श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला

 

२ चैत, काठमाडौं

बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो ।

अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४.२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाइएको छ ।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको छ ।

विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा आजकै मितिदेखि उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

सहज रूपमा ग्यास आपूर्ति हुनुपर्नेमा श्रीराम ग्यास उद्योगको डिपोले अनावश्यक रूपमा सिलिन्डर जम्मा गरी कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्तालाई मार्का पारेको विभागका महानिर्देशक रोशन ज्ञवालीले बताए ।

‘बजारमा ग्यासको हाहाकार छ, तर यहाँ ६ हजारभन्दा बढी सिलिन्डर थुप्रिएका छन्,’ उनले अनलाइनखबरसँग भने, ‘यो स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो ।’ उक्त कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप अन्तर्गत पर्ने भएकोले उद्योगलाई सोही ऐन अनुसार ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको उनको भनाइ छ ।

वाणिज्य विभागले बजारमा ग्यास नपाएर सर्वसाधारण घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहँदा ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानूनी भएको बताएको छ ।

अनुगमनका क्रममा महानिर्देशक ज्ञवालीले यो कारबाहीको उद्देश्य केवल सजाय मात्र नभई बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनु र अरूलाई पनि सचेत गराउनु रहेको स्पष्ट पारे । ‘कसैले पनि स्टक राखेर बजारमा अभाव देखाउनु हुँदैन भन्ने सन्देश दिन यो कारबाही गरिएको हो,’ महानिर्देशक ज्ञवालीले भने, ‘यसबाट उपभोक्ताले ग्यास पाउने अवस्था सिर्जना हुनेछ ।’

श्रीरामका ग्यास बिक्रेताले पनि उद्योगबाट ग्यास नआएको बताएका छन् । उद्योगले नै ग्यास नपठाएकाले गर्दा उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नपाएको उनीहरूको भनाइ छ ।

बजारमा अभाव भइरहेको समयमा अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कसैले पनि कालोबजारी वा होल्डिङ गरेमा कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation