एनपीएल सिजन-२ : आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

 

२७ मंसिर, काठमाडौं

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।

फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।

यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

 

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।

यस्तो छ लय

 

लिग चरणमा लगातार ६ खेल जितेर शीर्षस्थानमा फिनिस गर्ने पक्का गरेको सुदूरपश्चिम लिगको अन्तिम खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । त्यसपछि फेरि पहिलो क्‍वालिफायरमा विराटनगर किङ्सलाई नै पराजित गर्‍यो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ ।

लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ । त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation