१० पुस, दाङ
प्रगतिशील कवि, समालोचक तथा साहित्यकार डा. अमर गिरीका दुई कृतिको बिहीबार दाङमा गृह विमोचन गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द र संवाद’ निबन्ध सङ्ग्रहको बिहीबार एकैसाथ सर्वाेदय पुस्तकालय तथा बाचनालयमा विमोचन गरिएको हो ।
विमोचित कविता सङ्ग्रह रातमा कलमको समीक्षा अग्रज साहित्यकार, कवि एवम् समालोचक डा. टीकाराम उदासीले र निबन्ध सङ्ग्रह समय, शब्द र संवादको समीक्षा लेखक, विश्लेषक तथा राजनीतिज्ञ शशिधर भण्डारीले गरेका थिए ।
कविता सङ्ग्रहको समीक्षा गर्दै डा. उदासीले झण्डै ५ दशकदेखि साहित्यका विभिन्न विधामा कलम चलाइरहेका डा. गिरीका सबैखाल साहित्यीक कृति तथा कवितामा समाज, प्रकृति, जीवन, दर्शन र वर्गसंघर्षका विषय सशक्त रूपमा समेटिएको उल्लेख गरे । उदासीले गिरीका कविताले नेपाली समाजमा व्याप्त गरिबी, विचारविहिनता, अशिक्षा, बेराेजगारीले सिर्जना गरेकाे विकराल स्थिति आउनु भनेकाे नेपालकाे राजनीतिक मार्ग गलत ठाउँमा प्रवेश भएको निष्कर्ष निकालेकाे बताउँदै यसकाे सहि निकास र उचित समाधानमा साहित्यकारहरु पनि एक भएर सशक्त आवाज निकाल्न जरुरी भएको भाव व्यक्त गरे । अमर गिरीका हरेक सिर्जनाले प्रगतिशील साहित्यिक पथ समातेकाेले अभाव र थिचाेमिचाेमा परेका पीँधका मानिसकाे भोगाइ र संघर्षलाई प्रतिनिधित्व गर्छन् ।
यसैगरी, निबन्ध सङ्ग्रह ‘समय, शब्द र संवाद’ को समीक्षा गर्दै शशिधर भण्डारीले डा. गिरीका निबन्धहरूको मूल हृदयतत्व विचारको सुस्पष्टता भएको बताए ।
विषय चयनमा सचेत र सीमाबद्धता, सिद्धान्तमा स्पष्ट पक्षधरता तथा चिन्तनमा गम्भीरता उनका निबन्धका प्रमुख वैशिष्ट्य भएको भण्डारीको भनाइ थियो ।
कला, कविता, साहित्यिक चिन्तन, समालोचना, प्रतिरोध–चेतना, सांस्कृतिक रूपान्तरण, बजारवाद र उपभोक्तावादजस्ता समसामयिक तथा बहुआयामिक विषयक्षेत्र समेटिएकाले यस सङ्ग्रहले नेपाली निबन्ध परम्परामा सशक्त वैचारिक हस्तक्षेप गर्ने विश्वास उनले व्यक्त गरे । भण्डारीले गिरीकाे निबन्धले नेपाल तथा विश्व राजनीति अस्तव्यस्तताकाे मसिनाे विवेचना गरेकाे भएपनि सारा अस्तव्यस्तताकाे वैज्ञानिक समाधानकाे विकल्प दिन नसकेकाे बताए । उनले गिरी आफै ॐ शब्दकाे विराेध गर्ने भएपनि कैयौं ठाउँमा “सत्यम् शिवम् सुन्दरम्” लेखिनु स्वयम् दृष्टिकोणमा विराेधाभाष सिर्जना गरेकाे पनि बताएका छन् ।
कुशल समालोचक एवम् साहित्यकार गिरीका यसअघि घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौँ, दुःसाध्य समय, शब्दहरूका बीचमा र समय संवाद कविता सङ्ग्रहका साथै समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, काव्य विमर्श, कवितामा वर्गद्वन्द्व आदि समालोचना कृति प्रकाशित छन् ।
अन्तर्ध्वनि , कलम, कविता, भृकुटी आदि पत्रिकाको सम्पादनसमेत गरेका डा. गिरीका दर्जनौं अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् ।
कार्यक्रममा अग्रज पत्रकार एवम् शताब्दी पुरुष नारायण प्रसाद शर्मा, सरवाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष शुसील गाैतम तथा लेखक डा. अमर गिरीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा मन्तव्य राख्दै साहित्यकार अमर गिरीले समालोचना अत्यन्तै अप्ठ्यारो विधा भएकोमा आफू जानकार भएको बताउँदै आफ्नो कृतिमाथि समालोचनात्मक टिप्पणी राख्नुहुने द्वै शशिधर भण्डारी र टिकाराम उदासीप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे साथै आफूलाई निरन्तर साहित्यमा लाग्नको निम्ति ऊर्जा, उत्प्रेरणा र हौसला प्रदान गर्नको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण अग्रज श्रष्टा एवं साहित्यकारहरूप्रति एकमुष्ट धन्यवाद ज्ञापन गर्दै आफू निरन्तर प्रगतिशील साहित्य खेमामा आजीवन लागिराख्ने उनले आफ्नो धारणा व्यक्त गरे
सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा गुरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृतिमाथि विभिन्न काेणबाट समीक्षात्मक चर्चा गरिएको थियो । कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले गरेका थिए ।
















