वसन्त ऋतुको आगमनसँगै नेपाली समाजमा उत्साह, उमंग र रङहरूको बहार ल्याउने पर्व हो, होली। फागुन पूर्णिमाको दिन मनाइने यो पर्व केवल रङ खेल्ने रमाइलो अवसर मात्र होइन, यसको सामाजिक, सांस्कृतिक र आर्थिक अर्थ पनि छ। होलीले मानव जीवनमा सकारात्मकता, मेलमिलाप र सहिष्णुताको सन्देश बोकेको छ। आजको बदलिँदो सामाजिक परिवेशमा होलीको वास्तविक सन्देशलाई विज्ञानसम्वत् काेणबाट हेर्न जरुरी छ ।
होली पर्वको ऐतिहासिक पृष्ठभूमि प्राचीन वैदिककालिन् हिन्दू सभ्यता र अन्य विभिन्न पौराणिक परम्परासँग गाँसिएको छ। धार्मिक ग्रन्थहरूमा वर्णित प्रह्लाद र होलिकाको कथा होली पर्वको मूल आधार मानिन्छ। असुर राजा हिरण्यकश्यपुले आफ्नो पुत्र प्रह्लादलाई भगवान् विष्णुको भक्ति त्याग्न आदेश दिएका थिए। तर प्रह्लादले सत्य र धर्मको मार्ग त्यागेनन्। अन्ततः हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकाको सहयोगमा प्रह्लादलाई आगोमा जलाउने प्रयास गरे। तर दैवी शक्तिको प्रभावले प्रह्लाद सुरक्षित रहे र होलिका आफैँ दहन भइन्। यही घटनाको स्मरणमा फागुन पूर्णिमाको रात होलिका दहन गर्ने परम्परा स्थापित भएको मानिन्छ। यसले असत्य, अहंकार र अत्याचारमाथि सत्य र भक्ति विजयी हुने सन्देश दिएकाे भनिएपनि आफ्नै छाेरालाई मार्न बहिनीकाे ढाल प्रयाेग गर्ने धार्मिक अतिवादलाई आजकाे पुस्ताले निरन्तरता दिनु ठूलो धार्मिक ढाेंङ हाे।
त्यस्तै होलीसँग सम्बन्धित अर्को लोकप्रिय किंवदन्ती कथित भगवान कृष्ण र राधासँग जोडिएको पाइन्छ। ब्रज क्षेत्रमा प्रचलित परम्पराअनुसार कृष्णले राधासँग रङ खेल्दै प्रेम र आनन्दको अभिव्यक्ति गरेका थिए। यही परम्परा समयक्रममा समाजभर फैलिँदै रङ खेल्ने सांस्कृतिक अभ्यासका रूपमा स्थापित भएको मानिन्छ। यसले प्रेम, सौहार्द र मानवीय सम्बन्धको मिठासलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।
धार्मिक रुपमा जेजस्ता मिथकहरु जनमानसमा भएपनि हाेली पर्व तत्कालीन नेपाली समाजमा हिउँदभरकाे कठ्याग्रिँदाे चिसाे, तराईकाे शीतलहर, भाेकमरी तथा अन्य प्राकृतिक प्रकाेपहरुबाट बचेर खेतीपाती भित्र्याउने उत्सबकाे रुपमा लिइएकाे हाे ।
नेपालमा होली पर्वको आफ्नै विशिष्ट सांस्कृतिक स्वरूप रहेको छ। काठमाडौँ उपत्यकामा बसन्तपुर दरबार क्षेत्रमा चीर गाडेर होलीको औपचारिक आरम्भ गर्ने परम्परा मल्लकालदेखि चलिआएको मानिन्छ। पहाडी क्षेत्रमा फागुन पूर्णिमाकै दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट रंगोत्सव मनाउने चलन छ। यसले नेपालको सामाजिक, भौगोलिक तथा सांस्कृतिक विविधतालाई झल्काउँछ।
होलीले समाजमा सद्भाव र सामाजिक एकताको भावना बलियो बनाउने कार्य पनि गर्छ। तर यस महत्त्वपूर्ण साँस्कृतिक पर्वलाई धर्मकाे कालाे जामाबाट बाहिर निकाल्न जरुरी छ ।
सांस्कृतिक र मानवीय काेणबाट हेर्दा हाेलीकाे अवसरमा मानिसहरू पुराना मनमुटाव बिर्सेर एकअर्कासँग खुसी साटासाट गर्छन्। रंग, अबिर र हाँसोको माध्यमबाट सामाजिक दूरी घटाउने र मानवीय सम्बन्ध सुदृढ गर्ने अवसर होलीले प्रदान गर्छ। यसाेत मानवीय सहयोग, सेवाभाव, भातृत्व र सहअस्तित्वकाे लागि चाडपर्व नै चाहिन्छ भन्ने छैन ।
तर पछिल्ला वर्षहरूमा होली पर्वको स्वरूपमा कैयौं विकृतिहरू देखिन थालेका छन्। रंगको नाममा जबर्जस्त हानिकारक रासायनिक रङको प्रयोग, मदिरा सेवन र असामाजिक व्यवहारले यस पर्वको मूल भावना कमजोर बनाउने खतरा बढेको छ। हरेक चाडपर्वकाे उद्देश्य रमाइलो र सद्भाव कायम गर्नु हो, कसैलाई असहज बनाउनु होइन। त्यसैले समाजका सबै पक्षले यस पर्वलाई मर्यादित, सुरक्षित र सभ्य ढंगले मनाउने संस्कार विकास गर्दै प्रगतिशील संस्कारकाे विकास गर्न जरुरी छ।
आजको आधुनिक समाजमा परम्परा र संस्कृतिको संरक्षण अत्यन्त महत्वपूर्ण विषय बनेको छ। होली जस्ता सांस्कृतिक पर्वहरूले समाजलाई आफ्नो मौलिक पहिचानसँग जोडिराख्ने काम गर्छन्। त्यसैले होलीलाई केवल मनोरञ्जनको अवसरको रूपमा नभई सांस्कृतिक चेतना र सामाजिक सद्भावको प्रतीकका रूपमा बुझ्न जरुरी छ। विभिन्न देवीदेवता र धर्मका किंवदन्तीका पछाडि लाग्नुहुँदैन।
वैदिक कालमा एउटा नारिलाई आफ्नै बहिनी जबर्जस्त अग्नीमा बस्न लगाएर राजा हिरण्यकश्यप जसले आफ्नै छाेरा प्रह्लादलाई मार्ने दाउ रचेका थिए। धार्मिक काेणबाट हेर्दा एकातिर याे त महिला विरुद्धको चरम हिंसा भएको देखिन्छ भने अर्कोतिर परिवारभित्रकाे मनमुटाव कतिसम्म हुनसक्छ भन्ने तत्कालीन राजसंस्थाकाे कुरुप चित्र प्रस्तुत गर्दछ। जबकि आजकाे एक्काइसौं शदिकाे विज्ञान प्रविधिकाे दुनियाँमा यस्ताखाले रुढीवादकाे कुनै स्थान हुँदैन। याे मानव जीवनमा आवश्यक पनि छैन। त्यसकारण हाम्रो समाजका विद्यमान पर्वले मानव जीवनलाई सकारात्मकता, प्रेम र सहिष्णुताको मार्गतर्फ उन्मुख गराउने सन्देश दिन्छ। तर हरेक पर्वलाई धर्मकाे लेपन गराएर मानिसमानिस बिचमा अनाहकमा विभेद फैलाउनु निकै दुखद पक्ष हाे। यस विषयमा सबैले तर्क, तथ्य र विश्वसनीयतामा ध्यान दिन जरुरी छ।
हरेक मानिसले असत्य, घृणा र विभाजनमाथि सत्य, मित्रता र एकताको विजय हासिल गर्नु जीवनकाे मूल लक्ष्य हाे भन्ने कुरा गहिराेगरी हृदयगंम गर्न जरुरी छ। हो। यही भावनालाई आत्मसात् गर्दै होली पर्वलाई सभ्य, सुरक्षित र सार्थक बनाउँदै अन्ध परम्परागत मूल्यमान्यता विरुद्ध वैज्ञानिक चेतकाे विकास गर्नु आजको समाजको साझा जिम्मेवारी हो।
















