ। यस उपन्यासको दृष्टिकोण स्पष्ट रूपमा नारीकेन्द्रित, आत्मप्रत्यायशील र सामाजिक रूपान्तरणमुखी छ। लेखिका याङ मोले कुनै नारीवादी नारा उचाल्नु भएन, तर लिन ताओ-चिङको आत्मसंघर्ष, आत्मनिर्णय र आत्मबोध मार्फत गहिरो रूपमा नारी दृष्टिकोण स्थापित गर्नु भएको छ।
उपन्यासको सुरुका खण्डहरू पढ्दै जादा लिन ताओ-चिङ एक सामान्य युवतीझैँ लाग्छिन् – प्रेम गर्ने, धोका भोग्ने, भित्रभित्रै चुँडिने। तर उनी भन्छिन् –
“जीवनको अर्थ केवल प्रेममा सीमित छैन। प्रेम गुमाउँदा मैले आफैँलाई भेटाएकी थिए।”
यस भनाइले स्पष्ट गर्छ कि उपन्यासले नारीको स्वतन्त्र अस्तित्व र आत्मचेतनाको खोजीलाई केन्द्र बनाएको छ।
यद्यपि पात्र महिला भए पनि उपन्यासको दृष्टिकोण केवल स्त्री-पुरुषको भेदमा सीमित छैन। यो दृष्टिकोण मानव चेतनाको उदय, आत्मसंघर्षको शक्ति, र सामाजिक समानताको आकांक्षासँग गहिरो रूपले गाँसिएको छ। जब लिन ताओ-चिङ भन्छिन् –
“मलाई सहानुभूति होइन, समानुभूति चाहिएको छ।”
त्यो भनाइमा एकजना नारी पात्रको भोगाइ मात्र होइन, सबै पीडित, वञ्चित र सचेत युवाहरूको आवाज मिसिएको पाइन्छ।
यसमा नारीलाई सहनशील देवी या निरीह पात्र बनाइएको छैन। लिन ताओ-चिङ न त क्रान्तिकारी नेतृ हुन्, न आत्मदया पोख्ने पात्र। उनी एक सामान्य युवती हुन्, जसको भोगाइहरू क्रमशः चेतनाको रुपान्तरणमा बदलिन्छ। यही आम युवतीको नजरबाट समाजलाई हेर्ने दृष्टिकोण नै उपन्यासको अद्वितीय शक्ति हो।
यस्तो दृष्टिकोण आजको साहित्यमा आवश्यक छ – जहाँ महिलाको कथा उनीहरूको आँखाबाटै भनिएको होस्। “युवाहरूको गीत” उपन्यास यस सन्दर्भमा एउटा सशक्त उदाहरण हो, जसले भन्छ –
“यदि तिमीले आफैंलाई बुझ्यौ भने, संसारलाई बदल्न सक्ने हिम्मत आफैँमा जन्मिन्छ।”
“युवाहरूको गीत” उपन्यासको मूल सन्देश स्पष्ट छ – पीडालाई पराजय होइन, परिवर्तनको ऊर्जा बनाउनु पर्छ। यो कुनै राजनीतिक भाषणजस्तो घोषणात्मक सन्देश होइन, पात्रको आन्तरिक यात्रा र सामाजिक अन्तर्दृष्टिबाट उजागर भएको जीवनदर्शन हो।
लिन ताओको जीवनमा प्रेमको विछोड, राजनीतिक अशान्ति, र पारिवारिक अस्थिरताले गहिरो प्रभाव पार्छ। तर उनले आफैँ भन्छिन् –
“म रोएकी थिएँ, तर रोएर बस्नका लागि होइन, उठ्नका लागि।”
यही भनाइले उपन्यासको मूल सन्देशको सार समेट्छ – भावनात्मक धक्का भोग्नेहरूसमक्ष विकल्प हुन्छ: टुट्ने वा बदलिने।
यो उपन्यासले खासगरी आजको पुस्तालाई यही आग्रह गर्छ – टुट्नेलाई भाग्य नमान, टुट्नेलाई सम्भावना मान। पात्रहरू आफन्त गुमाउँछन्, प्रेममा धोका खान्छन्, समाजबाट हेला भोग्छन्, तर पनि जीवनसँग टक्कर लिन्छन्। उपन्यास भन्छ-
“हामी हरेक चोटसँग बलिया बन्ने अभ्यास गरिरहेका छौं।”
यस्तो सन्देश नेपाली सन्दर्भमा झन् सान्दर्भिक लाग्छ। यहाँका थुप्रै युवा रोजगारीका लागि परदेशिएर, राजनीतिक विभाजनले दिशाहीन भएर, वा व्यक्तिगत विफलतामा गुम्सिएर जीवनप्रति नै विमुख भइरहेका छन्। यस्तै परिवेशमा यो उपन्यासले युवालाई भन्छ –
“तिमी गुमाएको कुरालाई होइन, बाँकी रहेको शक्ति र चेतनालाई हेर।”
यसको सन्देश केवल युवामा मात्रै सीमित छैन। यो समाजप्रति पनि संकेत हो – कि युवा पुस्तालाई यदि सही दिशामा प्रेरित गर्न सकिएन भने, तिनीहरू समाजबाटै विमुख हुन सक्छन्। उपन्यासले यसरी युवाको अवस्था बुझ्न, पीडा स्वीकार्न, अनि त्यसलाई प्रेरणा र परिवर्तनको सारथी बनाउन प्रेरित गर्छ। उपन्यासको यो पंक्तिले युवाहरुलाई अझै झक्झक्याउछ,-
“अँध्यारोले गुमाएका छैनौं हामी, उज्यालोको खोजीमा भौतारिएका हौं।”
उपन्यास यसमा आधारित छ कि जीवनका कष्ट र संघर्षहरूलाई केवल कठिनाइको रूपमा नहेरेर, उनीहरूले हामीलाई जीवनका गहिरा पाठ सिकाउँछन्। यसले परिपक्वता, आत्मचेतना र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गर्छ। उपन्यासको पात्र लिन ताओले जसरी आफ्नो पीडा र समस्यासँग जुध्दै आत्मनिर्णय र विश्वासको मार्गमा अघि बढ्छिन्, त्यसैगरी पाठकले जीवनका कठिन घडीहरूमा आफैंलाई सुदृढ बनाउने शिक्षा लिन्छन्।
याङ मो लेख्छिन् –
“हामी हरेक चोटसँग एक नयाँ पाठ सिक्न सक्छौं, र यही पाठहरूले हाम्रो यात्रा थप मजबूत बनाउँछन्।”
यो भनाइले मेरो आफ्नै जीवन-संघर्षहरूलाई ज्ञान र अनुभवको स्रोत जस्तै अनुभूत बनायो। लिन ताओको यात्रा एउटा आत्मसाक्षात्कारको यात्रा हो, जहाँ उनले जीवनका कष्टलाई केवल बाधा भनेर नहेरी, ती कष्टबाट शिक्षित भएर समाज परिवर्तनका लागि कदम चालेकी छन्। यो एउटा गहिरो सन्देश हो कि प्रत्येक कष्टले हामीलाई जीवनका नयाँ आयामहरूका बारेमा बुझाउँछ।
विश्वविद्यालयका अभिजात वर्ग र क्रान्तिकारी कार्यकर्ताबीच आलोचनात्मक अन्तरक्रिया भयो। उक्त कार्यक्रममा पात्रहरूले एक साझा राजनीतिक विचार प्रस्ट् गर्दै क्रान्तिको दायरा केवल यन्त्रात्मक परिवर्तनभन्दा गहिरो सामाजिक रूपान्तरण तर्फ लैजान आवश्यक रहेको यस्तो निष्कर्षमा पुगे – “हामीले हिजोका शासकहरूलाई उखेलेर मात्रै पुग्दैन, त्यो सोचाइ, त्यो अन्यायपूर्ण व्यवस्था र त्यो श्रम चुस्ने प्रवृत्तिलाई जरैदेखि उखेलेर फ्याँक्नु पर्छ। क्रान्तिको सार सत्ता कब्जा होइन, समाजको मुहार बदल्नु हो।”
लेखिकाले उपन्यासमा एउटा महत्वपूर्ण शिक्षा प्रस्तुत गरेकी छन् –
“जीवनलाई परिभाषित गर्नु भनेको अवसरलाई देख्नु हो, न कि कठिनाइलाई।”
यस्तो दृष्टिकोणले सकारात्मक सोच र समर्पणलाई प्रोत्साहन दिन्छ। उपन्यासले युवाहरूलाई आफ्नो जीवनमा कष्टहरूलाई एउटा अवसरको रूपमा देख्न र त्यसबाट शिक्षित हुने प्रेरणा दिन्छ। लिन ताओको कष्टपूर्ण यात्राले यो कुरा प्रमाणित गर्छ कि जीवनको वास्तविक शिक्षा अनुभवबाट आउँछ, न कि किताबहरूबाट मात्र।
क्रान्तिकारी परिषद्को एउटा गोष्ठीमा लु निङले बोल्दै पुरातन संरचनाविरुद्ध आफ्नो विद्रोहको प्रतिबद्धता देखाउँछिन्,-
“पुरानो समाजले हामीलाई प्रेम गर्न पनि अनुमति दिँदैन, स्वतन्त्र सोच राख्न पनि दिँदैन। यस्तो समाजमा रहनुभन्दा त्यो समाज परिवर्तन गर्ने लडाइँमा म मर्न रुचाउँछु। यो लडाइँ आत्मरक्षा मात्र होइन, नयाँ पुस्ताको सपना हो।”
अन्ततः, “युवाहरूको गीत” उपन्यासले पाठकलाई यो शिक्षा दिन्छ कि जीवनका असफलतासँग डराउने होइन, ती असफलताबाट पाठ सिकेर आफ्नो मार्ग खोज्ने हो। यही शिक्षाले आजका युवा पुस्तालाई आत्मविश्वास, परिश्रम र नयाँ दृष्टिकोण विकासमा मद्दत पुर्याउँछ। जीवनको वास्तविक अर्थ केवल सफलता र विफलता मात्रमा सीमित छैन, बरु ती घटनाले हामीलाई के सिकाउँछन् भन्नेमा छ।
“युवाहरूको गीत” उपन्यासको मूल भाव हो – जीवनको पीडाभित्रै नयाँ चेतनाको जन्म हुन्छ, र त्यस चेतनाले व्यक्तिको आत्मपरिवर्तन हुँदै सामाजिक परिवर्तनतर्फ डोर्याउँछ।