हजार इन्कार गरे पनि जात प्रणाली धार्मिक व्यवस्था हो । हिन्दू धर्मले विकास गरेको अनिवार्य धार्मिक नियम हो ।
वेदले नै चतुरवर्णको व्यवस्था गरेको छ । हिन्दू धर्मको श्रोत वेद मानिने हुनाले जात व्यवस्थाको सूत्रधार हिन्दू धर्म नै हो भन्नुपर्ने हुन्छ ।
व्यवहारमा वैदिक चतुरवर्ण व्यवस्थाभन्दा हिन्दू समाज अझै अगाडि बढेको देखिन्छ । अर्थात हिन्दू समाजमा व्यवहारमा मानिस मानिसकाबीच छुवाछुत गर्नेजस्तो अमानवीय परम्परा बसेको छ ।
मानिसलाई पशुभन्दा तल्लो दर्जाको व्यवहार गर्ने अमानवीय प्रचलन घोर अन्याय मात्रै होइन, धार्मिक भाषाको महापाप पनि हो । कानुनी भाषाको जघन्य अपराध हो । तर हिन्दू समाजले न अन्याय मान्छ, न अपराध मान्छ न पाप मान्छ ।
सदियौंदेखि अछुत भनिएको समाज कति पिल्सिएको छ, छट्पटाएको छ र मुक्तिको खोजीमा तड्पिएको छ भन्ने कुराको नमुना पात्र बनेका छन् माननीय सन्तोष परियार, खगेन्द्र सुनार र डा. मित्र परियार !
सन्तोष परियारलाई रास्वपाले राम्रै सम्मान दिएको छ जस्तो लाग्थ्यो । वास्तविकता त्यस्तो रहेनछ ।
पार्टीबाट रुँदै निस्क्नु परेको घटनाले पार्टीभित्रको जातीय दृष्टिकोण र व्यवहारले उनलाई मर्माहत बनाएको रहेछ भन्ने कुरा स्पष्ट भयो भन्न सकिन्छ । पद प्रतिष्टाले रोक्न सकेन । आत्मसम्मानको खोजीले उनलाई भौतारिनुपर्ने बनायो ।
अर्का पात्र खगेन्द्र सुनारले “दलितलाई खोइ” भन्ने अभियानै चलाए । उनको अभियानमा आत्मसम्मान भन्दा राज्यसत्तामा हिस्साको मागको अभिलाषा बढी देखिन्थ्यो । सायद त्यसैले सन्तोष परियारले तुरुक्क आँसु चुहाएर निस्कनुपर्ने आन्तरिक अवस्था रहेको पार्टीमा खगेन्द्रजीलाई छिरायो ।
जातीय भेदभावबाट उनको अन्तरात्मा उति घाइते भएको रहेनछ अथवा आम दलितले भोगेको जातीय अपमानको अनुभव व्यक्तिगत रुपमा उनले गर्नुपरेको रहेनछ र उनमा जातीय पीडाको अनुभूति र चेतना रहेनछ भन्नुपर्ने हुन्छ ।
तेस्रो पात्र डा.मित्र परियारको आफ्नै मान्यता थियो । जातीय भेदभावको मूल हिन्दू धर्म हो भन्ने ज्ञान भए पनि हिन्दू धर्ममा सुधार गरेर विभेदको अन्त गर्न सकिन्छ भन्ने उनको बुझाई रहेको देखिन्थ्यो ।
जातीय उतपिडनको कारण धार्मिक, सामाजिक व्यवस्था मात्रै होइन, राजनीतिक पनि रहेछ भनेर बुझ्न डा.परियारजीलाई निकै समय लाग्यो । त्यसको कारण उनको शिक्षा दीक्षा र हुर्के बढेको पश्चिमा समाज थियो ।
स्वभावत; उनमा केही राजनीतिक आग्रह पनि थिए । त्यसैले सुरुमा उनी मर्क्सवादी राजनीतिप्रति निकै आलोचक देखिन्थे । चार पाँच वर्षको अनुभवले उनको अन्तरचक्षु खुले जस्तो देखियो ।
राजानीति त्यो पनि मार्क्सवादी राजनीतिले मात्र जातीय असमानताबाट मुक्ती दिलाउन सक्छ भन्ने बुझाईले उनलाई कम्युनिष्ट पार्टीसंग सहकार्य गर्नुपर्ने लाग्यो होला ।
धार्मिक सुधारबाट जातीय उत्पिडनको अन्त हुनै सक्दैन भन्ने बुझाईले डा. अम्बेड्करलाई धर्म परिवर्तन अर्थात हिन्दू धर्म परित्याग गर्नुपर्ने निर्णयमा पुर्याएको थियो । जीवनको अन्तकालतिर मात्र धर्मत्यागको अभियान चलाएका अम्बेडकर स्वयमले त्यसको असफलताको परिणामसंग साक्षात्कार गर्ने अवसर पाएनन् ।
धर्मत्यागको प्रयोग्को असफलता देख्नेभोग्ने अवसर मिलेका भए अम्बेडकरले अर्को एकपटक अवश्य बाटो बदल्ने थिए होला ।
समकालीन नेपाली राजनीतिमा सकृय देखिएका तीनजना दलित समुदायका प्रतिनिधि पात्रहरुमा नेपालको दलित समाजमा सदियौंदेखि दविएर रहेको जातीय उन्मुक्तिको उत्कण्ठा स्पष्ट दृष्टिगोचर हुन्छ । समाजका अगुवाका हैसियतले फरक फरक कित्तामा रहेर यथाशक्ती प्रयत्नशील रहेका छन भन्नुपर्छ ।
कहिले यता, कहिले उता, कहिले उत्तर, कहिले दक्षिणतिर कुद्ने वेचैनीको कारण जातीय उत्पिडनबाट मुक्तिको खोजी नै हो । व्यक्तिगत पदप्रतिष्ठा र अवसर प्राप्तिको छुद्र स्वार्थ अवश्य होइन भन्न हिच्किचाउनु पर्दैन ।














