स्वास्थ्य बीमा संकटमा : ११ अर्ब भुक्तानी बाँकी, अस्पतालहरू सेवा बन्द गर्ने अवस्थामा

२४ पुस, काठमाडौं

स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् ।

बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम केही हप्ता भित्रै बन्द गर्ने चेतावनी दिएका छन् ।

यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर सरकारबाट अनुदान नै नपाएपछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालले बोर्डबाट उपचार वापतको झन्डै ३९ करोड भुक्तानी लिन बाँकी छ । यो अस्पतालले तत्काल भुक्तानी नपाए १ माघदेखि बीमा कार्यक्रम नै बन्द गर्ने बोर्डलाई अल्टिमेटम दिएको छ ।

अस्पतालले १६ पुसमा स्वास्थ्य बीमा बोर्डलाई पत्र पठाउँदै बाँकी ३८ करोड ९५ लाख ९७ हजार रुपैयाँ तत्काल भुक्तानी गर्न र अस्पतालको दररेटअनुसार सम्झौता गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation