एमाले महाधिवेशन : उमेदवारी दर्ता आज हुने

२९ मंसिर, काठमाडौं

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत आज उमेदवारी दर्ता हुने भएको छ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ।

१० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ। १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ।

बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ।

दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

निर्वाचन कार्यतालिकाअनुसार, पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदानपछि मतगणना हुनेछ।

निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ। यसपछि प्रमाणपत्र वितरण र शपथग्रहण हुने निर्वाचन कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation