यो वर्ष जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु

१७ भदौ, काठमाडौँ 

यो वर्ष पनि जापानी इन्सेफ्लाइटिस (जेई)का कारण २३ जनाको ज्यान गइसकेको छ। डेंगु जस्तै लामखुट्टेको टोकाइबाटै लाग्ने यो संक्रमणको मृत्युदर डेंगुभन्दा धेरै छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार गत जनवरीदेखि हालसम्म देशभर ३ हजार ५८६ जना डेंगुका विरामी भेटिएका छन् तर संक्रमितको हिसाबमा यसबाट हुने मुत्युदर कम रहेको छ। ३५ सय डेंगु संक्रमित भेटिदा यो अवधिमा २ जनाको मृत्यु भएको छ।

तर जेई संक्रमणमा भने यही समय अवधिमा ११३ जना संक्रमित भेटिदा २३ जनाको मृत्यु भएको हो। जनवरी यता ९९७ जना जेईका विरामी भेटिएका थिए। यस अवधिमा तराईका ३६ जिल्लामा फैलिएको जेई फैलिएको छ।

जेईबाट मृत्यु हुनेमा सबैभन्दा धेरै युवा उमेर समूहका

जेईबाट मृत्यु भएका मध्ये २३ जनामध्ये सबैभन्दा बढी ४० वर्षमाथिका छन्।

तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको विवरणमा उल्लेख गरिएको छ।

प्रदेश स्तरमा हेर्दा यो वर्ष जेईबाट सबैभन्दा धेरै मृत्यु लुम्बिनी प्रदेशमा भएको छ।

लुम्बिनी प्रदेशमा ८ जनाको मृत्यु भएको छ। जसमा नवलपरासी पश्चिममा २, अर्घाखाँची, रूपन्देही, प्यूठान, दाङ, बाँके र बर्दियामा एकएकजना जेई संक्रमितको मृत्यु भएको छ।

यस्तै बाग्मती र गण्डकीमा चार-चारजनाको मृत्यु भएको छ। यसमध्ये चितवनमा ३, नवलपरासी पूर्वमा ३, स्याङ्जा र सिन्धुली मा एकएकजनाको मृत्यु भएको छ।कोशी प्रदेशमा तीनजनाको मृत्यु भएको छ। तेह्रथुम, झापा र मोरङ जिल्लाका एक-एकजना संक्रमित हुन्। रौतहटमा २,  कैलालीमा एकजना संक्रमितको मृत्यु भएको छ।

सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो। त्यसैगरी २०२४ मा ८६ जना संक्रमित भेटिदा २५ जनाको मृत्यु भएको थियो। यस्तै गरी २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो।

जेई संक्रमण खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा नेपालमा सामान्य र नियन्त्रणमा राख्न सकिने रोगबाटै हुने मृत्युको संख्या बढ्नु जनस्वास्थ्यको हिसाबले चुनौतीको विषय रहेको देखिएको छ।

सरकारी तथ्यांकअनुसार नेपालमा जापानी इन्सेफ्लाइटिस करिब ४६ वर्षअघि महामारीको रूपमा पहिलोपटक नेपालमा रूपन्देहीमा देखिएको थियो।

के हो जापानी इन्सेफ्लाइटिस ?

खोप शाखा प्रमुख डा. गौतमका अनुसार जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप लगाउनु र लामखुट्टेको टोकाइबाट बच्नु नै सुरक्षाको सबैभन्दा राम्रो उपाय हो। खोप लगाउँदा यस रोगबाट बच्न सक्ने ९९ प्रतिशत सम्भावना हुन्छ।

नेपालमा बालबालिकामा लगाइने खोपमध्ये जेई खोप पनि एक हो। नेपालमा पनि यसविरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा खोप लगाइँदै आइएको छ।

यस्तै वेला वेलामा संक्रमण देखिदा विशेष खोप अभियान समेत सञ्चालन हुँदै आएको छ तर यो खोप लगाएको १० दिनपछि मात्रै काम गर्ने हुँदा संक्रमण देखिएपछि उक्त क्षेत्रमा खोप अभियान चलाउनुभन्दा नियमित खोप तालिका अनुरूप नै बालबालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउनु उपयुक्त हुने खोप शाखा प्रमुख डा. गौतमले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जापानी इन्सेफ्लाइटिस एसियाका धेरै देशमा भाइरल इन्सेफ्लाइटिसको मुख्य कारण हो। यसमा प्रत्येक वर्ष अनुमानित १ लाख विरामी हुने गरेका छन्।

जापानी इन्सेफ्लाइटिस भाइरस डेंगु, यलो फिभर र वेस्ट नाइल भाइरससँग सम्बन्धित फ्लेभिभाइरस हो र यो लामखुट्टे (विशेष गरी क्युलेक्स ट्राइटेनियरहिन्चस) द्वारा फैलिन्छ। यद्यपि लाक्षणिक जापानी इन्सेफ्लाइटिस दुर्लभ छ तर इन्सेफ्लाइटिस भएकामा मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ। स्थायी न्यूरोलोजिक, संज्ञानात्मक र व्यवहारिक परिणाम इन्सेफ्लाइटिस भएकामध्ये ३० देखि ४० प्रतिशतमा हुन्छ।

डब्लुएचओका अनुसार एउटा अध्ययनको अनुमानअनुसार वर्षेनि विश्वभरीमा यसका एक लाख विरामी हुन्छन् र त्यसमा करिब २५ हजारको मृत्यु हुन्छ। यो संक्रमणले मुख्य रूपले बालबालिकालाई प्रभावित गर्छ तर जुनसुकै उमेर व्यक्ति यो स‌ङ्क्रमणबाट प्रभावित हुन सक्छ।

डब्लुएचओका अनुसार धेरै यसको संक्रमण लक्षणमा हल्का ज्वरो र टाउको दुखाइ वा स्पष्ट लक्षणबिना हुन्छन्।

यो संक्रमण गराउने ‘फ्लेवी’ भाइरस सुँगुर र पानीमा बस्ने चरामा पाइन्छ। जेई भाइरसबाट स‌ङ्क्रमित हाँस, कुखुरा, चराचुरुङ्गी एवं बंगुर, सुँगुरजस्ता जनावरलाई लामखुट्टेले टोक्दा उक्त लामखुट्टे सङ्क्रमित हुन्छ। यस्ता स‌ङ्क्रमित लामखुट्टले टोक्दा यो संक्रमण देखिने गर्छ।

था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation