पुस १ लाई किन भनिन्छ ‘कालो दिन’ ?

१ पुस, काठमाडौँ 

पुस १ गते अर्थात् नेपालको पहिलो जननिर्वाचित सरकारमाथि ‘कू’ भएको दिन। प्रजातन्त्रवादीले यो दिनलाई  ‘कालो दिन’ मान्छन्।

तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा पुस १ कै दिन प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेका थिए। यही दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई ‘शाही’ सेनाको बलमा नियन्त्रणमा लिई उनले व्यवस्था नै उल्ट्याइदिए।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका वेला तत्कालीन प्रधानमन्त्री कोइरालासहितका नेताहरूलाई गिरफ्तार भएका थिए। उनीहरूलाई तीन महिना सिंहदरबारमा राखियो। त्यसपछि सुन्दरीजलमा बन्दीका रूपमा राखियो। यो जेलमा बीपीले आठ वर्ष बिताए। उनीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो।

२००७ सालमा १०४ वर्षे जहानिया राणाशासन फालेर ल्याएको प्रजातन्त्र नेपालीका लागि नौलो थियो। विभिन्न प्रयोग भइरहेको थियो। नेताहरू जनअपेक्षाभन्दा आफ्ना स्वार्थपूर्तिप्रति केन्द्रितथियो। अराजकता बढिरहेको थियो। यिनै विषयमै टेकेर महेन्द्रले नेपालमा बहुदलीय व्यवस्था अनुपयुक्त रहेको ठहर गरेका थिए।

तर कतिपयले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी र दूरदर्शी राजनीतिज्ञका रूपमा लिने गरेका छन्। मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभाव हटाई सार्वभौमिकता जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरू पनि छन्। महेन्द्रले  पुस १७ को कदम चलालेको भए यति वेलासम्म नेपाल भारतको अधीनस्थ भइसक्ने कतिपयको तर्क छ।

पञ्चायती व्यवस्था ल्याएपछि महेन्द्रले जंगबहादुरका पालाको मुलुकी ऐन परिमार्जन गरी २०२० सालमा जातीय भेदभाव र छुवाछुतलाई गैरकानूनी घोषणा गरे। ०२१ सालमा भूमिसुधार योजना लागु गरे। यस्तै पूर्वपश्चिम राजमार्ग बनाउन लगाए। पहाडी र मधेशीबीच सद्भाव बढाउन भन्दै पहाडका मानिसलाई मधेशमा बसोबासको व्यवस्था मिलाए। आफैँ कवि रहेका उनी कला, साहित्यको विकासका लागि पनि सक्रिय रहे। भारतको आसाम र दार्जिलिङमा नेपाली भाषा-साहित्य र संगीतमा सक्रिय रहेका मूर्धन्य व्यक्तिलाई नेपाल बोलाएर यहीँ बस्ने वातावरण मिलाए।

तर, लोकतन्त्रवादी भने महेन्द्रले अवलम्बन गरेको राष्ट्रवादलाई ‘मण्डले’ को संज्ञा दिन्छन्। उनले लाेकतान्त्रिक सरकारमाथि ‘कू’ नगरेको भए अहिलेसम्म नेपालको अवस्था धेरै माथि भइसक्ने तर्क उनीहरू गर्छन्।

२०२८ सालमा उनको निधन भयो। त्यसपछि छोरा वीरेन्द्र राजा भए। नेपालमा प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रम बढ्यो। वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह त गराए तर निर्दलीय व्यवस्थाकै जीत भयाे। नेपाली जनता थप १० वर्ष निर्दलीय व्यवस्था झेल्न बाध्य भए।

कांग्रेस र संयुक्त वाममोर्चाको सहकार्यमा भएको जनआन्दोलनले अन्तत: पञ्चायती व्यवस्था ढालेरै छाड्यो। २०४६ चैत २६ गते निर्दलीय व्यवस्था ढलेर प्रजातन्त्र पुन:स्थापना भयो।  क्यान्सरका कारण २०३९ साउनमा निधन भएकाले बीपीले भने प्रजातन्त्र पुन:स्थापना भएको देख्न पाएनन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation