टप एण्ड टी-२० सिरिजमा नेपालको पहिलो खेल आज एनटी स्ट्राइकसँग

३० साउन, काठमाडौं

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा केन रिचार्डसन छन् ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् । टोलीमा डार्सी शर्ट मुख्य आकर्षण हुन्, जसले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् ।

उनको साथमा जेक वेदराल्ड छन्, जसले सेफिल्ड शिल्डमा उच्च रन बनाउँदै अस्ट्रेलिया ‘ए’का लागि शतकीय इनिङ खेलेका छन् । उनले आगामी एशेजमा टेस्ट डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ ।

त्यस्तै जोर्डन सिल्क टोलीका अर्का स्टार खेलाडी हुन् । तीन पटक बिग ब्यास जितिसकेका उनले आक्रामक शटसँगै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने नाम कमाएका छन् ।

बलिङतर्फ कप्तान केन रिचार्डसन अनुभवी पेस बलरका रूपमा छन् । उनी पनि अस्ट्रेलियाका लागि खेलिसकेका छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation