१ साउन, तेह्रथुम
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु (याक्थुङ) समुदायले आफ्नो मौलिक पर्व सिसेक्पा तङनाम मनाएका छन् ।
हरेक वर्ष साउन १ गते मनाइने यो पर्व लिम्बु समुदायका लागि केवल एउटा चाड मात्र नभई प्रकृतिप्रतिको श्रद्धा, नयाँ उत्पादनप्रतिको सम्मान तथा सुख–समृद्धिको कामना गर्ने सांस्कृतिक अवसरका रूपमा लिइन्छ । यस दिन नयाँ पाकेका अन्न, फलफूल तथा विभिन्न वनस्पति इष्टदेवलाई चढाउने र घरको मूलढोकामा झुन्ड्याउने परम्परा छ ।
लिम्बु समुदाय आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा र मौलिक पर्वका कारण सांस्कृतिक रूपमा समृद्ध मानिन्छ । प्रकृतिसँगको गहिरो सम्बन्ध, कृषि संस्कृतिमा आधारित जीवनशैली तथा पुर्खादेखि हस्तान्तरण हुँदै आएको परम्पराले उनीहरूको सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाएको छ । सिसेक्पा तङनाम पनि त्यही मौलिक परम्परामध्ये एक महत्वपूर्ण पर्व हो ।
यस दिन बिहानै परिवारका सदस्यहरू खेतबारी, बगैंचा वा नजिकको वन–जंगलमा पुगेर अन्न, फलफूल, पात तथा अन्य प्राकृतिक सामग्री संकलन गर्छन् । त्यसपछि हरियो बाबियोको डोरीबाट ती सामग्रीलाई लहरै सिउरेर घरको मूलढोकामाथि झुन्ड्याइन्छ ।
लिम्बुभाषा विकास तथा संस्कृति केन्द्रका अध्यक्ष दिल पाक्साङवाका अनुसार यस परम्पराले घरमा सुख, शान्ति, समृद्धि र राम्रो बाली भित्रियोस् भन्ने विश्वास व्यक्त गर्छ ।
सिसेक्पा तङनाम परिवारको एकता र सामूहिक सद्भावको पर्व पनि हो । यस अवसरमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर घरमा उपलब्ध अन्न, फलफूल तथा स्थानीय परिकार तयार गरी सामूहिक रूपमा भोजन गर्छन् । आफन्त र छिमेकीसँग शुभकामना आदानप्रदान गर्ने चलनले सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।
यस पर्वको अर्को विशेषता साँझपख देखिन्छ । गाउँभरि एकैसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाउने परम्परा अहिले पनि धेरै स्थानमा जीवित छ ।
घरका बालबालिकादेखि युवायुवतीसम्मले घरमूली तथा ज्येष्ठ सदस्यको निर्देशनमा घरभित्र र वरिपरि घुम्दै यी सामग्री बजाउने चलन छ । यसो गर्नाले अशुभ शक्ति, रोग, दु:ख र नकारात्मक ऊर्जालाई घरबाट बाहिर लखेटी नयाँ कृषि चक्र सुखद बनाउने जनविश्वास रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष टीआर सेनेहाङका अनुसार ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने भाव व्यक्त गर्दै दु:ख, अभाव र अनिकाललाई विदाइ गरी सुख, समृद्धि र सहकालको स्वागत गर्ने परम्परा यस पर्वसँग जोडिएको छ । उनका अनुसार यो केवल धार्मिक कर्मकाण्ड नभई कृषि सभ्यता र प्रकृतिप्रतिको विश्वाससँग गाँसिएको सांस्कृतिक अभ्यास हो ।
आदिमकालदेखि पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्दै आएका लिम्बु समुदायले साउने सङ्क्रान्तिलाई सिसेक्पा तङनामका रूपमा मनाउँदै आएका छन् । यो पर्वले प्रकृतिप्रतिको सम्मान, सामूहिकता, सांस्कृतिक निरन्तरता र पुर्खाको जीवनदर्शनलाई पुस्तान्तरण गर्दै आएको छ ।
आधुनिकता, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण केही मौलिक परम्परा लोप हुने चिन्ता बढिरहेका बेला पछिल्ला वर्षमा लिम्बु समुदाय आफ्ना मौलिक पर्वको संरक्षण र प्रवर्द्धनमा सक्रिय बनेको छ । विभिन्न सांस्कृतिक संस्था, समुदाय तथा स्थानीय तहले सिसेक्पा तङनामलाई व्यवस्थित रूपमा मनाउन प्रोत्साहन गरिरहेका छन् । केही स्थानीय तहले यस अवसरमा सार्वजनिक बिदासमेत दिन थालेका छन् ।
छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाका अनुसार विभिन्न जातजातिका मौलिक पर्वको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय बिदा दिने तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालनमा गाउँपालिकाले सहयोग गर्दै आएको छ ।
सिसेक्पा तङनाम केवल लिम्बु समुदायको धार्मिक पर्व मात्र होइन, प्रकृति, कृषि, परिवार, समुदाय र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने जीवनदर्शन पनि हो । पुस्तौँदेखि चलिआएको यो परम्पराले लिम्बु समुदायको मौलिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तालाई आफ्ना जरा र संस्कृतिसँग जोडिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

















