झिमरुकको वार्षिक बजेट !

प्युठानको झिमरुक गाउँपालिकाले वार्षिक बजेट प्रस्तुत गरेको छ । पालिकाले आगमी आर्थिक वर्ष ८२/८३ का लागी ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलवार गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक र पुर्वाधारलाई मुख्य प्राथमिकता दिएर उक्त आकारको बजेट प्रस्तुत गरेका छन्।

गाउँसभाको १८ औँ अधिवेशनबाट गाउँपालिका उपाध्यक्ष पोख्रेलले प्रस्तुत गरेको विनियोजित बजेटमध्ये चालुतर्फ ४१ करोड ४७ लाख ७३ हजार र पूँजीगत तर्फ २१ करोड ५२ लाख २७ हजार रुपैयाँ विनियोजन भएको छ ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशिलता, पर्यटन, प्रविधीमैत्री सार्वजनिक प्रशासन र सुशासन लगायत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड १८ लाख, सशर्त अनुदान (चालुतर्फ) २४ करोड १६ लाख र पूँजीगत ८ करोड ८७ लाख प्राप्त हुनेछ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षभरी कुल ९० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको उपाध्यक्ष पोख्रेलले बताए।

लुम्बिनी प्रदेश सरकारबाट कुल २ करोड ९४ लाख ८ हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ ।

गाउँपालिकाको वडा नम्वर २ कार्यालय भवन निर्माणको लागि ५५ लाख बजेट विनियोजन भएको छ । स्वास्थ्य स्वयमसेविकाहरुको प्रोत्साहन र क्षमता अभिवृद्धीका लागि ४३ लाख ६० हजार बजेट विनियोजन भएको छ । यो सँगै समग्र स्वास्थ्य तथा पोषणको क्षेत्रमा १३ करोड २० लाख रुपैयाँ बजेट छ ।

विभिन्न विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले आगामी आवका लागि १ करोड ५७ लाख बजेट विनियोजन गरेको छ । विनियोजन भएको बजेटलाई बढी भन्दा बढी लक्षित वर्गमा पुर्‍याएर लाभ लिने गरी कार्यान्वयनमा जोड दिइने उपाध्यक्ष पोखे्रेलले बताए ।

गाउँपालिकाको समृद्धिको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बिस्तार गरिने, भौतिक पुर्वाधारका योजनामा गुणस्तर अभिबृदि गर्दै समृद्धि क्षेत्रको पहिचान गर्ने, स्थानीय श्रम, सीप उद्यमशिलता प्रबर्द्धन गर्दै व्यवसायिक कृषि, स्वरोजगारमुलक उद्योग र प्रतिस्पर्धात्मक व्यापारको माध्यमबाट आत्मनिर्भर बनाउने, पर्यटन क्षेत्रमा बिकास र पर्बदन गर्ने, बिकासमा जनतालाई प्रत्यक्ष सहभागिता गराउने, स्थानीय जनताको माग र प्राथमिकताको आधारमा बिकास योजना लिने र काम गर्ने लक्ष्य पालिकाको छ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउदै उत्पादनमा आत्मनिर्भर बनाउने, प्राविधिक शिक्षा र सिपमुलक तामिमको माध्यमबाट स्वरोजगार बनाउने, जनतालाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, सरल र सहज रुपमा न्यायीक निरुपण गर्ने लगायतको उदेश्य पालिकाले लिएको छ ।

गाउँसभामा सभाका सदस्यहरुले बजेटका विषयमा उठाएका प्रश्नको जवाफ पालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले दिनुभएको थियो। उहाँले सबैको समन्वय सहकार्यबाट नै गाउँको बिकास सम्भव हुने बताउनुभयो । जनप्रतिनिधिले गाउँपालिका र जनताको हितमा काम गर्नेतर्फ नै उन्मुख हुनुपर्ने बताए ।

बजेट विनियोजनमा अघिल्लो आर्थिक वर्ष विवाद भएपनि यसवर्ष सौहार्दपूर्ण रुपमा पालिकाले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation