पर्यटन प्रवर्द्धनकाे पर्खाइमा गाैमुखी !

 

गौमुखी गाउँपालिकाको स्थापना २०७३ साल फागुन २७ गते भएको थियो। यो गाउँपालिका १३९.०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस पालिका भित्र अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट र लिवाङको पर्दछन्। समुद्र सतह देखी न्यूनतम १०६१ मीटर उचाइको कोइराफाँट र अधिकतम ३२७८ मिटर उचाइको ठुलीनाङ्गी लेक रहको यस गाउँपालिकामा सात वटा वडाहरु रहेका छन्। पालिकाको अधिकांश भू-भाग माहाभारत पहाडी श्रृङ्खलामा अवस्थीत छ।
गौमुखी गाउँपालिकाको भूगोल बाग्लुङ र गुल्मी जिल्लासँग जोडिएको छ। सीमावर्ती जिल्ला बाग्लुङ र गुल्मीमा पनि पर्यटनको लागि राम्रा र आकर्षक गन्तव्यहरू रहेकाछन्। गौमुखी गाउँपालिका झिम्रुक र नौबहिनी गाउँपालिका सँग जोडिएको छ। कोठीभिर, स्याउलीबाङ, स्नाथान, ओखरकोट जस्ता छिमेकी पालिकाभित्रका आकर्षक पर्यटन गन्तव्यहरू हुन्। प्युठान- अर्खा बाग्लुङ सडक सुचारु भयो भने मुस्ताङ र मुक्तिनाथ यात्राको लागि यो रुट निकै छोटो हुनेछ। हामीले स्वर्गद्वारीमा आउने पर्यटकहरूलाई मुक्तिनाथसम्म जानको लागि यो छोटो बाटो प्रयोग गर्न प्रेरित गर्न सक्छौ।
१- गौमुखी
पर्यटकीय स्थल गौमुखीको नामबाट गौमुखी गाउँपालिकाको नामाकरण गरिएको हो । प्युठान जिल्लामा स्वर्गद्वारी पछिको दोस्रो महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा गौमुखी परिचित छ। गौमुखी पर्यटक गन्तव्य मात्र नभएर झिम्रुक नदीको उद्गमस्थल पनि हो। गाईको मुखाकृतिबाट पानीको मुहान निस्कने भएकोले गौमुखी नाम रहन गएको विश्वास गरिन्छ । गौमुखीमा परम्परादेखि नै हजारौं मानिसहरू दर्शन गर्न आउने र श्रद्धापूर्वक गुफाभित्र रहेको मुहानमा नुहाएर फर्कने गर्दछन्। प्युठान र बाग्लुङ जिल्लालाई छुट्टाउने गौमुखी पहाड पुरै चुनढुङ्गाले बनेको छ। गौमुखी गाउँपालिका भित्र गौमुखी मात्र नभएर दर्जनौं पर्यटकीय आकर्षणका केन्द्रहरू रहेका छन्। तिनीहरूको बारेमा केही छोटो चर्चा गरौं।
२-झाक्रीढुङ्गा
गौमुखी गाउँपालिका वडा नं-३ रजबाराको झाँक्रीढुङ्गा पर्यटकहरूको लागि महत्वपूर्ण ठाउँ रहेको छ। श्रद्धापूर्वक यहाँ पूजाआजा र बलि दिने गरिन्छ। नेपालका पूर्व राजाहरूले पनि यहाँ बली पठाउँथे भनिन्छ। यहाँ एउटा निकै ठूलो र अर्को अलिक सानो , विशाल दुईवटा ढुङ्गाहरू रहेका छन्। ठूलो ढुङ्गालाई झाँक्रीको रूप मानिन्छ भने सानोलाई झक्रिनीको रूपमा। यी ढुङ्गाहरूलाई झाँक्री र झक्रिनीको अभिन्न प्रेमको प्रतीक मानेर पूजाआजा र बलिदिने परम्परा रहि आएको छ।
३- बाइसमूल झरना
अनुपम प्राकृतिक छटाले भरियको गौमुखी गाउँपालिका-२ स्थित बाईसमुल झर्ना पर्यटक आकर्षणको लागि एउटा महत्त्वपूर्ण गन्तव्य बनिरहेको छ । हामीले यसलाई जीवनमा एकपटक पुग्नै पर्ने ठाउँको रूपमा लिन सक्छौँ। बाइसमूल झरना जान अहिले मोटरबाटो समेत पुगिसकेको छ।
४- तामाखानी र खानीटोपाहरू
राणा कालीन आम्दानीको स्रोतको रूपमा पूजा जारगाउँको तामाखानी र ढाडखानीमा तामाखानी उत्खनन गरेको इतिहास रहेको छ । त्यतिबेला अहिले जस्तो टर्चलाइट वा प्रकाशको व्यवस्था थिएन। हाम्रा पुर्खाहरूले निगालो बालेर कानमा घुसारेर खानीमजदुरहरूले काम गरेका थिए। तामाखानीहरुमा ३०० मिटर परसम्म पुगेका शाखा प्रशाखा सुरुङहरू रहेका छन् । जारगाउँको तामाखानीमा विसं १९७० मा एकैचोटि २२ जना मजदुरहरु खानेभित्र फसेर ज्यान गुमाएका थिए।
५- समाजसेवी र उनीहरूका कृतिहरू
कतिपय मानिसहरूले जीवनमा असामान्य कामहरू गर्छन्। समाज परिवर्तनमा उनीहरूको अहम भूमिका हुन्छ। गौमुखी गाउँपालिकाका विभिन्न क्षेत्रमा समाजसेवीहरुका योगदान अध्ययन गर्न सकिन्छ। कामरेड खगुलाल गुरुङको राजनैतिक योगदान, धिर्जबहादुर अर्गेजाको निजी लगानीमा सिरुङखोलामा बनेको पहिलो साङले पुल र अपाङ्ग टेकबहादुर सुनारले स्थापना गरेका सातवटा विद्यालयहरू हाम्रा प्रेरणा स्रोतहरू हुन।
६- आठसहिद बाईचौर
माओवादी युद्धकालमा ८ जना लडाकुहरुले अर्खाको बाईचौरमा एकैचोटि सहादत प्राप्त गरेका थिए। उनीहरूको उद्देश्य समाज परिवर्तन र न्यायोचित राज्यव्यवस्था स्थापना गर्ने थियो। उनीहरूको योगदान र सहादतलाई हामीले स्मारक निर्माण गरेर पर्यटनसँग जोड्न सक्छौँ।
७- आकासे पुल तथा विशाल शिवमूर्ति
गौमुखी गाउँपालिका भित्र यी दुईवटा पर्यटन आकर्षणका नयाँ केन्द्रहरू हुन्। विशाल शिवमूर्ति अर्खाको अर्तुबाङमा रहेको छ भने त्यहाँबाट दुई किलोमिटरको दुरीमा रजबरा र अर्खा जोड्ने लुम्बिनी प्रदेशकै लामो, आकासे झुलुङ्गे पुल रहेको छ। यी दुईवटा गन्तव्यहरू पर्यटनको लागि नयाँ र आकर्षणका केंद्र बनेका छन्।

८- नाङ्गी लेक
पर्यटकीय आकर्षण मध्य गौमुखी गाउँपालिकाकाे सर्वोच्च स्थान नाङ्गी पनि हो। नाङ्गी दुइ वटा छन। डेढ घण्टाको पैदल दुरीमा ठूली नाङ्गी र सानी नाङ्गी पर्दछन । ठुली नङ्गिको उचाई ३२७८ मीटर रहेको छ। दुवै नाङ्गी प्रकृतीक छटाले सिंगारिएका छन। त्यहाँको विशिष्टता अनुपम छ। बाटोमा जाने क्रममा देखिने घना र मनमोहक जङ्गल ,उत्तर तर्फ वारपार देखिने हिमश्रृंखला , ढोरपाटन सहीत बागलुङका गाउँहरू र दक्षिण तर्फकाे मनोरम पहाडी दृष्यहरु। यहाँका भोटे कुकुर भुक्ने ठूल्ठूला भेडीगोठहरु अद्भुत लाग्छ। नङ्गीमा बसन्त ऋतुमा चार रङ्गका गुराँसहरू फुल्ने गर्छन्। नाङ्गी राता ,पहेँला र बैजनी रंगका अनेकन फूलहरू फुलेर पुरा चौर नै सिंगरियकाे छ। त्यहाँ पुग्दा लाग्छ ती रंगीन र स्वागतमा पर्खिएका जस्तो लाग्ने फूलहरूमाथि कसरी हिड्नु। खाली देख्न र स्पर्समात्र गर्न मन लाग्छ।
प्रकृतिले हामिलाई अनुपम सुन्दरता दियको छ। त्यहाँ पुग्दा लाग्छ जीवनको परीभाषा नै अलग रहेछ। त्यहाँ वर्षै पिच्छे हजारौं पर्यटकहरू पुराएर हामिहरुले खुसी बाँड्न सक्छौं। ठुली नङ्गीमा आवासीय भवन, सौचालय, पद मार्ग समेत बनेको छ।
९- सति बोइको मन्दिर पूजा
जुम्लाबाट लगभग चार सय बर्ष अगाडि न्यौपानेहरू पुजा गाउँमा बसाई सरी आएको मनिन्छ । त्यस बेलाको समाजमा दास तथा सतीप्रथा बिद्यमान थियो । जुम्लाबाट पुजा आउने मघ्य एकभाइ थिए बेदु न्यौपाने उनको आफ्नै घरको दास संग द्वन्द भयो र दासले उनको हत्या गरेको विश्वास गरिन्छ। पतिको मृत्यु पछी हेमन्त नामको आफ्नो पाँच बर्षको छोरालाई छोडेर सतीप्रथाको कारण बेदुकी श्रीमती सती जान बाध्य भइन । ज्युँदै चितामा जलाइएकी सतीको सम्झनामा उनका सन्तानहरुले पुजाको टाकुरा नजीक “देउतीबोइको” (सतीबोइको) मन्दिर बनाएर हरेक कत्तिके पुन्यू र बैशाखे पुन्यूमा पुजा आजा सहित स्मरण गर्ने गरिन्छ । कहाली लाग्दो सतिप्रथा सँग जोडिएको सतीको मन्दिरले हामीलाई पर्यटनमा मद्दत गर्न सक्छ।
१० – गुफा धुरी
गुल्मी र प्युठानको साझा संगमको रूपमा रहेको खुङको सबैभन्दा अग्लो गुफा धुरी पर्यटनको लागि ठूलो आकर्षण केन्द्र रहेको छ । अहिले यहाँ गुल्मी र प्युठानको संयुक्त पर्यटन समिति गठन गरेर विभिन्न निर्माण कार्यहरू अगाडि बढिरहेको छ। यसले ठूलो मात्रामा पर्यटन आकर्षण गर्ने सम्भावना रहन्छ।
११- जनजाति सभ्यता
गौमुखी गाउँपालिका जनजाति प्रधान गाउँपालिका हो। जनजातिहरूका बस्ती, घरहरूको बनावट मौलिक प्रकारको रहेको छ। उनीहरूको भेषभुषा, रहनसहन र जीवनशैलीले हामीलाई गौमुखीमा घुम्न आकर्षण गरिरहेको हुन्छ।
१२- जङ्गल सफारी
अर्खा रजबारा र पूजाको माथिल्लो भेगमा अवस्थित आकर्षक जङ्गल भित्र रोमाञ्चक जङ्गल सफारी गर्न सकिन्छ। त्यहाँ रहेका जंगली जनावर, चराहरू र विभिन्न प्रजातिका फूलहरूलाई हामीले नजिकबाट अनुभूति गर्न सक्छौं।
यसपालिकाका जङ्गलहरूमा बाघ, हरिण, कस्तुरी, लगायत दर्जनौं प्रकारका जङ्गली जनावरहरु देख्न सकिन्छ। सयौं प्रकारका पशुपंक्षी गौमुखीको अर्को एउटा महत्वपूर्ण आकर्षण हो।

१३- दलित सभ्यता
बाग्लीबाँङ, ढाँडखानी र डाँडागाउँ जस्ता घना दलित आबादी भएका बस्तीहरू यहाँको अर्को सामाजिक पहिचान हो। छुवाछुतको चर्को मारबाट भर्खर तंग्रिँदै र कमजोर आयस्रोत झेल्दै यी गाउँहरू अगाडि बढिरहेका छन्। यी बस्तीहरू पनि पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छन्।
१४- भेडीगोठहरू
खुल्ला आकाशमुनि रहेका भेडिगोठहरू , त्यहाँ सुरक्षाको लागि पालिएका भोटे कुकुरहरु र घुमन्ते गोठालो जीवन पर्यटनको दृष्टिकोणले अर्को एउटा फरक आकर्षण हो। गौमुखी गाउँपालिकामा स्थानीय र बाहिरबाट विभिन्न भेडीगोठहरू आउने गर्छन्।
१५- जङ्गली गोठहरु
गौमुखीका उच्च पहाडी घना जङ्गलहरूमा जंगली गोठाक्नाहरु रहेका छन्। त्यहाँ परम्परागत गोठ संस्कृति अनुसार पशुधन पाल्ने गरिन्छ। पूरा जीवन जंगली गोठहरूमा बिताएका गोठालाहरू सँग जङ्गली जनावर र प्रकृतिसँग गरेका संघर्षको विषयमा महत्वपूर्ण अनुभवहरू थाहा पाउन सकिन्छ। पर्यटकहरूलाई जंगली गोठहरूमा पुराएर परम्परागत गोठ संस्कृतिको अनुभूति गराउन सक्छौ।
१६- रमणीय भूगोल र पदमार्गहरु
मध्य पहाडका ग्रामीण बस्तीहरू आफैमा घुम्न लायक छन्। त्यहाँका जनताहरूको अतिथिप्रतिको हार्दिक व्यवहार, पहाड जङ्गल खोलानाला र झरना पर्यटनको लागि उत्तिकै आकर्षण मानिन्छन्।
पहाडका धुरीधुरी विभिन्न चौर, जङ्गल र ग्रामीण बस्तीहरूको अनुभूति गर्न हामी विभिन्न पदमार्गमा हिँड्न सक्छौं। दर्जनौँको सङ्ख्यामा रहेका यस्ता पदमार्गबाट यात्रा गर्दैगर्दा उत्तरतर्फ हिमाली श्रृङ्खलाहरुको मनमोहक दृश्यहरू हेर्न सकिन्छ।
१७- परम्परागत घरगोठ
पुरानो काष्ठकला र वास्तुकलाबाट निर्मित घरहरू यहाँका थप आकर्षणहरू हुन्। कहिँ ढुङ्गाले त कहिँ खरले छाएका यस्ता परम्परागत घरगोठहरू हेर्न लायक छन्। अर्खा , नारीकोट, लिबाङमा यस्ता परम्परागत कलाकृतिहरू देख्न पाइन्छ।
१८- ओडारहरु
मानव सभ्यताको प्रारम्भिक विकासमा मानिसहरूको आश्रय स्थलको रुपमा रहेका ओडारहरु पर्यटनको लागि अर्को सम्भावना रहन्छन। हामी ओडारमा बास बस्न सक्छौं र त्यहाँ आदि मानवहरु कसरी जीवन निर्वाह गर्थे कल्पना गर्न सक्छौ। त्यो पनि पर्यटनको अर्को रूप हो।
१९- मेला तथा चाडपर्वहरू
राष्ट्रिय स्तरका चाडपर्वदेखि लिएर यहाँ दर्जनौं प्रकारका स्थानीय चाडपर्वहरू रहेका छन्। त्यसमा ठूलो परिमाणमा जनताहरूको सहभागिता रहने गर्छ। देवाली, वैशाख पूर्णिमा, तीज, पञ्चमी, गौमुखीमेला, जेठ२०को मेला, ठूलो एकादशीमा ठूला जमघट हुने गर्छन। विभिन्न प्रकारका बाजागाजा र परम्पराको अध्ययन गर्न पाइने त्यस्ता चाडपर्व हाम्रा मौलिक संस्कृति हुन्। यिनले पर्यटनलाई उत्तिकै आकर्षण गर्छ।
भुमे पुजा, कुल पुजा/देउलीहरु, अर्खाको लाटा नाँच, दसैँको मेला, तीज, दसैँ, तिहार, देउसीभैलो, देउराली पुजा, फागु र बुद्ध पूर्णिमा, राजबाराको सरायँनाँच, बोक्सा लघार्ने मेला, जेठासी पुन्यु ,लोसार आदि रहेका छन।
२०- तामाङ गुम्बा
गौमुखी गाउँपालिका-१ मा तामाङहरूको बस्ती रहेको छ। त्यहाँ अझैसम्म तामाङ भाषामा बोलीचाली हुने गर्छ। तर यो लोप उन्मुख अवस्थामा छ। अर्खाको लामागाउँ नजिक तामाङहरुको बौद्ध गुम्बा पनि बनेको छ। यो गुम्बा मार्फत बौद्धधर्म सम्प्रदाय र तामाङ जातिहरूको बारेमा हामीले त्यहाँ जानकारी पाउन सक्छौ। यसको प्रवर्धनले हामीलाई पर्यटनमा मद्दत गर्न सक्छ।

२१- सुपा देउराली नारीकोट
यहाँ मन्दिर तथा प्रतीक्षालय बनिसकेको छ। सुपा देउराली नारीकोटमा हरेक हप्ता पूजाआजा र बली चल्ने गर्छ। यहाँ पर्यटकहरूको उपस्थिति र सहभागिता उल्लेख्य रहेको छ।
२२- तान्त्रिक विधि
यहाँको पुरानो परम्परा अनुसारका कैयन धामी झाँक्री र तान्त्रिक विधिहरू विद्यमान छन्। अर्खाको लाटा नाँच, रजबाराको बोक्सा लघार्ने नाँच, परम्परागत झाँक्रीहरू, त्यसका उदाहरणहरु हुन्। तान्त्रिक विधिमा प्रयोग हुने विशेष प्रकारका क्षलामाला (पहिरन र सजावट) ढ्याङ्ग्रो र त्यहाँ भट्टाईने अनौठा ओखाभाका पर्यटनको लागि आकर्षण बन्न सक्छ।
२३- सम्भावनाहरूले भरिएको गौमुखी
माथि उल्लेख गरिएका पर्यटन केन्द्रहरूको अलावा गौमुखीमा अन्य धेरै पर्यटकीय गन्तव्यहरू रहेका छन्। तिन पालिकाको संगम दिहाल्नाचौर, गोद्रेचौर, रूपाचौर (खुंग), थामचौर (रजबारा) प्राकृतिक रूपमा निकै रमणीय छन्।
यसैगरी जुपाल धुरी, तपस्या बस्ने धुरी, दुईबहिनी धुरी, दहबासे, रानी ताल, कैलाश दह पनि उत्तिकै आकर्षणपूर्ण रहेका छन्।
यो पालिकाभित्रका मुख्य बाटो र डाँडाहरुमा विशाल ढुङ्गाहरू रहेका छन्। तिनीहरूलाई हामीले सुन्दर आकृतिमा मूर्तिहरू कुद्न सक्छौं। गौमुखी पुग्ने बाटोको दायाँपट्टि यस्ता मूर्ति कुद्ने सम्भावना छ। त्यसमा दीर्घकालीन महत्वका मूर्तिहरू कुद्न सकिन्छ।
पर्यटनको प्रवर्धनको लागि गर्नुपर्ने कामहरू
गौमुखीको मुख्य मन्दिर नै अहिलेसम्म बन्न सकिरहेको छैन। गौमुखी गाउँपालिकाको मुख्य पहिचान गौमुखी मुहान भएको हुनाले त्यहाँको स्तरिय मन्दिर सुरुवाती वर्षहरूमै बन्नुपर्ने थियो। गौमुखीको नाममा धेरै खर्च गरिए पनि त्यो योजनाबद्ध र स्तरीय प्रकारको हुन सकेको छैन।
पर्यटन विकासको लागि योजनाबद्ध ढङ्गले पर्याप्त कामहरू हुन सकिरहेका छैनन्। पर्यटन स्थलसम्म पुग्नको लागि बाटोघाटोको राम्रो व्यवस्था हुनुपर्दछ। जस्तै नाङ्गी जानको लागि राम्रो बाटो निर्माण हुन सकिरहेको छैन। जीर्ण संरचनाहरूको पुननिर्माण वा सुधार हुनु आवश्यक छ। आकर्षणका विषयहरुको प्रचार प्रसार पनि उतिकै आबस्यक छ। पर्यटकहरूको लागि खान बस्नको लागि होटल र होमस्टेहरूको समुचित विकास गर्न जरुरी छ। पर्यटक भनेको घुम्न , रमाउन र खर्च गर्न आउने हो। त्यसको लागि हामीले के के व्यवसाय सिर्जना गर्न सक्छौँ, त्यतातर्फ हाम्रो ध्यान पुगिरहेको छैन। स्थानीय जनताहरूको आयस्रोत वृद्धि गर्ने उद्देश्यले नै हामीले त्यस्ता व्यवसायहरूको परिकल्पना गर्नुपर्दछ। पर्यटकीय आकर्षण वृद्धि गर्नको लागि पर्यटकीय स्थलहरूको निरन्तर सरसफाई हुनुपर्छ। प्लास्टिक कागज र अन्य जथाभावि फोहर अर्को समस्या बनेको छ।
मेला व्यवस्थापनमा कमजोरी
पालिकाभित्र धेरै मेला तथा चाडपर्व रहेका छन्। चाडपर्वहरूको उचित व्यवस्थापन हुन सक्यो भने पर्यटक आकर्षण गर्न सकिन्छ। जात्राहरूमा पूजास्थलको सुधार , बाजागाजा, दर्शकहरूको व्यवस्थापन प्रचारप्रसार धेरै कामहरू गर्न सकिन्छ। तर स्थानीय पालिका वा वडाले त्यसमा पर्याप्त ध्यान दिएका छैनन्।

पर्यटकीय स्थल र तिनको अवस्था,

ऐतिहासिक स्थलहरूको सुरक्षा र सुधारको लागि योजनाबद्ध ढङ्गले काम गर्नुपर्दछ। गाउँपालिकाले सिरुङ्खोलाको साङ्ले पुल “संरक्षण गर्दा” पुल निर्माणमा प्रयोग भएको पुर्खौली प्रविधि नै नामेट गरिएको छ। पुलमा पुरातात्विक महत्त्वलाई नै असर गर्नेगरी सिमेन्ट कँक्रिट भर्ने काम भएको छ। पुल निर्माताले राखेको ऐतिहासिक मुख्य शिलालेख पनि नाश गरिएको छ। यसरी सांस्कृतिक सम्पदाहरु बिगार्दै जाने हो भने त्यसले राम्रो सन्देश दिन सक्दैन। झाँक्रीढुङ्गा मन्दिरको घेरा पर्खाल अर्को उदाहरण हो। जहाँ गुणस्तरीय निर्माणको अत्यन्त खाँचो देखिन्छ।
नाङ्गीमा अनावश्यक भद्दा संरचनाहरू निर्माण भइरहेका छन्। जसले सुन्दरतामा क्षति भइरहेको छ।
खासै लाभ दिन नसकेको पर्यटन क्षेत्र

हामीले पर्यटन क्षेत्रको बारेमा धेरै चर्चा गरिरहेका छौं। पर्यटनको नाममा राज्यकोष पनि खर्च भइरहेको छ। आर्थिक दृष्टिकोणले कति फलदायी छ त हाम्रो पर्यटन ? पर्यटन जनताको आयस्रोत बढाउन र जीवनस्तरमा सुधार गर्ने उद्देश्यले नै सञ्चालनमा आउनुपर्छ। तर हाम्रा अधिकांश पर्यटन क्षेत्रहरूमा राज्यको बजेट धेरै खर्च हुने, तर सो ठाउँबाट आर्थिक रुपमा ठोस प्रतिफल प्राप्त हुन सकेको छैन। अधिकांश पर्यटन क्षेत्रमा ऋणात्मक लगानी भएको छ। उपलब्धि कम, खर्च बढी। पर्यटनबाट आर्थिक रूपमा कसरी बढी लाभ लिन सकिन्छ त्यो कोणबाट नै पर्यटन योजना बनाउनु पर्दछ।

पर्यटनको महत्व मानव जातिलाई खुसी र उत्साही बनाउने उद्देश्य पनि जोडिएको छ। मान्छेमा रमाउन र सुखको अनुभूति गर्न केही खर्च गर्न चाहन्छ। खर्च गर्ने ठाउँहरू हामीले निर्माण गरिदिनुपर्छ । अब पर्यटन मात्र होइन आर्थिक पर्यटन हाम्रो बढी चासोको विषय हो। अब पर्यटन क्षेत्रलाई पनि जनताको आयस्रोत वृद्धिसँग जोडेर हेर्नुपर्दछ।

गौमुखी भ्रमण वर्ष २०८२

गौमुखी गाउँपालिकाले २०८२ मा एक लाख पर्यटक भित्र्याउने उद्देश्य राखेर गौमुखी भ्रमण वर्ष मनाउने तयारी गरेको कुरा सार्वजनिक भएको थियो । त्यसको लागि गौमुखीका सातवटा वडाबाट दुइ-दुइ लाख र गाउँपालिकाबाट २० लाख गरी कुल ३४ लाख बजेट विनियोजन गरिएको रहेछ।
यो सबै चालु प्रकृतिको बजेट देखिएको छ। यति ठूलो राज्यकोषको खर्चबाट आयोजना गरिने गौमुखी भ्रमण वर्षबाट के कस्ता उपलब्धिहरु प्राप्त होलान , त्यो त आउँदो समयले नै बताउनेछ। जे जस्तो भएपनि गौमुखी गाउँपालिका आफैमा अत्यन्तै रमणीय र पर्यटनको दृष्टिकोणले अत्यन्तै ठूलो सम्भावना बोकेको गाउँपालिकाको रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation