२२ पुस, दाङ
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा चुनावलाई सशक्त रुपमा बहिष्कार गर्ने जनाएको छ। यथास्थितिमा हुने कुनै पनि खाले निर्वाचनले नयाँ प्रकारका जेलेन्स्किहरु र राष्ट्रघातीहरू नै जन्माउने निष्कर्ष सहित मुलुकको खास समस्याहरूको हल गर्ने ठोस आधारहरू तयार नहुँदासम्म निर्वाचनमाथि निर्वाचन थोपरेर मात्रै मुलुकले निकास नपाउने र जनताका आधारभूत समस्या हल नहुने निष्कर्षसहित आगामी फागुनमा हुन लागेको निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्न खोजिएको सो पार्टीको ४ नम्बर ब्युरोले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
पार्टीले देशैभर “साम्राज्यवादद्वारा प्रयोजित निर्वाचन बहिष्कार गरौ ।” भन्ने नाराका साथ गाउँ-सहरहरूमा साम्राज्यवादी शक्तिहरूले नेपालमा जबरजस्त थोपर्न खोजेको प्रायोजित निर्वाचनका विरुद्ध जनतामा जनजागरण ल्याउन खोजिराखेको ४ नं. ब्युरोका संयोजक एवं पार्टीका पोलिटब्युरो सदस्य कृष्णराज पौडेलले पत्रकार सम्मेलनको क्रममा बताएका छन् ।
स्वाधीन संयुक्त सरकार गठनका लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी एवम् जनतान्त्रिक शक्ति एक हुनुपर्ने र साेही तप्काकाे सहभागीतामा हुनुपर्नेमा जाेड दिएकाे पाैडेलले बताएका छन् ।
नेपालको भू-राजनीतिक अवस्थितिको फाइदा उठाउँदै अमेरिकी साम्राज्यवादले जबर्जस्ती लादेकाे एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई नेपालका सम्पूर्ण संसदवादी दलहरुले समर्थन जनाएको र नयाँ भनेर गठबन्धन गरिएका नयाँ प्रकारका पात्रहरु पनि सोही लाइनमा त्योभन्दा खतरनाक डिजाइनका साथ प्रायाेजित हुनाले अहिलेको निर्वाचनले देशलाई कुनै पनि खालको वस्तुवादी निकास नदिने, बरु देश युक्रेन, बंगलादेश वा प्यालेस्टिनको हालतमा पुग्ने जोखिम रहेको साे पार्टीकाे निष्कर्ष रहेकाे छ ।
कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य कृष्णराज पौडेलले भर्खरै मात्रै अमेरिकी साम्राज्यवादले सार्वभौम मुलुक भेनेजुएलामाथि गरेको सैन्य हमला र त्यहाँका जननिर्वाचित राष्ट्रपति निकोलस मादुराेसहित उहाँकी पत्नीलाई अपहरण गरेर अमेरिका पुर्याई जबरजस्त मुद्दा थाेपरेकाेमा त्यसकाे खारेज गर्दै मादुराे दम्पतिलाई सकुशल विनाशर्त रिहाई गर्नको निम्ति अपिल गरिएको र भेनेजुएलामा सार्वभौम सत्ता रक्षाको निम्ति पार्टी दृढताका साथ ऐक्यबद्धता जनाउने बताएका छन् ।
नेपाल पत्रकार महासंघकाे सभाहलमा भएको साे कार्यक्रमकाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ब्युरो नम्बर ४ का सेक्रेटरी समीर के सीले गरेका थिए भने प्रमुख वक्ता ब्युराे संयाेजक एवम् पाेलिटब्युराे सदस्य कृष्णराज पाैडेलले प्रस वक्तव्य पेस गरेका थिए । केन्द्रीय सदस्य नारायण भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुकुम खडकाले गरेका थिए ।















