बालबालिकाको दृष्टिकोणमा सामाजिक सरोकारबारे कार्यक्रम घोराहीमा हुँदै

६ साउन, दाङ

बालबालिकाको सोच, अनुभूति र आवाजलाई समाजसामु प्रस्तुत गर्न उद्देश्य राखिएको कार्यक्रम “हाम्रो आवाजः हाम्रो सन्देश” आगामी शनिबार घोराहीमा आयोजना हुने भएको छ । सामाजिक संस्था आव्हान, दाङको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम साउन १० गते दिउँसो ३ बजे घोराहीस्थित सर्वोदय पुस्तकालयको हलमा सम्पन्न हुनेछ ।

यस कार्यक्रममार्फत बालबालिकाहरूले सामाजिक सरोकारका विविध विषयहरूमा आफ्ना अनुभव, चिन्तन र सिर्जनात्मक अभिव्यक्तिहरू प्रस्तुत गर्नेछन् । उनीहरूले बालअधिकार, शिक्षा, बालश्रम, लैङ्गिक समानता, दाइजो प्रथा, बिद्यमान शिक्षा प्रणाली , लागू औषध दुर्व्यसन,जलवायु परिवर्तन, डिजिटल पहुँचजस्ता विषयलाई आफ्नै दृष्टिकोणबाट अभिव्यक्त गर्नेछन् ।

आयोजक संस्था आव्हानका अनुसार कार्यक्रमले बालबालिकालाई मात्र होइन, अभिभावक, शिक्षक, र सामाजिक सरोकार राख्ने सबैलाई सोच्न र छलफल गर्न उत्प्रेरित गर्नेछ । संस्थाका प्रतिनिधि प्रमोद धितालका अनुसार, “बालबालिकाको दृष्टिकोण समाज रूपान्तरणको शक्तिशाली आधार हो । उनीहरूको बोलीलाई सुन्ने, बुझ्ने र सामाजिक संवादमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहनेछ भने अभिभावक, शिक्षक, बाल क्लब प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति अपेक्षा गरिएको छ । धितालले यस्ता कार्यक्रमहरू बालबालिकाको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक चेतना विकासका लागि अत्यन्त आवश्यक रहेको बताए। बालबालिकाले सामाजिक विषयमा जे देख्छन्, त्यो उनीहरूको नजरबाट सुन्नु र बुझ्नु समाजको दीर्घकालीन हितमा हुने उनले बताए।

कार्यक्रममा सहभागी हुन आयोजकले सबै अभिभावक, शिक्षक, बाल संरक्षणकर्मी तथा सरोकारवाला निकायहरूलाई हार्दिक आमन्त्रण गरेको छ । “हाम्रो आवाजः हाम्रो सन्देश” कार्यक्रमले बालबालिकाको बोलीलाई समाजभित्रको महत्वपूर्ण संवादमा बदल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation