पहिलो टी-२०आई खेल्दै नेपाल र वेस्ट इन्डिज

 

११ असोज, काठमाडौं

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ ।

यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताए ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।

होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation