सार्वजनिक लेखा समितिको बैठक स्थगित !

फाइल तस्वीर

३० साउन, काठमाडौं

कोरम नपुगेर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बस्ने तय भएको बैठकमा एक घण्टासम्म कुर्दा समेत बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यसूची थियो । तर, कोरम नपुगेर बैठक स्थगित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

लेखा समितिका २६ जना सदस्य छन् । कोरमका लागि ५१ प्रतिशत अर्थात् १४ जना सांसद चाहिन्छ । शुक्रबारको बैठकमा १२ जना मात्रै उपस्थित रहे । २ जना सांसद संख्या नपुगेपछि बैठक नै स्थगित हुन पुग्यो ।

सभापति पोखरेल प्रतिनिधिसभाको चालू कार्यकालमा सार्वजनिक लेखा समितिको बैठक पहिलो पटक कोरम नपुगेर स्थगित हुन पुगेको बताउँछन् । अर्को बैठकका लागि फेरि सूचना निकाल्ने गरी बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

बैठकपछि माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भने दुई तिहाइ बहुमतमा रहेको कांग्रेस र एमालेका सांसदहरू नै समितिको बैठकमा अनुपस्थित हुँदा कोरम नपुगेको बताए ।

लेखा समितिमा कांग्रेसका ९ जना सांसद सदस्य रहेका छन् । जसमा अर्जुन नरसिंह केसी, मोहन बहादुर बस्नेत, मन्जु खाँण, चन्दा चौधरी, दिपक गिरी, देव प्रसाद तिमल्सेना, राजेन्द्र कुमार केसी, संजय कुमार गौतम र रामकृष्ण यादव छन् ।

नेकपा एमालेका ७ जना छन् । जसमा सभापति ऋषिकेश पोखरेल सहित सांसदहरू अच्युत प्रसाद मैनाली, योगेश कुमार भट्टराई,  तारा लामा तामाङ, गोकुल प्रसाद बाँस्कोटा, ज्वाला कुमारी साह र  सराज अहमद फारुकी सदस्य रहेका छन् ।

माओवादी केन्द्रका तीन जना अमन लाल मोदी, लेखनाथ दाहाल र जनार्दन शर्मा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना असिम शाह, मनिष झा र हरि ढकाल छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई जना राजेन्द्र लिङ्देन र विक्रम पाण्डे रहेका छन् ।

नेकपा एकीकृत समाजवादीका प्रेम बहादुर आले र स्वतन्त्रसांसद् अमरेश कुमार सिंह सदस्य रहेका छन् ।

यी मध्ये सरकारमा रहेका दल कांग्रेसका ९, एमालेका ७ जना उपस्थित हुँदा मात्रै पनि समितिको बैठक बस्नका लागि कोरम पुग्छ । यही तथ्याङ्क देखाएर प्रतिपक्षी दलहरूले सत्तापक्ष नै समितिको बैठकका लागि तयार नभएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation