२५ पुस, प्युठान
प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र उत्कृष्ट नतिजा निकाल्न सफल विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई “नतिजाकाे आधारमा” सम्मान कार्यक्रम गरेको छ । पालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी तथा प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

गौमुखी गाउँपालिकामा आयोजित एक समारोहबीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्याल, पालिकाका अध्यक्ष विष्णुकुमार गिरी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुलाई हौसलास्वरुप सम्मान गरिएको गौमुखी गाउँपालिकाले जनाएको छ ।
पुरस्कृत हुनेहरुमा कक्षा ५ मा अध्यापन गराउने ७ जना शिक्षक रहेका छन् भने कक्षा ८ मा अध्यापन गराउने ७ जना शिक्षक रहेका छन् । त्यस्तै कक्षा १० मा अध्यापन गराउने ८ जना शिक्षक, विद्यालय सहायक कर्मचारी १ जना, विद्यालय सहयोगी कर्मचारी १ जना, बाल विकास शिक्षक १ जना र प्रधानाध्यापक (प्रावि, आवि र मावि) ३ जना (तहगत प्रथम, द्वितीय र तृतीय) गरी २८ जना शिक्षक-कर्मचारी पुरस्कृत भएका छन् । उत्कृस्ट नतिजा ल्याउने पालिकाका विभिन्न विद्यालयका ९ जना जेहेन्दार विद्यार्थीसहित जम्मा ३७ जना शिक्षक विद्यार्थीलाई सम्मान गरेकाे हाे ।

गौमुखी गाउँपालिकाकाे गाउँसभाको अवसर पारेर सम्मान कार्यक्रम गरिएको हो । पालिकाले शैक्षिक सत्र २०८१ को नतिजाको आधारमा सम्मानित एवम् पुरस्कृत हुने सबैलाई दोसल्ला, सम्मानपत्र र ३ हजार नगदसहित प्रदान गरेको छ । पुरस्कार तथा सम्मान थाप्दै शिक्षकहरुले अझ राम्रो र स्तरीय नतिजा प्राप्तिमा सबैले जोड गर्नुपर्ने चुनौती थपिएको बताएका छन् भने इमान्दार र पौरखी शिक्षककाे आत्मसम्मान वृद्धि गरी थप उर्जावान ढंगले शिक्षण पेशामा दत्तचित्त भएर लाग्ने प्रेरणा मिलोस् भनेर सम्मान गरिएको पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताएका छन् ।
नतिजाको आधारमा उत्कृष्ट हुने विद्यार्थी, प्रधानाध्यापक र विषय शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गर्दा सिंगो पालिकाको शैक्षिक गुणस्तरमा फड्को मार्न सकिने विश्वास आफूले लिएको पालिकाका उपाध्यक्ष तथा कार्यक्रमको सहजीकर्ता महावीर रानाले बताएका छन् ।
नतिजाको आधारमा सबैलाई सम्मान कार्यक्रमको सुरुवात गरेकोमा गौमुखी गाउँपालिका परिवारलाई सम्बन्धित सरोकारवालाहरुले धन्यवाद व्यक्त गरेका छन् ।















