सिंहदरबारदेखि सडकसम्म : परिवर्तनको नाममा कसले जलायो देश ?

नेपाल फेरि पनि एक निर्णायक मोडमा पुगेको छ।
देशको राजनीतिक राजधानी काठमाडौं लगायत अन्य गल्लीहरूमा धुवाँ छायो । सिंहदरबार धुवाँले ढाकियो, सर्वोच्च अदालत जलेर खरानी भयो, नेताका निवासहरू आक्रोशको निशान बने। देशको शक्ति–केन्द्र मात्र होइन, जनताको विश्वास पनि जलेर खरानी भयो। भीड र अश्रुग्यासबीच चलिरहेको यो परिवर्तनको आगोले देशलाई फेरि प्रश्नको भुमरीमा फ्याँकेको छ । के यो जनताको क्रान्ति हो.? वा कसैको योजना अनुसारको दृश्य राजनीति ? सडकमा उर्लिएका युवाहरूले अब पुरानो नेपाल होइन भन्ने नारा लगाइरहेका छन्। उनिहरू हातमा मोबाइल र मस्तिष्कमा डिजिटल ऊर्जा बोकेका छन्। यी युवा पुस्ता Gen Z जसले पुराना नीतिहरू, दलहरू र नेताहरूमा विश्वास गुमाइसकेका छन्। तर यही जोश, यही असन्तुष्टि र यही ऊर्जा अहिले कसैको खेलको उपकरण बन्दै गएको संकेतहरू बढ्दै गएको देखिन्छ।

नेताहरुको घर जले, सिंहदरबार जले, अदालत जले तर देश चलाउने सोच भ्रष्टाचार, सत्ता,लोभ र पद केन्द्रित राजनीति अझै बाँकी छ। हजारौं युवाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेका छन् । अब नयाँ युग सुरु भयो। तर बास्तवमा नयाँ युग सुरु हुन्छ जब प्रणाली फेरिन्छ, न कि केवल भवन र अनुहार बदलिन्छ। नेपालमा पछिल्ला तीन दशकको लोकतन्त्रले जनतालाई भाषण त दियो, तर स्थायित्व र विश्वास दिन सकेन। जनताले बारम्बार भोट दिए, नेताहरूले बारम्बार वाचा तोडे।
अब त जनताको सहनशीलता सकियो। तर आक्रोश र विध्वंसबीचको रेखा सधैं खतरा हुन्छ। त्यो रेखा पार गरियो भने, आन्दोलन जनताको होइन । कसैको योजना बन्छ। Gen Z नयाँ पुस्ताको प्रतीक। उनीहरू देशभक्त छन्, विद्रोही छन्, र स्वप्नदर्शी पनि। तर यो पुस्ता डिजिटल संसारमा हुर्किएको पुस्ता हो जसले तथ्यभन्दा पहिले ट्रेन्ड देख्छ, र खबरभन्दा पहिले हैशट्याग पढ्छ।आन्दोलनले यो पुस्ताको क्रान्ति देखायो, तर साथसाथै त्यसले एउटा प्रश्न पनि जन्मायो , के यी युवा आफ्नै माटोका लागि लडेका छन्, कि कसैले लेखेको स्क्रिप्ट निभाइरहेका छन्? विदेशी फाउन्डेसनहरू, एनजिओहरू, र अन्तर्राष्ट्रिय सञ्जालहरूले यी आन्दोलनका नाराहरूमा आफू अनुकूल शब्दहरू थपेका छन्। सिस्टम अपग्रेड, ग्लोबल डेमोक्रेसी मूभमेन्ट, न्यू राइजिङ नेपाल जस्ता शब्दहरू सुन्नमा आकर्षक लाग्छन्, तर भित्रभित्रै
त्यो विदेशी हितका योजना हुन्। देशको आन्तरिक असन्तुष्टिलाई विदेशी थिंक–ट्यांकहरूले आफ्नो परियोजनामा रूपान्तरण गर्न थालेका छन्। युवाहरूको आक्रोश, उनीहरूको डिजिटल क्षमता, र परिवर्तनप्रतिको चाहनालाई बाह्य स्वार्थले प्रयोग गर्न खोजिरहेको संकेत स्पष्ट छ।

नेपालमा परिवर्तनको नाममा हरेक दस वर्षमा नयाँ आन्दोलन हुन्छ। तर प्रत्येक आन्दोलनपछि जनताका सपना सत्ताको कुर्सीमा थिचिन्छन्। २०१७ सालमा प्रजातन्त्र आयो, २०४६ मा बहुदल, २०६२/६३ मा गणतन्त्र — तर जनताको जीवनमा खासै केही फरक आएन। त्यसैले यो पुस्ताले भनेको छ अब पुरानो सोच चाहिँदैन। तर जब सोचको विकल्प पनि विदेशले लेखिदिन्छ, त्यो क्रान्ति होइन, निर्देशनमा भएको नाटक मात्र हुन्छ। साँच्चिकै परिवर्तन चाहिन्छ भने, देशको प्रणालीभित्र नै सुधार गर्नुपर्छ । न्यायपालिका स्वतन्त्र बनाउने, शिक्षा र स्वास्थ्यलाई समान बनाउने,र भ्रष्टाचारलाई कानुनी रूपमा अन्त्य गर्ने। तर अहिले भइरहेको आन्दोलनमा यी विषय गुमेका छन्।
सडकमा नाराहरू छन्, तर नीतिको खाका छैन। जोश छ, तर दिशा छैन। नेपालको राजनीति सधैं ‘दाताको छायाँमा चलेको छ।आज पनि धेरै एनजिओ र अन्तर्राष्ट्रिय संस्था देशभित्र नीति र विचार निर्माणमा प्रभाव राखिरहेका छन्।
त्यो प्रभाव अहिले ‘Gen Z आन्दोलन’ मार्फत पुनः सक्रिय भएको देखिन्छ। अन्तर्राष्ट्रिय मिडियाले यस आन्दोलनलाई युथ लिबरेशन मूभमेन्ट भनेर प्रचार गरिरहेका छन्।तर प्रश्न उठ्छ किन ती मिडियाले यो आन्दोलनका राजनीतिक, आर्थिक र सामाजिक नतिजाबारे मौन छन्? त्यो मौनता संयोग होइन।
त्यो उनीहरूको हितसँग जोडिएको छ। नेपालको अस्थिरता केही शक्तिशाली राष्ट्रहरूको लागि अवसर हो । यहाँको बजार, स्रोत, र रणनीतिक स्थानमा नियन्त्रण कायम राख्ने। त्यसैले आन्दोलन विदेशी एजेन्डाको सिँढी नबनोस् भन्ने चेतावनी गम्भीर रूपमा लिनुपर्ने बेला भइसकेको छ।

नेपालका पुराना नेताहरूको असफलताले नै यो आगो बलाएको हो। भ्रष्टाचार, परिवारवाद, र सत्तालिप्साको कारणले जनतामा वितृष्णा फैलिएको छ। तर नेताहरूले त्यो असन्तोष बुझ्न सकेनन्, बरु उनीहरूले आन्दोलनलाई पनि विदेशी खेल भन्दै बेवास्ता गरे। यही बेवास्ताले आन्दोलनलाई अझ भड्कायो। देशका युवाहरूले अब कसैमा विश्वास छैन भनेका छन्।
तर यो अविश्वास नै सबैभन्दा खतरनाक अवस्था हो । जहाँ न नेतामा विश्वास रहन्छ, न प्रणालीमा। त्यसपछि जनताले हिंसालाई समाधान ठान्छन्, जुन कहिल्यै स्थायी परिवर्तन ल्याउँदैन । परिवर्तन भवन जलाएर होइन, भ्रष्ट विचार र सोच जलाएर हुन्छ। सिंहदरबार जल्दा केही घण्टाको सन्तुष्टि मिल्ला, तर सोच नबदलिँदा फेरि त्यही भत्केको ढाँचा अर्को स्वरूपमा फर्किन्छ। साँचो सुधार भनेको पारदर्शिता, जवाफदेहिता र नीति–केन्द्रित राजनीति हो। युवा पुस्ताले यो बुझ्न जरुरी छ । आन्दोलनको अन्त्य विध्वंस होइन, निर्माण हुनुपर्छ। देश बनाउने भनेको उर्लने होइन, उभिने हो। नारा होइन, नीति चाहिन्छ। र त्यो नीति देशभित्रै बनाउनु पर्छ, विदेशको आदेशमा होइन।

नेपालको सडकमा बलिरहेको आगो के परिवर्तनको प्रतीक हो, वा नयाँ विनाशको चेतावनी त्यो समयले बताउनेछ। तर एउटा कुरा निश्चित छ,यदि यो आन्दोलनले विदेशी एजेन्डाको बाटो लियो भने, हाम्रो स्वतन्त्रता फेरि पनि उधारो हुनेछ। देश बनाउने हात युवाका हुन्,
तर निर्देशन आफ्नै माटोले दिनुपर्छ। परिवर्तनको नाममा फेरि बेचिनु हाम्राे नियति होइन। हामीले अब परिवर्तन होइन, स्वाभिमान खोज्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation