आगामी निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

१३ पुस, काठमाडौं

नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।

समाजिक सन्जाल फेसबुकमा आज उनले लेखेकी छन्, ‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु ।’

तत्कालीन माओवादीबाट दुईपटक प्रत्यक्ष निर्वाचित भएर मन्त्री समेत बनिसकेकी भुसालले अब त्यो अनुभवलाई पार्टीमा उपयोग गर्ने बताएकी छन् । ‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’

उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।

तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने उनी एक्ली महिला उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार तोसिमा कार्कीसँग पराजित भएकी थिइन् ।

हेर्नुहोस उनले फेसबुकमा लेखेको स्टाटस-

अभिबादन सबैलाई ।

फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन् । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद ! तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेद्वार हुँ। त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो। आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।

यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु। म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।

यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation