१९ पुस, तुलसीपुर, दाङ
तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ।
कार्यक्रमअन्तर्गत ‘शब्दको अर्थ, शब्दमा अर्थ’ शीर्षकमा चर्चित लेखक सुबिन भट्टराई र साहित्यकार विमल आचार्यबीच गहन संवाद सम्पन्न भयो। उक्त सत्रमा शब्द, भाव, साहित्यको सामाजिक प्रभाव र पाठकसँगको सम्बन्धबारे सारगर्भित विचार आदान–प्रदान गरिएको थियो।
त्यसैगरी ‘पानादेखि पर्दासम्म’ शीर्षकको सत्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य र वसन्त आचार्यबीच साहित्य, रंगमञ्च र चलचित्रबीचको सम्बन्ध, सिर्जनात्मक यात्राका अनुभव तथा समाजमा कलाको भूमिकाबारे चर्चा गरिएको थियो। सहभागीहरूका लागि यो सत्र निकै प्रेरणादायी बनेको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा हरिवंश आचार्य र सुबिन भट्टराईद्वारा पुस्तक हस्ताक्षर कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुस्तक हस्ताक्षरका क्रममा पाठकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
तुलसीपुर रिडर्स क्लबले यस्ता साहित्यिक कार्यक्रममार्फत पठन संस्कृतिको प्रवर्द्धन र सिर्जनात्मक संवादलाई निरन्तर अघि बढाउने जनाएको छ।














