वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताएका छन्।
‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित अन्तरक्रियामा उनले देशभर करिव १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये आधा भन्दा बढी संस्था अनुमति बिनै सञ्चालनमा रहेका र यस्ता संस्थामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन्।
दाहालले अवैधानिक रुपमा सञ्चालित संस्थाहरू कि दर्ता हुनुपर्ने नत्र बन्द गरिने बताए। उनकाअनुसार अवैधानिक रुपमा सञ्चालित संस्थाहरूका बारेमा सरकार निर्मम रुपमा लाग्नेछ। ९० प्रतिशत संस्थाहरू अवैध रुपमा सञ्चालनमा रहेको उनको भनाइ छ।
शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइरालाले नियमानुसार सञ्चालनमा रहेका संस्थाहरू डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै सहकार्य र संवादमार्फत अघि बढ्नुपर्ने धारणा राखे।
उनले नवीकरणका लागि निवेदन दिइसकेका तर प्रक्रियामा रहेका संस्थाहरूलाई मन्त्रालयले चाँडै निकास दिने जानकारी दिए। कार्यक्रममा विभिन्न शैक्षिक परामर्श संस्था, सरकारी निकायका प्रतिनिधि तथा सरोकार भएकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख शेवन्त कोइरालाले आफूहरूलाई कारबाही गर्ने अधिकार हुन नसक्दा अनुगमन हुन नसकेको बताए। उनका अनुसार गृहमन्त्रालयलाई मन्त्रालयले आग्रह गर्ने गरेको छ।
उनकाअनुसार शैक्षिक परामर्श केन्द्रहरूले राजश्वमा समेत योगदान गर्ने गरेकाले उनीहरूलाई वैधानिक तवरले काम गर्ने वातावरण राज्यले प्रदान गर्नेछ। कार्यक्रममा प्रहरी उपरीक्षक कवित कटुवालले अहिले पछिल्लो समयमा हेर्दा संस्थाहरू अर्काकै नागरिकताबाट प्रयोग हुने गरेको बताए। उनकाअनुसार बैंक खातामा पनि त्यही नागरिकता प्रयोग हुने गरेको पाइएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले वाणिज्य विभागले धेरै अनुगमन गरेर व्यवसायीहरूलाई दुःख दिन नहुने बताए ।उनकाअनुसार निजी क्षेत्र पनि सिस्टममा आउन नचाहने प्रवृत्ति देखिने गरेको छ। संस्था दर्तादेखि समयमै नवीकरण नगर्ने प्रवृत्तिहरू देखिनु हुँदैन। निजी क्षेत्रमाथि सरकारले पछिल्लो समय नियमन धेरै गर्न खोजेको बताउँदै उनले व्यवसायीलाई त्रसित पार्ने वातावरण हुन नहुने बताए।