पृथ्वीनारायण शाहको मृत्यु प्रकरणका विषयमा निकै रोचक विषयहरु अध्ययन गर्न पाइन्छ । विस १८३१ माघ १ गते नुवाकोटमा उनले मृत्यु वरण गरेका थिए । उनको मृत्युका विषयमा केहि इतिहासकारले भनेका कुराहरु हेरौँ ।
विसं १९९२ मा दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले लेखेको ‘पृथ्वीनारायण शाह’ पुस्तकमा उल्लेख छ, ‘तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुनेअनुसार पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते ।’
विसं २००७ सालमा बनारसबाट रामजी उपाध्यायले लेखेको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ किताबमा लेखिएको छ, ‘पृथ्वीनारायण शाह सिकारलाई नुवाकोट पुगेका थिए । त्यहाँ प्रतिदिन सिकार गरेर एक महिना बितिसकेको थियो । एक दिन सिकार खेल्न जाँदा जंगलबाट एउटा भीषण बाघ बाहिर निस्किएर उनलाई आक्रमण गर्यो । उनले त्यस बाघलाई मार्न सकेनन् र त्यसैबाट नै उनको मृत्यु भयो ।’
विसं २०१२ मा काशीप्रसाद श्रीवास्तवले दिल्लीबाट हिन्दीमा प्रकाशित गरेको ‘नेपालकी कहानी’ किताबमा लेखिएको छ, ‘गण्डक नदीको तटमा मोहन तीर्थमा एउटा सिंहसँग युद्ध गर्दागर्दै पृथ्वीनारायणको निधन भयो ।’
इतिहासकार बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ मा लेखेका छन्, ‘नुवाकोटमै रहँदा ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लगिएको थियो । त्यहीं ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भयो ।’
इतिहासकार भगिराज इङ्नामका अनुसार ‘श्री ५ महाराजा पृथ्वीनारायण शाह नुवाकोट पाव लाग्नुभएको थियो । श्री ५ साहेब ज्यू सिंहप्रताप साह ञाहा हुनु हुन्थ्यो । तस्तै बीचमा बलभद्रले भडारषालमा सिवावलि दियो । तेसै दिन श्री ५ महाराजालाई बेथाले समात्यो । तेस्को आठौं दिनमा श्री ५ महाराजा पृथ्वीनारायण शाह श्री देवीघाटमा परलोक हुनुभयो ।’
राजा पृथ्वीनारायण शाह सिकार खेल्न नुवाकोट जाँदा उनको निधन भएको पुष्टि गर्ने त्यति बेलाको एउटा दुर्लभ प्रमाण भेटिएको छ भनेर अहिले एउटा पत्र चर्चामा छ । छोरा सिंहप्रताप शाह (प्रतापसिंह शाहलाई सिंहप्रताप पनि भनिन्छ) राजा भएपछि उनले रामचन्द्र पण्डितलाई एक पत्र लेखेका थिए, जहाँ पिता पृथ्वीनारायणको निधनबारे वर्णन छ ।
अब सबैभन्दा रोचक विषय सौरभले असहमति- ५ मा प्रस्तुत गरेका छन् । उनले लेखनको सार यस्तो छ, नुवाकोटको त्रिशूली नदी सङ्गम जाल्पादेवी पीठमा पृथ्वीनारायण शाह विक्रम संवत् १९३१ मा शरीरभरि घाउखटिरा आएर बितेका थिए । जर्ज बोगल मात्रै हुन्, पृथ्वीको अन्तिम समयको यो घाउखटिराको वृत्तान्त दिने । उनलाई पनि सूचना दिने व्यक्ति पाल्देन येशे भनिएका छन्, त्यो पनि तिब्बतमा छँदा । तर यो विचित्रको सूचना छ । विचित्रको सूचना किनभने कुनै खटिरा जीउभरि आएर पृथ्वीनारायण शाह दिवङ्गत भएको सूचना अति दुर्गममा बसेको एक भिक्षुका मुखबाट चुहाइएको छ । सन् १७७१ मा पृथ्वीनारायण शाहसँग तिब्बतसम्मको बाटो माग्न नुवाकोट दरबार पुगेका जेम्स लोगन र उनका सहयोगी निराश भएर फर्केको पृष्ठभूमिमा जर्ज बोगल र टोमस म्यानिङहरू तिब्बत पुगेका हुनाले पनि पृथ्वीनारायण शाहसँग रिस पोखेको देखिन्छ । त्यो बेला शत्रुलाई बिफर मराइदिने आम चलन थियो । सम्भवत त्यहि सङ्क्रमणले पृथ्वी नारायण मरे ।














