आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान पुन

 

३ साउन, काठमाडौं

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार पार्टीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीको चरित्रबारे लामो चर्चा गर्दै माओवादीका प्रभावशाली नेता पुनले यसअघिबाटै गर्दै आएको यस्तो प्रवृत्ति अहिले पनि जारी रहेको जिकिर गरे ।

पुनको भनाइमा, सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओलीले त्यस्तो कार्य गर्ने गरेका छन् ।

परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि तर्साउने काम गरेको उनले बताए ।

‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैंले लिने कि भन्ने भएपछि अब आरजुका आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ उनले भने ।

उनले नेकपाकालीन बेलामा पनि माओवादीका पुराना नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार पारेर तर्साएरै एमाले भित्र्याएको आरोप पनि लगाए ।

‘नेकपा हुँदा पनि बादलजीको छोराको फाइल तयार गरेर राख्नुभयो । लास्टमा उहाँलाई नै एमालेमा लैजानुभयो,’ पुनले भनेका छन् ।

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे ।

उनले ओलीलाई चरम दक्षिणपन्थी नेता भएको आरोप पनि लगाए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation