१९ जेठ, काठमाडौँ
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री शाहको बचाउ गरेका हुन् ।
यद्यपि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको उल्लेख गर्दै दुवै देशले एक अर्काको जमिन मिचेको बताएका थिए । प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

















