
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले असोजको दोस्रो हप्ता काठमाडौँ आएका थिए । सोही क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग विप्लवले भेटेका थिए । असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा उनले दुईवटा सर्त राखिएको बुझिएको छ ।
पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिनेगरी सहमति गर्नुपर्ने रहेको छ । विप्लवको सर्तमा प्रचण्ड सहमत नभएको बुझिएको छ । तर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा सकारात्मक देखिएका समाजवादी मोर्चाका एक नेताले जिकिर गरे ।
‘समाजवादी मोर्चासँग एकता गर्ने विषयमा गम्भीर छलफल भयो । प्रचण्डजीसँग भएको छलफलमा विप्लवजीले नेतृत्वमा रहेका सबैलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने र एकता महाधिवेशनमा नेतृत्व दिने सम्बन्धमा सहमति हुनुपर्ने सर्त राख्नुभएको छ’, रातोपाटीसँग ती नेताले भने, ‘पार्टी एकताको विषयमा पार्टीबाट निर्णय गर्छौँ भन्नुभएको छ । एकताका लागि सकारात्मक पहल भएपनि निष्कर्षमा पुगेको छैन । उहाँले कस्तो निर्णय गर्नुहुन्छ, पार्टीको निर्णय कुरौँ ।’
विप्लवले पनि नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको बताइसकेका छन् । जेनजी विद्रोहले यसको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको अवस्थामा कहिलेकाहीँ नेतृत्वको बन्धन बन्ने गरेको उनले सार्वजनिक रुपमा नै धारणा सार्वजनिक गरेका थिए । अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शंका नरहेको प्रष्ट पारेका थिए ।
संक्रमणकालीन अहिलेको अवस्थामा प्रचण्ड, माधव र विप्लवलाई संयोजक बताएर एकता गर्नेगरी तीन पार्टीले विभिन्न मोडेलमा छलफल तीव्र पारेका छन् । माओवादी नेता गिरिराजमणि पोखरेलले पार्टी एकताको विषय नेकपासँग भन्दा एकीकृत समाजवादीसँग सकारात्मक रहेको बताए ।
‘पार्टी एकताको विषयमा नेकपासँग भन्दा एकीकृत समाजवादीसँग तीव्र गतिमा अगाडि बढेको छ । अहिले दुवै पार्टीको आन्तरिक बैठक चलिराखेको हुनाले उहाँहरूको निर्णय आएपछि हाम्रो पार्टीको बैठक बस्छ । समाजवादी मोर्चालाई नै एकता गर्ने गरी सकारात्मक पहल भइरहेको छ’, पोखरेलले भने ।
नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले वामपन्थी दलहरूबिच एकता र ध्रवीकरणको विषयमा केन्द्रीय समिति बैठकको एजेन्ड रहेको जानकारी दिए । जेनजी विद्रोहपछिको विशेष परिस्थितिमा नयाँ विचार, संगठन र कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा बैठकले निर्णय गर्ने स्पष्ट पारे ।
‘पार्टी एकता र ध्रुवीकरणको विषयमा हामीले एजेन्डा बनाएका छौँ । पार्टीले पहिल्यैदेखि माओवादीसँग मात्र होइन, विचार मिल्ने वामपन्थी दल र विचार समूहसँग एकता तथा ध्रुवीकरण गर्ने विषयमा निर्णय गरिसकेको छ’, उनले भने, ‘नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने सवालमा नेतृत्वको दाबी स्वाभाविक रुपमा हुन्छ । तर एकताबारे केन्द्रीय समितिले निर्णय गर्ने हुँदा भोलि (सोमबार)सम्म एउटा ठोस निष्कर्ष निस्केला । अहिले केही निर्णय भएको छैन ।’
नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको छ । सदस्यहरूमा विरही र अर्का स्थायी समिति सदस्य कर्णजित बुढाथोकी छन् ।
यता माओवादीको असोज ९ र १० गतेको केन्द्रीय समिति बैठकले नेकपा लगायत समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । बुधबार प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र वर्षमान पुन बसेर एकताको मोटामोटी खाका तयार पारिएको बुझिएको छ । एकीकृत समाजवादी र नेकपाले सकारात्मक निर्णय गरेमा कात्तिक दोस्रो हप्तासम्म अन्तिमरुप दिने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
यद्यपि एकीकृत समाजवादीभित्र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकताको विपक्षमा उभिएका छन् । श्रीमतीको उपचारका लागि भारतमा रहेका नेता खनालले ‘कुबेलाको सहनाई नबजाउन’ भन्दै लिखित आग्रह गरेका छन् । नेकपासँग एकताको वातावरण बनाउन प्रचण्डले नेता जनार्दन शर्मासँग पनि परामर्श लिएको बुझिएको छ । बिहीबार शर्मालाई आफ्नै निवासमा बोलाएर उनले छलफल गरेका थिए । छलफलको क्रममा शर्माले आफू एकताको विपक्षमा नरहेको बताएको स्रोतको दाबी छ ।
‘प्रचण्डले विप्लवलाई पार्टीमा ल्याउनुपर्यो भनेर जनार्दनजीसँग भन्नुभएको रहेछ । जवाफमा उहाँले विप्लवले के मागेका हुन् दिए आइहाल्नुहुन्छ नि । पार्टी एकताको विपक्षमा छैन भनेर भन्नुभयो’, स्रोतले भन्यो ।
समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न सहमति देखिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद राख्न सहमत भएका छन् । रणनीतिक कार्यदिशा नेपाली विशेषताको वैज्ञानिक समाजवादमा एकमत देखिएका छन् । संगठनात्मक स्वरुप अध्यक्षतात्मक प्रणाली अपनाउने कि महासचिव प्रणालीमा जाने भन्ने विषयमा सहमति जुटिनसकेको नेताहरूले बताएका छन् ।
माओवादी, एकीकृत समाजवादी, नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि तीव्रता दिइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लगायतसँग मोर्चा बनाएर जाने विषयमा पहल भइरहेको छ ।