१५ मंसिर, विराटनगर
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको रक्षा र विकासका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गर्न आग्रह गरेका छन्। विराटनगरमा आयोजित एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र अझै पनि संकटमुक्त नरहेको भन्दै चिन्ता व्यक्त गरे।
प्रचण्डले भदौ २३ गतेको जेन्जी आन्दोलनले सबैलाई झकझक्याएको र आत्मसमीक्षा गर्न प्रेरित गरेको बताए। तर, २४ गते भएको विध्वंसले देशका ऐतिहासिक धरोहरहरू खतरामा परेको र दुई दिनसम्म ‘नेपाल रहने हो कि नरहने हो’ भन्ने त्रासदिपूर्ण वातावरण सिर्जना भएको स्मरण गरे।
सम्बोधनका क्रममा प्रचण्डले देशको रक्षाका लागि केवल सेना र प्रहरीको भर पर्नु पर्याप्त नहुने बताए। भदौ २४, २५ र २६ गतेका घटनाक्रमलाई उदाहरण दिँदै उनले भने, ‘सेनाले चाहेर पनि ऐतिहासिक धरोहर बचाउन सकेन, केही क्षणका लागि राज्य नै विहीनजस्तो अवस्था बन्यो। यसले पुष्टि गर्छ कि जनताको आत्मनिर्णय र रक्षाका निम्ति बर्दीधारी फौज मात्र पर्याप्त हुँदैन।’
भू-राजनीतिक अवस्थाबारे बोल्दै उनले ठूला राष्ट्रहरूसँग लड्नका लागि नेपाललाई सैन्य शक्ति बनाउने परिस्थिति नरहेको स्पष्ट पारे। ‘हामीसँग तीन करोड नेपाली जनताको शक्ति छ, यही नै हाम्रो राष्ट्रिय फौज हो,’ उनले भने, ‘यदि जनताले नै फौज बन्ने संकल्प नगर्ने हो भने नेपालको सुरक्षा चुनौती सामना गर्न सकिँदैन। जनता जागे भने जस्तोसुकै ठूलो शक्ति पनि परास्त हुन्छ।’
वर्तमान सरकार गठनमा आफूहरूको भूमिका रहेको बताउँदै संयोजक प्रचण्डले तोकिएकै मितिमा निर्वाचन गर्न सरकारलाई सुझाव दिए। उनले आउने निर्वाचन निष्पक्ष र सही ढंगले हुनुपर्नेमा जोड दिए। कृषि, शिक्षा, स्वास्थ्य र उद्योगमा क्रान्ति गर्ने ढंगले अगाडि बढ्न आग्रह गर्दै उनले स्थानीय तहबाटै समाजवादको बीउ रोप्न तयार रहन अपिल गरे।
पार्टी र नेतृत्वको सन्दर्भमा बोल्दै उनले विचार कहिल्यै बुढो वा तन्नेरी नहुने, बरु सही वा गलत हुने बताए। ‘वृद्धहरूलाई पाखा लगाउनु भनेको अनुभवलाई हटाउनु हो, र युवाहरूको उत्साहलाई पनि मार्नु हुँदैन,’ उनले भने, ‘समाज खल्बल्याउने काम नगरी सबैको भूमिकालाई सम्मान र संयोजन गरेर अघि बढ्नुपर्छ।’
















